ड्यासिङ बाइक हार्ली डेभिड्सन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ड्यासिङ बाइक हार्ली डेभिड्सन

काठमाडौं सतुंगल निवासी आयुत्सु सुवेदीले बलिउड फिल्ममा हार्ली डेभिड्सन बाइक कुदेको देखेका थिए । सिनेमामा बेतोडले हार्ली डेभिड्सन कुदाएको दृश्य हेर्दा उनलाई अर्कै आनन्द आउँथ्यो । शरीरमा एक प्रकारको तरंग पैदा हुन्थ्यो । नेपाली सडकमा हार्ली कुदेको देखिँदैनथ्यो, पर्दामा मात्रै देख्न पाइन्थ्यो ।

हलिउड, बलिउड फिल्ममा देखिरहेको बाइक बिहीबार ‘नाडा अटो सो’मा आँखैअगाडि देखेपछि सुवेदी निकै उत्साहित भए । उनी दंग परे । भृकुटीमण्डपमा आयोजित अटो मेलामा हार्लीका दुईवटा मोडल प्रर्दशनीमा राखिएका छन् । उनले ‘आइरन–८८३’ बाइकमा चढेर फोटो खिचे । ‘मुभीमा देखेको बाइक मेलामा देख्दा रमाइलो लाग्यो,’ उनले भने, ‘फोटो पनि खिचियो, अब फेसबुकमा हालिन्छ ।’

मेलामै काठमाडौं नक्सालका प्रमोद श्रेष्ठले पनि हार्ली डेभिड्सनमा चढे । र, आफ्नो क्यामेरामा तस्बिर पनि कैद गरे । उनले पनि बलिउड मुभीमा मात्रै हार्ली बाइक देखेको बताए । ‘मेलामा आँखैअगाडि देख्ने मौका मिल्यो । मूल्य चर्को रहेछ, किनेर चढ्न सकिँदैन,’ उनी भन्दै थिए, ‘फोटो खिचेरै चित्त बुझाइयो ।’

आयुत्सु र प्रमोद मात्र होइन, अटो मेलामा पुगेका धेरैको ध्यान हार्ली डेभिड्सनले खिचेको छ । विश्वभरकै बाइक पारखीको ‘ड्रिम बाइक’ नेपालीका लागि अकर्षण नबन्ने कुरै भएन । मेलाकै आकर्षण बनेको छ, यो बाइक । हार्लीको स्टलमा बाक्लो भिड लागिरहेको देखिन्छ । बाइकमा चढेर फोटो खिच्ने प्रतिस्पर्धा चलिरहेको छ । अमेरिकन सुपर प्रिमियम बाइक हार्ली डेभिड्सन आइएमई समूहले नेपाल भित्र्याएको हो । आइएमईले एसिया प्यासिफिकबाट हार्ली डेभिड्सनको ‘फुल फ्लेज’ डिलरसिप पाएको छ । कम्पनीले पहिलोपटक हार्लीका दुईवटा मोडल मेलामा सार्वजनिक गरेको हो । यो बाइक नेपालमा लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

मेलामा हार्लीको लोकप्रिय मोडल प्रदर्शनीमा राखिएको छ । आइरन–८८३ र सुपर लो मोडल । दुवै बाइक ८८३ सिसीका हुन् । मूल्य पनि करिब समान छ, ४५ लाख हाराहारी । हार्लीको सबैभन्दा चल्तीको मोडल ‘आइरन’ हो । यो विभिन्न इन्जिन क्षमतामा उपलब्ध छ । आइरन मोडल सन् १९५७ देखि निरन्तर अपग्रेड गर्दै उत्पादन भइरहेको छ । विश्वका बाइक पारखीले यसलाई खुब मन पराइदिएका छन् ।

विश्वभर हार्ली डेभिड्सनलाई बाइकको ‘राजा’ मानिन्छ । धनाढ्य बाइक पारखीमाझ हार्ली लोकप्रिय छ र पहिलो रोजाइमा पर्छ । हार्ली अमेरिकाको पुरानो बाइक हो । यसले एकसय १५ वर्षको अमेरिकन लिगेसी बोकेको छ । सन् १९०३ देखि उत्पादन सुरु भएको हार्ली बाइकले विश्वका १२७ भन्दा बढी मुलुकमा बजार विस्तार गरिसकेको आइएमई अटोमोटिभ्सका म्यानेजर विश्वास घिमिरे बताउँछन् ।

काठमाडौंको गैरीधारामा हार्लीको सोरुम धमाधम निर्माण भइरहेको छ । अक्टोबर मध्यसम्ममा सोरुम पूर्ण रूपले तयार भइसक्नेछ । सोरुम सञ्चालनमा आउँदा हार्लीका ६ वटा मोडल नेपाल भित्रिसक्नेछन् । घिमिरेका अनुसार आइरन ८८३, स्ट्रिट रड, १२०० कस्टम, स्ट्रिट ५०० र स्ट्रिट ७५० नेपाली बजारमा उपलब्ध हुनेछन् । स्ट्रिट ५०० र स्ट्रिट ७५० भारतबाट आयात गरिनेछ । अरू मोडल भने अमेरिकाबाटै ल्याइनेछन् । हार्लीको नेपाली बजारमा २८ लाख ५० हजारदेखि ७० लाखसम्मका बाइक उपलब्ध हुनेछ । आइएमईले ‘इन्ट्री लेभल’ र ‘मिड लेभल’ बाइक ल्याउन लागेको म्यानेजर घिमिरेले जानकारी दिए । हार्लीको सबैभन्दा सस्तो स्ट्रिट फेमिली हो ।

नेपालमा पछिल्लो समय महँगा बाइकको बिक्री बढ्दै गएको छ । विश्वका प्रिमियम ब्रान्ड धमाधम नेपाल प्रवेश गरिरहेका छन् । ‘सुपर प्रिमियम बाइकमा हार्ली डेभिड्सन सर्वाधिक लोकप्रिय हुनेछ,’ घिमिरे भन्छन्, ‘हार्ली ब्रान्डप्रति चासो र रुचि राख्ने बाइक पारखीको रोजाइमा यो पर्ने पक्का छ ।’

यो सेलेक्टेड बाइक हो । देख्नमा आकर्षक छ । मजबुत र आरामदायी पनि छ । गाडीभन्दा महँगो छ । हार्ली डेभिड्सन धेरै चिरपरिचित ब्रान्ड हो । धेरैले मन पनि पराउँछन् । तर, सबैले किनेर चढ्ने क्षमता राख्दैनन् । त्यसैले धनाढ्य वर्गको ‘स्टाटस सिम्बोल’ पनि बनेको छ । नेपालमा पनि महँगो गाडीलाई ‘स्टाटस सिम्बोल’ बनाउने धेरै भेटिन्छन् ।

मेलामा राखिएको हार्ली बाइक हेर्नेहरूमा धेरैजसो युवा पुस्ताका छन् । फिल्ममा मात्रै हुँइकिएको देखिने हार्ली प्रत्यक्ष छोएर/हेरेर ‘फिल’ गर्न आइरहेका छन् । कुनै समय तत्कालीन युवराज पारस शाहले हार्ली डेभिड्सन चढेको खुबै चर्चा हुन्थ्यो । घिमिरे भन्छन्, ‘कुनै न कुनै माध्यमबाट हार्लीबारे सुनेका बाइक पारखीहरू हाम्रो स्टलतर्फ तानिएका छन् ।’

मेलामार्फत नेपालमा आधिकारिक रूपमा पहिलोपटक हार्ली डेभिड्सन भित्रिएको हो । तर, व्यक्तिगत पहलमा आधा दर्जन हार्ली बाइक यसअघि नै भित्रिसकेका छन् । नेपालमा प्रिमियम बाइकको बजार देखेरै हार्ली भित्र्याएको आइएमई समूहको दाबी छ । कम्पनीले पहिलो वर्षमै दुई दर्जन बाइक बिक्री गर्ने लक्ष्य लिएको छ ।

नेपालमा हार्ली डेभिड्सन बाइकमा हुइँकिने सम्भवतः पहिलो व्यक्ति पारस शाह नै हुन् । उनीसँग महँगो हार्ली बाइक छ । हार्लीको ‘लिमिटेड एडिसन’ पारसले खरिद गरेका हुन् । उनको क्रुजर बाइक हो । पारस हार्ली बाइक चढ्दा नेपालमा अहिलेझैँ हेभी बाइक भित्रिएका थिएनन् । त्यसैले, पारसले हार्ली चढ्दा सहरभरि उनको चर्चा हुने गरेको थियो ।

लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठसँग हार्लीको आइरन ८८३ मोडल छ । उनले कसैसँग सेकेन्ड ह्यान्ड बाइक किनेका हुन् । अहिले ‘आइरन ८८३’ को ४५ लाख रुपैयाँ पर्छ । निनेश तिवारी हार्लीको ब्रेकआउट मोडल चढ्छन् । रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरसँग पनि हार्ली डेभिड्सन बाइक छ । यस्तै, बाइक संकलनकर्ता सौरभ ज्योतिले पनि हार्ली बाइक किनेका छन्।

मेलामा राखिएको आइरन ८८३ आकर्षक डिजाइनमा छ । यसको उचाइ ७६० मिलिमिटर छ । ह्विलबेस १५ सय १५ मिलिमिटर छ । बाइकमा १२.५ लिटरको इन्धन ट्यांकी छ । एन्टिलक ब्रेकिङ सिस्टम, ५ स्पिड ट्रान्समिसन सुविधा छ ।

सुपर लो मोडलमा १७ लिटरको ट्यांकी छ । यसमा एयर कुल्ड इन्जिन जडित छ । सिटको उचाइ ७०५ मिलिमिटर रहेको छ । सुपर लो आकर्षक चार रङमा उपलब्ध छ । यो बाइक पनि आकर्षक र पावरफुल छ । नेपालमा डुकाटीले सुपर प्रिमियम सेगमेन्टमा सानोतिनो बजार बनाइसकेको छ । होन्डा र सुजुकीले पनि प्रिमियम बाइक बिक्री गरिरहेका छन् । हार्ली डेभिड्सनले डुकाटी, होन्डा, सुजुकीलगायत ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया