एपिएफद्वारा उपाधि रक्षा - Naya Patrika
eNaya Patrika
  • ePaper

एपिएफद्वारा उपाधि रक्षा

साबिक विजेता एपिएफ क्लबले बुधबार राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । प्रतियोगिताको फाइनलमा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रोपटक उपाधि हात पारेको हो । गत वर्ष पनि एपिएफले उपाधि भिडन्तमा न्यु डायमन्डलाई हराएको थियो । पहिलो सेट एपिएफले २५–२० ले जितेको थियो । न्यु डायमन्डले दोस्रो सेट २५–१८ ले जित्दै खेल १–१ को बराबरीमा पु-यायो ।


एपिएफ लगातार तेस्रो सेट २५–१७, र चौथो सेट २५–२१ ले जित्दै उपाधि रक्षा गर्न सफल भयो । उपाधिसँगै एपिएफले एक लाख र उपविजेता न्यु डायमन्डले ६५ हजार रुपैयाँ पाएका छन् । त्रिभुवन आर्मी क्लबले चितवन टाइगरलाई २५–१८, २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान रक्षा ग-यो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । बेस्टस्पाइकर न्यु डायमन्डकी प्रतिमा माली, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनीता खड्का र उत्कृष्ट सेटरमा एपिएफकी शशी चौधरीले बाजी मारेका छन् ।

डिफेन्समा न्यु डायमन्डकी सलिना श्रेष्ठ, प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र विष्ट, सर्भरमा न्यु डायमन्डकी झर्ना श्रेष्ठ, क्विक स्पाइकरमा एपिएफकी हीरा केसी उत्कृष्ट घोषित भए । प्रतियोगितामा पोखराको टप्स मावि, काठमाडौंको न्यु डाइमन्ड एकेडेमी, नेपाली सेना, एपिएफ र चितवन टाइगर गरी ५ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया