२९ प्रतिशत बढ्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

२९ प्रतिशत बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक १ दशमलव शून्य ७ प्रतिशत बढेर बन्द भएको छ । नेप्से उकालो लागेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम २९ दशमलव ५३ प्रतिशत बढेको छ ।

कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । केही दिनअघि बजार ओरालो लागेका कारण सेयरमूल्य पनि सस्तिएको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गरी छोटो समयमा नै लाभांश संकलन गर्ने अवसर भएकाले अहिले लगानीकर्ता उत्साहित भएको एक ब्रोकरले बताए । अधिक सेयर आपूर्ति र बैंक ब्याजदरका कारण ओरालो लागेको बजारले लाभांश घोषणाका कारण सकारात्मक दिशा लिएको उनको भनाइ छ । यद्यपि, बजारले कुन गति लिन्छ भन्ने निश्चित नभएको एक विश्लेषकले बताए । बजारको दिशा निर्धारण गर्न केही दिन नेप्से र कारोबार रकममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन १३ दशमलव शून्य ६ अंक बढेर १ हजार २ सय ३० दशमलव ७१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७९ अंक बढेर २ सय ६० दशमलव ८० बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ६५ कम्पनीको ४ हजार १ सय ७७ पटकको कारोबारमा ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँबराबरको १३ लाख ९३ हजार ६ सय ४९ कित्ता सेयर किनबेच भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ६२ दशमलव ७५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । कुल बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा १५ अर्ब ५५ करोड रुपैयाँ बढेर १४ खर्ब ६५ अर्ब पुगेको छ ।

कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ सय ८० पटकको कारोबारमा ४ करोड ८९ लाख ४२ हजारबराबरको १ लाख २८ हजार ५ सय ७६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव २६ प्रतिशत बढेको छ । त्यसैगरी, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य पनि यस दिन ५ दशमलव २६ प्रतिशत नै बढेको छ । कारोबारमा आएका आइसिएफसी फाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव ७८ प्रतिशत घटेको छ । यस दिन १ सय ६५ कम्पनीमध्ये १ सय कम्पनीको सेयरमूल्य बढेको छ भने ४८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

बुधबार होटेल, वित्त र उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन निर्जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ दशमलव ९७ प्रतिशत बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक १ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको १ दशमलव शून्य ५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य १ प्रतिशत, अन्य समूहको शून्य दशमलव ९९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३५ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ३६ प्रतिशत, उत्पादनमूलक समहको शून्य दशमलव १२ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

 एनआइसी एसियाको ऋणपत्र निष्कासन बन्द
एनआइसी एसिया बैंक लिमिटेडले भदौ २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘११% एनआइसी एसिया ऋणपत्र २०८२/८३’ मा आवेदन दिने म्याद भदौ २७ गते सकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन गरिने ऋणपत्रमध्ये ३ लाख ६६ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ ।

बैंकले वार्षिक ११ प्रतिशतका दरले ६–६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गरेको ऋणपत्रलाई केयर रेटिङ्स नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘केयर एनपी ए’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 स्वरोजगारको साधारणसभा
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २० गते सिडब्ल्यू रेस्टुरेन्ट कमलादीमा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा २० प्रतिशत बोनस सेयर, सोको लाभांश प्रयोजनका लागि १ दशमलव शून्य ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिमा ३ जना प्रवद्र्धक सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज ५ गतेदेखि २० गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । भदौ २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा गर्ने निर्णय गरेको हो ।

 समताको अवितरित हकप्रद लिलाम बिक्री
समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १६ हजार ५ सय ६८ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ बिक्री गर्ने भएको छ । बिक्री गरिनेमध्ये ३ हजार ९ सय कित्ता संस्थापक सेयर रहेको छ भने १२ हजार ६ सय ६८ कित्ता सर्वसाधारण सेयर रहेको छ । कम्पनीले असार २७ गतेदेखि साउन २९ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटलका शाखा कार्यालय र नेपाल इन्भेष्टमेण्ट बैंकका सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले असोज ४ गतेदेखि १४ गतेसम्म सो सेयर खरिदका लागि सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 कालिकाको नाम परिवर्तन
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले नाम परिवर्तन गरेको छ । परिवर्तनपश्चात कम्पनीले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्नेछ । भदौ २६ गतेदेखि कम्पनीले सो नामबाट कारोबार सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया