खुट्टाले लेखेर चर्चित हुने चाहना - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

खुट्टाले लेखेर चर्चित हुने चाहना

रुकुम–पश्चिम
दुःख पीडा भए पनि हाँसेकी मान्छे
मनैदेखि डाक्टरले जाँचेकी मान्छे
संसारभरि उज्यालोमा बाँच्नेहरू जीवन
हरेक दुःख–पीडा सानैदेखि गाँसेकी मान्छे
मुसीकोट नगरपालिका १० साउनेपानीकी देविका कठायतले खुट्टाले लेखेका हरफ हुन्, यी । जन्मजात बोल्न नसक्ने, हात खुट्टा नचल्ने २७ वर्षीया देविकाले बालककालैदेखि खुट्टाले लेख्न सिकिन् । स्कुलको आँगन नदेखेकी देविकालाई अक्षर चिन्न कसैले सिकाएको होइन ।

उनलाई लेख्ने अभ्यास पनि कसैले गराएको होइन । तर, उनी अक्षर चिन्ने मात्र होइन, खुट्टाकै सहाराले अक्षर देख्छिन् । मधुरो सुन्न सक्ने देविकाले भाइबहिनी तथा दिदीदाइले लेखेको देखेरै खुट्टाले लेख्ने प्रयास गरिन् । अहिले उनी किताब पढ्ने तथा खुट्टाले लेख–रचना लेख्छिन् ।

पाँच दाजुभाइ र पाँच दिदीबहिनीमध्ये साइँली देविका जन्मजात शारीरिक अशक्त थिइन् । बोल्न र हिँडडुल गर्नसमेत नसक्ने भएपछि देविकाले २७ वर्षसम्म घरभन्दा बाहिरको संसार देखेकी छैनन् ।

‘बोल्न तथा हिँडडुल नै गर्न नसक्ने भएपछि छोरीलाई स्कुल पठाउने कुरै भएन,’ देविकाका बुबा हुकुमबहादुर कठायतले भने, ‘स्कुलै नगएर अक्षर चिन्ने, खुट्टाले लेख्न गर्न थालेपछि हामी छक्क प¥यौँ ।’ छोरीले अनेकौँ रचना गरेको उनले बताए । ‘दिनभर केही न केही लेखेरै बसिरहेकी हुन्छे,’ उनले थपे, ‘भोक लागेका वेला इसारा गरेर खाना माग्छे, खाना खाएर फेरि लेख्न बस्छे ।’

देविकाले खाना पनि खुट्टाले नै खान्छिन् । ब्रस गर्छिन् । कपडासमेत खुट्टाले नै धुन्छिन् । शौचालय जाँदा भने परिवारका सदस्यले सहयोग गर्नुपर्छ । देविकाले गीत, गजल, मुक्तक, कथा र मनका भावना खुट्टाकै सहाराले लेख्ने गरेकी छिन् ।

भगवान्ले हरेक मानिसलाई केही न केही क्षमता दिएको विश्वास गरिन्छ । नेपालकै मदन पुरस्कार विजेता झमककुमारी घिमिरे हुन् वा विश्वका चर्चित वैज्ञानिक स्टेफन हकिङ हुन्, उनीहरूलाई शारीरिक अपांगताले छेक्न सकेन ।

देविकालाई पनि शारिरीक अपांगताले सिर्जना गर्न छेकेको छैन । उनको क्षमता सामान्य मान्छेको भन्दा कम छैन । झमककुमारीको जीवनसँग उनका धेरै कुरा मेल खान्छन् । उनको रहर पनि झमककुमारीजस्तै प्रख्यात हुने छ ।

मदन पुरस्कार जितेको साहित्यकार झमककुमारीको कृति जीवन काँडा कि फूल किताब लिएर घरमा पुगेका वडा सदस्य धनबहादुर खड्का ‘वसन्त’सँग उनले यस्तै भाव पोखिन् । झमककुमारीले यो किताब तिमीलेजस्तै खुट्टाले लेखेकी हुन् भन्दै वसन्तले किताब देखाएपछि देविकाको अनुहारमा छुट्टै भाव देखियो ।

आर्थिक अभाव
देविकाको परिवार आर्थिक रूपमा विपन्न छ । दाइ, दिदीहरू आ–आफ्नो व्यवहारमा लागेपछि उनी आमाबुबासँग छिन् । देविकाले धेरै साहित्यिक रचना लेखे पनि प्रकाशनका लागि परिवारसँग आर्थिक क्षमता नभएको बुबा हुकुमबहादुरले बताए । ‘छोरीले धेरै राम्रा–राम्रा रचना तयार पारेकी छिन्,’ उनले भने, ‘तर, रचना प्रकाशन गरेर धेरैमाझ पु¥याउन सकिएको छैन ।’

तपाईको प्रतिक्रिया