घुँडाको हड्डी खिइएमा फिजियोथेरापीद्वारा नियन्त्रण - Naya Patrika
eNaya Patrika
  • ePaper

घुँडाको हड्डी खिइएमा फिजियोथेरापीद्वारा नियन्त्रण

नेपालमा पछिल्लो समय अधिकांश मानिसमा घुँडाको हड्डी खिइने समस्या बढ्दै गएको छ । यस्तो समस्याले गर्दा मानिसलाई हिँडडुल गर्न अप्ठ्यारो हुनुका साथै शारीरिक रूपमा अशक्त बनाउँछ । घुँडाको हड्डी खिइनुलाई प्राकृतिक प्रक्रिया र समस्याको रूपमा समेत लिने गरिन्छ । हरेक मानिसको औसत उमेर ४० वर्ष पुगेपछि हड्डी खिइने समस्याले सताउन थाल्छ । यसमा पनि घुँडाको हड्डी खिइने कुरा प्रमुख समस्याको रूपमा देखिन थालेको छ । यस्तो समस्याले कसैलाई धेरै पीडासमेत हुने गर्छ । घुँडाको हड्डी खिइने कारण र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा फिजियोथेरापिस्ट गोमा थापाको सुझाब यस्तो छ:

घुँडाको हड्डी खिइनुका कारण
बस्ने तरिका अथवा काम गर्ने तरिका नमिल्दा मानिसले दैनिक जीवनमा बस्ने र काम गर्ने तरिकामा ध्यान नदिँदा घुँडाको हड्डी खिइने समस्या विकराल बन्दै गएको छ । जस्तै, लामो समयसम्म पलेँटी कसेर बस्ने, घुँडा मोडेर धेरै बेरसम्म बस्ने, लामो समयसम्म उभिएर काम गर्ने र सिँढीमा तल–माथि गरिरहँदा घुँडाको हड्डी खिइने कारण बन्न सक्छ ।

खानपिनमा ध्यान नदिँदा
मानिसले खानपिनमा ध्यान नदिँदा पनि घुँडाको हड्डी खिइने समस्याले सताउन थालेको छ । जस्तै, क्याल्सियमको मात्रा कम भयो भने यस्तो समस्या निम्तिन्छ । त्यस्तै, शरीरमा आवश्यक पर्ने खानेकुरामा कार्बोहाइड्रेट , प्रोटिन र भिटामिनको मात्रा मिलेन भने अथवा कम भयो भने पनि घुँडाको हड्डी खिइन सक्छ ।

कसरतमा ध्यान नदिँदा
मानिसले शारीरिक कसरतमा ध्यान नदिँदा पछिल्लो समय घुँडाको हड्डी खिइने समस्या बढ्दो अवस्थामा रहेको छ । शरीरमा कसरतको कमी भयो भने पनि घुँडाको हड्डी खिइने समस्याको अर्को कारण बन्न सक्छ ।

धूम्रपान र मद्यपानमा जोड दिँदा
मानिसले विलासी जीवन बिताउनका लागि पछिल्लो समय धूम्रपान र मद्यपानमा जोड दिँदा पनि हड्डीमा असर गरेको पाइन्छ । चुरोट, सुर्ती, खैनीलगायतका निकोटिनयुक्त पदार्थ सेवन गर्दा यसले घुँडाको हड्डीलाई कमजोर बनाउँछ । त्यस्तै, आवश्यकताभन्दा बढी जाँड–रक्सी सेवन गर्नाले रगतमा सेरम क्याल्सियमको तह घटाउँदै लान्छ । यसले गर्दा बिस्तारै घुँडाको हड्डी खिइन थाल्छ ।

रोकथामका उपाय
घुँडाको हड्डी खिइने समस्याको नियन्त्रण गर्ने प्रमुख उपाय भनेको फिजियोथेरापी नै हो । यो अत्यन्तै महत्वपूर्ण उपचार पद्धतिसमेत हो ।

फिजियोथेरापीका माध्यमबाट घुँडाको हड्डी खिइएकोमा नयाँ पलाउन मद्दत त गर्दैन, तर यसबाट आउन सक्ने अन्य समस्याहरू जस्तै– सुन्निने, दुख्ने, बांगिनेलगायतका समस्यालाई नियन्त्रण गरी योभन्दा बढी खिइनबाट बचाउँछ ।

घुँडाको हड्डी खिइने समस्यालाई नियन्त्रण गर्न मानिसले दैनिक बानी व्यवहार सुधार्नुपर्छ । यसले आफ्नो दैनिक गतिविधिमा हुने गलत क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ ।

लामो समयसम्म पलेँटी कसेर बस्नु र घुँडा मोडेर बस्नु हुँदैन । शरीरलाई आवश्यक पर्ने क्याल्सियमको मात्रा प्रयोग गर्नुपर्छ ।

सकेसम्म धूम्रपान र मद्यपानबाट टाढा नै रहनु उपयुक्त हुन्छ । खानपिनमा विशेष ध्यान दिने, शरीरलाई आवश्यक पर्ने क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । जस्तै– चिज, पनिर, दूध, दही, मह, हरियो सागपात, पहेँलो फलफूल, गेडागुडीलगायतका शरीरलाई फाइदा हुने खानेकुरामा विशेष जोड दिनुपर्छ ।

मानिसले बस्ने वेलामा र काम गर्ने वेलामा शरीरलाई असर हुने कुनै कुरा गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया