डलरको चढ्दो भाउ - Naya Patrika
eNaya Patrika
  • ePaper

डलरको चढ्दो भाउ

यतिवेला विश्व मौद्रिक बजारमा डलरको भाउ सबैजसो मुद्राका तुलनामा ह्वात्तै बढेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउँदै लगेको, अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएको र चीन तथा अमेरिकाबीच व्यापार युद्ध तन्किँदै जान लागेको समयमा अमेरिकी डलरको भाउ बढेको हो । विश्वका सबैजसो मुद्रासँग डलरको मूल्य बढेसँगै विश्वभर त्यसका आर्थिक प्रभाव देखिन थालेका छन् ।

भारतीय मुद्रा, टर्किस लिरा, अर्जेन्टिनी पेसो, रुबल, युवान र दक्षिण अमेरिकी डलर सबैको अवस्था खस्किँदै छ । निर्यातको तुलनामा अत्यधिक आयातमा निर्भर रहेको नेपालले पछिल्लो समय यसको चाप महसुस गर्न थालेको छ । अहिले नेपाली बजारमा डलरको भाउ ११६ बाट पनि माथि उक्लेको छ । जुन गत दुई महिनायताको तुलनामा झन्डै १५ प्रतिशतको वृद्धि हो । अर्थात्, नेपाली मुद्राको मूल्यमा सोही अनुपातमा गिरावट आएको हो ।

यस्तो मूल्यान्तर बढ्दै जाँदा नेपालले रेमिट्यान्सबाट केही नाफा गर्ने भए पनि बाँकी आयात गरिने सबै वस्तु तथा सेवाको मुल्यवृद्धि हुन सक्ने खतरा छ । पहिलेकै करको दर कायम हुँदा पनि पेट्रोलियम पदार्थमा अहिले मुल्यवृद्धि हुनुको कारण पनि यही हो । डलरको तुलनामा नेपाली मुद्राको मूल्य यसरी नै घट्दै गयो भने नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको आकार बढ्नेछ, आयातीत निर्माण सामग्री तथा उपभोग्य वस्तुको मूल्य बढ्दा त्यसले मुद्रास्फीतिको दरमा दबाब बढ्नेछ ।

यस्तो अवस्थामा फाइदा हुने भनेको नेपालको वस्तु तथा सेवा खरिद गर्न आउने विदेशीका लागि सस्तो पर्न जाने भएकाले नेपालको निर्यात वृद्धि भएको खण्डमा हो । तर, हाम्रो अवस्था भने यो प्रभावलाई उपयोग गर्न सक्ने खालको छैन ।

निर्यात एकदम थोरै रहेको र तत्काल निर्यातमूलक वस्तु तथा सेवाको उत्पादन वृद्धि गरी निर्यात बढाउने सम्भावनासमेत नरहेको सन्दर्भमा नेपालले यो अवस्थाबाट फाइदा लिन सक्ने सम्भावना कमसेकम अल्पकालका लागि हुँदैन । त्यसैले नेपालले डलरको भाउ वृद्धिबाट पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक प्रतिकारात्मक उपाय अवलम्बन गर्नेबारे तयारी थाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपाली मुद्राको यो अवमूल्यन नेपाली रुपैयाँको माग र आपूर्तिका कारणले भएको होइन । बजारमा नेपाली मुद्राको माग र आपूर्तिमा तत्काल कुनै हेरफेर आएको पनि छैन । न त नेपाली बजारमा डलरको माग र आपूर्तिको स्थितिले नै यस्तो भएको हो । यसका पछाडिको मुख्य कारणचाहिँ भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर हो । भारतीय मुद्रा पछिल्लो समय डलरसँग निरन्तर ओरालो लागेकाले नेपाली मुद्रा पनि घिसारिएर खाल्टोतिर झरेको हो ।

भारतबाट बढिरहेको पुँजी पलायन तथा भारतीय बजारबाट मुद्रा खिचेर अमेरिकी बैंकमा लगानी गर्ने होड चलेपछि देखिएको मौद्रिक बजारको अवस्थाले सिर्जना गरेको दबाब हो यो । यस्तो वेला नेपालले भारतीय मुद्रासँगको स्थिर विनिमय दरले नेपाली अर्थतन्त्रलाई पारिरहेको प्रभावबारे अध्ययन गरी आवश्यक देखिएको खण्डमा भारतीय मुद्रासँगको स्थिर विनिमय मूल्य हटाउने या भारतीय मुद्रासँग स्थिर विनिमय दर राखे पनि नेपाली मुद्राको प्रतिशत अवमूल्यन गरेर विनिमय दर कायम गर्नेतिर सोच्ने वेला भएको छ ।

यद्यपि, तत्कालका लागि अत्यधिक आयातमा निर्भर रहेको नेपाली अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव पर्न सक्छ तर खासगरी भारतीय बजारमा नेपाली वस्तुको निर्यात बढाउन, थप भारतीयलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न र नेपालले गर्ने आयात घटाउन यस्तो अवमूल्यन गर्नुपर्ने अवस्था आएकोतिर विमर्श गर्ने वेला भयो । केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच यस प्रकारको संवाद तत्काल थाल्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया