खेलाडीलाई घाँसेमैदानको अभाव - Naya Patrika
eNaya Patrika
  • ePaper

खेलाडीलाई घाँसेमैदानको अभाव

सिनियर पुरुष टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले घाँसेमैदानमा अभ्यास गर्न नपाउँदा  नै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको निष्कर्ष निकाले

नेपाल चौथोपटक दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदा नेपाल अन्तिम चारबाट घर फर्किएको हो ।

प्रतियोगितामा सहभागी भएर बिहीबार स्वदेश फर्किएको नेपाली टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीहरूले घाँसेमैदानमा अभ्यास र खेल्न नपाउँदा नै सेमिफाइनलबाट बाहिरिनुको प्रमुख कारण बताएका छन् ।

कृृत्रिम मैदानमा अभ्यास मुलुकको एक मात्र
अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मर्मत अझै सकिएको छैन । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू घाँसले युक्त मैदानको घाँसमा अभ्यास गर्थे । तर, चार वर्ष यहाँ खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । फुटबल खेलाडीहरू सातदोबाटोमा रहेको एन्फा मैदानमा अभ्यास गर्छन् । त्यो मैदान भनेको कृत्रिम हो ।

खेलाडीहरू एकैपटक घाँसेमैदानमा प्रतिस्पर्धा गर्दा असजिलो महसुस गरेको प्रशिक्षक महर्जनले बताएका छन् । ‘हामीहरूको हारको मुख्य कारण नै घाँसेमैदानमा खेल्ने बानी नहुनु हो,’ त्रिभुवन विमानस्थलमा महर्जनले भने, ‘हिलो मैदान भएकाले पनि खेलाडीहरू माल्दिभ्सविरुद्धको खेलमा राम्रो खेल्न सकेनन् ।’

मौका खेर
नेपालले प्रतियोगितामा चार खेलमा धेरै गोल अवसर निकाले पनि त्यसको सदुपयोग नभएको प्रशिक्षक महर्जनले बताए । ‘हामीले धेरै गोल सिर्जना निकाल्यौँ, तर खेलाडीहरूले त्यसको सदुपयोग गर्न सकेनन्,’ खेलको समीक्षा गर्दै उनले भने, भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तीमगरले प्राप्त अवसरमा गोल गर्न चुके ।’

उत्कृष्ट पुनरामगन
समूह एको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । पहिलो खेलमा पराजित भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बन्यो । तर, नेपालले लगातार दुई खेलमा उत्कृष्ट प्रदर्शन गरी अन्तिम चारको स्थान पक्का ग-यो ।

यसै क्रममा नेपालले भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हरायो । नेपाल समूह एको विजेता हुँदै चौथोपटक अन्तिम चारमा पुग्यो । यसअघि सन् २०१३ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया