अब कुलपति बन्दैनन् सरुभक्त - Naya Patrika
eNaya Patrika
  • ePaper

अब कुलपति बन्दैनन् सरुभक्त

चार वर्षअघिको कुरा हो । सरुभक्त बाबुको किरियामा थिए । आठौँ दिनको दिन हुनुपर्छ, काठमाडौंबाट तीर्थ श्रेष्ठले फोन गरे । श्रेष्ठ पोखरकै हुन् । संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको पदाधिकारी सिफारिस समितिका तीर्थ सदस्य थिए । उनले सरुभक्तलाई कुलपतिको प्रस्ताव गरे ।

तर, सरुभक्तले अस्वीकार गरे । तीर्थले केही दिन सोचेर मात्र जवाफ दिन आग्रह गरे । किरियामा बसेका भाइ र आमाहरूले टेलिफोन गफ सुनिहाले । उनीहरूले कुलपति हुने मौका नगुमाउन सल्लाह दिए । तर, सरुभक्तलाई भने परिवार छाडेर चार वर्ष काठमाडौंमा बस्न सक्छु भन्ने लागेकै थिएन । यसै पनि उनको काठमाडौं बसाइ प्रायः सुखद थिएन ।

पहिलोपटक उनी व्यापारी बाबुको साथ लागेर ०२८ सालमा काठमाडौं आएका थिए । त्यतिवेला असनमा हराएका थिए । त्यसपछि ०३९ सालमा स्नातकोत्तर पढ्न आए । ०४४ सालसम्ममा त्रिविमा भर्ना भएरै चार विषयमा एमए पढे । तर, कुनैको पनि परीक्षा दिएनन् । पछि डेरासमेत नछाडी पोखरा फर्किए । लामो समय काठमाडौं आएनन् । ०६१ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भएर आए । ०६२/६३ को जनआन्दोलन सुरु भएपछि राजीनामा दिए ।

फेरि आए काठमाडौं
यसपटक संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको कुलपति भएर काठमाडौं आए । भाइहरू र आमाले जिम्मेवारी लिन आग्रह गरेपछि बाबुको मृत्यु भएको १५औँ दिनमा शपथ लिन प्रधानमन्त्री निवास बालुवाटार आइपुगे । कपाल खौरेका थिए । बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त भएर शपथका लागि पुगेका साहित्यकार गंगाप्रसाद उप्रेतीबाहेक अरूले चिन्दै चिनेनन् ।

त्यसो त शपथ लिनुअघि उनले सर्त राखे, राजनीतिक हस्तक्षेप गर्न पाइँदैन । उपकुलपति शम्भुजित बास्कोटा र सदस्य–सचिव गणेश रसिक थिए । अरू प्राज्ञ कोको थिए, जानकारीसमेत लिएका थिएन । त्यतिवेला प्रतिष्ठानको कार्यालय छाउनीमा थियो । शपथ लिएकै दिन प्राज्ञ परिषद्को बैठक राखे । बैठकमा जो जस्तो परिवेशबाट आए पनि प्रतिष्ठानभित्र राजनीति नघुसाउन आग्रह गरे । हुन पनि चार वर्षसम्म प्रज्ञा परिषद्का हरेक निर्णय सर्वसम्मत भए ।

कुलपति भएको केही समयपछि एक कार्यक्रममा उनको खगेन्द्र संग्रौलासँग भेट भयो । उनले सरुभक्तलाई भने, ‘सरु भाइ, प्रतिष्ठानबाट अहिलेभन्दा कम उपलब्धि हासिल गरेर जाने छुट तपाईंलाई छैन ।’ १९ भदौमा चार वर्षे कार्यकाल सकिएर पोखरा फर्किंदै गर्दा खगेन्द्र संग्रौलासँग आँखा जुधाएर कुरा गर्न सक्ने गरी काम गरेको सरुभक्तको दाबी छ ।

डबलीदेखि अनुसन्धानमूलक ग्रन्थसम्म
संगीत तथा नाट्यकला प्रतिष्ठानको पहिलो कुलपति वरिष्ठ संगीतकार अम्बर गुरुङ थिए । उनको टिमले तयार गरेको संगीत, नृत्य र नाटकको आधारशीलामा टेकेर आफूहरूले त्यसलाई विस्तार गरेको सरुभक्तको भनाइ छ ।

प्रतिष्ठानले पहिलोपटक ‘डबली यात्रा’ सुरु गर्‍यो । स्थानीय नयाँ–पुराना कलाकारलाई समेटेर पाटन र भक्तपुरबाट सुरु भएको यो कार्यक्रम देशभर सञ्चालन भयो । डबली यात्रामा संगीत, नृत्य र नाटक विधा समावेश भए । पुराना प्रतिभा जगाउन र लुकेका प्रतिभा चिनाउन यो कार्यक्रम गरेको सरुभक्त बताउँछन् ।

त्यस्तै, धरानमा नृत्य, संगीत र र नाटक महोत्सव भए । उल्लेखयोग्य अरू काम पनि भए । स्रष्टा कलाकारको परिचय–पत्र वितरण सुरु भयो । जुन परिचय–पत्र देखाएर सिंहदरबार पस्न पाइन्छ । त्यही परिचयपत्रले विभिन्न अस्पताल र बैंकमा सहुलियतका लागि कुरा चलिरहेको उनी बताउँछन् । विमान कम्पनीहरूसँग पनि सहुलित दिन पहल गरिरहेको उनको भनाइ छ ।

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रतिभा पुरस्कारको स्थापना भयो । अनुसन्धानमूलक काम पनि भए । प्रादेशिक आधारमा संगीत, नृत्य र नाटकको अनुसन्धानमुखी ‘नेपालका प्रदर्शनकारी कला’ शीर्षकमा सातै प्रदेशका सात ग्रन्थ प्रकाशित भए ।

यस्ता थिए चुनौती
सरुभक्तले कुलपतिको हैसियतमा ललितकला प्रज्ञा प्रतिष्ठानसँग जग्गाको लफडा बेहोरे । ललितकलाले त सरकारविरुद्ध नै मुद्दा हाल्यो । दुवै प्रज्ञा प्रतिष्ठान सरकारका अंग हुन् । दुवैका प्रमुख संरक्षक प्रधानमन्त्री र संरक्षक संस्कृतिमन्त्री हुन् । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सम्पत्ति भागबन्डा गर्ने अधिकार ऐनले मन्त्रिपरिषद्लाई दिएको छ । ऐनअनुसार भएको भागबन्डामा ललितकला प्रतिष्ठानका पदाधिकारीले आफ्नै अभिभावकविरुद्ध मुद्दा हालेर अनैतिक काम गरेको सरुभक्तको भनाइ छ ।

विवादको जग थियो, तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको पालामा पञ्चायतकालमा खुलेको नेपाल ललितकला संघ (नाफा)लाई दिएको २४ रोपनी जग्गा । नाफाले जग्गा उपभोग गर्न नसकेपछि संरक्षणका लागि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानलाई दिइयो । प्रज्ञा प्रतिष्ठानलाई तीनवटा बनाएपछि त्यही जग्गाबाट १५ रोपनी संगीत तथा नाट्यकला प्रतिष्ठान र नौ रोपनी ललितकला प्रतिष्ठानले पायो ।

तर, ललितकलाले जग्गा आफ्नो एकलौटी भएको भन्दै मन्त्रिपरिषद् र संगीत तथा नाट्यकलाविरुद्ध मुद्दा हालिदियो । मुद्दा हालेको तीन वर्षमा जम्मा एउटा पेसी चढ्यो । एक मिनेटको पेसीमा न्यायाधीशले निर्णयको पुस्तिका मगाउने आदेश दिए । सरकारको निर्णय पुस्तिका खोज्दाखोज्दै सरुभक्तको टिमको कार्यकाल सकियो, तर पुस्तिका फेला परेन ।

सरुभक्त आफैँ ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यालयमा गएर १०/१० रोपनीमा दुवै प्रतिष्ठानको घर बनाउने र बाँकी चार रोपनी पार्किङमा प्रयोग गर्ने प्रस्ताव पनि राखे । ललितकलाका पदाधिकारीले विचार गर्ने जवाफ दिए । जवाफ भने आएन ।

संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान भाडामा छ । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सम्पत्ति भागबन्डा गर्ने अधिकार पाएको सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पुरानै ठाउँमा स्थापित ग¥यो । ललितकलालाई नक्सालमा रहेको सरकारी भवनमा राख्यो । अहिले नेपाल प्रज्ञा प्रतिष्ठान बसेको भवनको प्रेक्षालय, डबली, कोठा, ड्रेसिङ रुम, रिहर्सल गर्ने कोठा संगीत तथा नाटकको लागि निर्माण भएका हुन् । सो भवन संगीत तथा नाट्यकला प्रतिष्ठानको हुनुपर्ने सरुभक्त बताउँछन् ।

संगीत तथा नाट्य प्रतिष्ठानलाई बजेटको पनि अभाव छ । पहिलो चार वर्षका लागि सरकारले संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानलाई दुई करोड ५० लाख बजेट दिएको थियो । प्रतिष्ठान भाडामा थियो । दुई करोड त प्रशासनिक खर्चमा नै सकियो । सरुभक्तको चारवर्षे कार्यकालमा भने करिब ६ करोड बजेट विनियोजन भयो । यो पनि न्यून थियो ।

कार्यक्रम थपिएकाले कर्मचारी थपिएका थिए । करार कर्मचारीलाई लाकेसेवासँगको सहकार्यमा स्थायी गरिएको थियो । यसो हुँदा प्रशासनिक खर्च बढेर चार करोडभन्दा माथि पुगिसकेको थियो । तीनवटै प्रज्ञा प्रतिष्ठानलाई गरी सरकारले करिब २५ करोड बजेट उपलब्ध गराएको छ । देशको साहित्य, कला र संस्कृतिमाथि अन्याय भएको उनको मत छ ।

कुलपति नै विरुद्धमा
जनआन्दोलनअघिसम्म एउटै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान थियो । जनआन्दोलनपछि लेखक, कवि, कलाकारको मागअनुसार नै तीनवटा फरक क्षेत्रका फरक प्रज्ञा प्रतिष्ठान बने । तर, यसपटकको बजेटमा सरकारले अचानक सबै प्रज्ञा प्रतिष्ठान समायोजन गर्ने घोषणा गर्‍यो । सरुभक्तले यो घोषणाविरुद्ध लबिङ थाले ।

त्यसपछि पो थाहा पाए कि एउटा प्रज्ञा प्रतिष्ठानको कुलपति नै समायोजनमा लागेका रहेछन् । उनी भन्छन्, ‘उहाँलाई तीनवटै प्रतिष्ठान मर्ज गराएर फेरि कुलपति हुने मौका चाहिएको रहेछ । अनि उहाँले प्रज्ञा प्रतिष्ठानबीचको विवाद देखाएर समायोजन गर्नुपर्ने भन्दै सरकारमा लबिङ नै गर्नुभएछ ।’

सरकारले भने सात प्रदेशमा पनि प्रज्ञा प्रतिष्ठान चाहिने हुनाले धेरै संख्यामा प्रज्ञा प्रतिष्ठान देशले नधान्ने भन्दै समायोजनको प्रस्ताव ल्याएको रहेछ । तर, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलाई पनि यो घोषणा चित्त बुझेको रहेनछ । सीमित स्रोत र साधनबाट जति काम भएका छन्, त्यो उल्लेखयोग्य भएको उनको दाबी छ । संरक्षक पनि रहेका संस्कृतिमन्त्री रवीन्द्र अधिकारी यो कुरामा जानकार छन् । त्यसैले मन्त्री अधिकारीले प्रज्ञा प्रतिष्ठान समायोजन नहुने आश्वासन दिएका छन् ।

दोहिरिएर कुलपति नबन्ने
गत १९ भदौमा सरुभक्तको कार्यकाल सकियो । धेरै शुभचिन्तकले ‘अब नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुपर्छ’ भन्ने सुझाब दिए । उनको विधा कविता र आख्यान पनि हो । तर, उनले घोषणै गरे कि अब कुनै पनि प्रतिष्ठानको कुलपति बन्ने छैन । संस्कृतिमन्त्री रवीन्द्र अधिकारी पोखराकै हुन् । सरुभक्त उनलाई ‘भाइ’ भन्छन् । अधिकारी ६ महिनाअघि मन्त्री भएपछि बधाई दिन सरुभक्त मन्त्रीनिवास पुगे ।

त्यतिवेलै उनले भनेका थिए, ‘रवीन्द्र भाइ तपाईंजस्तो उत्साही र केही गर्छु भन्ने मान्छे मन्त्री हुँदा खुसी लागेको छ, म बिदा हुने वेला तपाईं आउनुभयो, म अर्को कार्यकाल दोहोर्‍याएर आउँदिनँ, तर, तपाईंको कार्यकालमा राजनीतिलाई टाढा राखेर योग्य व्यक्ति नियुक्त गर्न सिफारिस गर्नुस् ।’ उनलाई लाग्छ कुलपति भनेको जागिर खाएजस्तो पद मात्र ओगट्ने ठाउँ होइन ।

त्यसो भए अब सरुभक्त के गर्छन् त ? उनी अवकाश पाएको दुई दिनपछि नै पोखरा फर्किए । उनका अप्रकाशित कृति नै दुई दर्जन छन् । ती प्रकाशन गर्नु छ । दिमागमा केही घटना र प्लटहरू छन्, तिनलाई पनि उतार्नु छ । सरुभक्त पोखरा फर्किएर साहित्य सिर्जना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया