विश्व व्यवस्थामा परिवर्तनको खाँचो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विश्व व्यवस्थामा परिवर्तनको खाँचो

विद्यमान अमेरिका केन्द्रित विश्वव्यवस्था पतनोन्मुख छ । विश्वमा प्रमुख शक्ति राष्ट्रले चाल्ने कदमले भावी भूराजनीति निर्धारण गर्ने स्थिति छ । पछिल्लो समय अमेरिकी नेतृत्वका एकपक्षीय नीति तथा कदमका कारण वर्तमान विश्व व्यवस्थाले परिवर्तनको माग गरेको छ ।

यस्तो स्थितिमा अरू देशमाथि प्रतिबन्ध लगाउने अमेरिकी नीतिविरुद्ध लड्न चीन र रुस एक होलान् ? इरान र टर्की, चीन र रुसको पक्षमा उभिएलान् ? युरोपले कस्तो कदम चाल्ला ? अनि भारत कता मोडिएला भन्ने प्रश्नको उत्तरले भावी विश्व व्यवस्थाको बाटो निर्धारण गर्नेछ ।

Photo : African Holocaust 

विश्व व्यवस्थामा आएका अधिकांश जटिलताको मूल जड अमेरिकी घरेलु राजनीति हो । अझ प्रस्ट भन्नुपर्दा यसको मुख्य दोषी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । अमेरिका र सोभियत युनियनबीचको शीतयुद्धमा अमेरिका विजयी भएको भन्ने गलत धारणाबाट विद्यमान विश्व व्यवस्था जन्मिएको होे ।

आफू विजयी भएको भन्ने कथित उन्मादका कारण अमेरिकाले विश्वलाई आफूकेन्द्रित राजनीतिमा बाँध्ने प्रयास गर्‍यो । विश्वमाथि प्रभाव र नियन्त्रण बनाउन विभिन्न उपाय अमेरिकाले अँगाल्यो पनि । यसका लागि डलरलाई विश्व वित्तीय व्यवस्थाका लागि प्रमुख मुद्राका रूपमा स्थापित गर्‍यो ।

सोभियत संघको पतनसँगै अमेरिकाले आफूलाई विश्वविजेता ठान्यो । त्यसपछि प्रजातान्त्रिक मूल्य–मान्यता संरक्षणका लागि अमेरिकी गुट राष्ट्रहरूले भूमिका खेल्नुपर्ने वकालत अमेरिकाले गर्‍यो । तर, २०औँ शताब्दीमा अमेरिकी अपेक्षाविपरीत चीन उदीयमान शक्तिका रूपमा आयो । एक हिसाबले सोभियत युनियनको ठाउँ चीनले लियो । अहिलेको स्थितिमा आइपुग्दा चीन सबैभन्दा ठूलो विश्व शक्ति बन्ने बाटोमा छ ।

सन् १९७० को दशकलाई फर्किएर हेर्ने हो भने अमेरिकाले चीनको विकासमा ठूलो योगदान गरेकै हो । सो समयमा चीन र सोभियत संघबीचको सम्बन्ध राम्रो थिएन । यसर्थ, चीन र सोभियत संघबीचको टकरावलाई बढाउने नियतले अमेरिकाले चीनको सहयोग गरेको थियो । अहिले चीन प्रतिस्पर्धीका रूपमा उदाउँदा अमेरिकाले आफ्नो शत्रुको रूपमा चीनलाई हेर्नुले उसको नियत प्रमाणित भएको छ ।अहिले अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पजस्ता व्यक्तिमा राजनीतिक शक्ति आउनु विश्व साम्राज्यवादको परिणाम नै हो ।

अनि विश्वमा अमेरिकी पकड बनाइराख्न ट्रम्पले विरोधी तथा प्रतिस्पर्धी शक्तिलाई कमजोर बनाउन आर्थिक प्रतिबन्धलाई बलियो हतियारका रूपमा प्रयोग गर्न थालेका छन् । यसो त सोभियत संघ, चीन, उत्तर कोरिया, इरान र रुसमाथि अमेरिकाले विभिन्न समयमा आर्थिक प्रतिबन्ध लगाउँदै आएको थियो । तर, अमेरिकाले जुन कारण देखाएर यस्ता देशमाथि प्रतिबन्ध लगाए पनि आफ्नो उद्देश्यमा सफल भएको छैन ।

वास्तवमा अमेरिकी प्रतिबन्ध स्वस्थ प्रतिस्पर्धाको मर्मविपरीत छ । अमेरिकी कदमकै कारण विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता विश्व वित्तीय संस्थामा समेत संकट निम्तिने स्थिति छ । यसरी, बहुराष्ट्रिय संस्थालाई कमजोर पार्ने, प्रतिस्पर्धीमाथि आर्थिक नाकाबन्दी लगाउने अमेरिकी विश्व व्यवस्थाको विकल्प रोज्ने वेला आइसकेको छ ।

(लेखक एसिया–प्यासिफिक रिजनल रिसर्च सेन्टरका अध्यक्ष हुन्) ग्लोबल चाइना टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट

तपाईको प्रतिक्रिया