रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा - Naya Patrika
eNaya Patrika
  • ePaper

रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा

म्याग्दी हुँदै बग्ने कालिगण्डकी र रघुगंगा नदीमा आएको बाढीले भौतिक सम्पतिमा क्षति पुगेको छ । भारी वर्षासँगै बाढी र पहिरो आएको थियो भने नदीमा पानीको बहाब यो वर्षकै उच्च विन्दुमा पुगेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको छरीदेखि माथि आएको बाढीले घ्यासीखर्क र खरिबोट बस्तीलाई उच्च जोखिममा पारेको छ ।

नदीको कटानले घ्यासीखर्कको रितुङ मावि, क्लब भवन र निर्माणधिन स्वास्थ्य चौकी भवनमा समेत क्षति पुर्‍याएको रघुगंगा–८ का वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । ‘छरीदेखि माथि पहिरो गएर नदी थुनिएपछि विपत निम्तिएको हुनसक्छ, साँझ भएकाले कहाँ के भएको हो पत्ता लागेको छैन, स्थानीयबासीलाई सुरक्षित भएर बस्न भनेका छौँ,’ वडाध्यक्ष छन्त्यालले भने ।

रघुगंगाको कटानको जोखिममा रहेका बस्तीका बासिन्दाहरुलाई सर्तकता अपनाउन र सुरक्षित हुन गाउँपालिकाले अनुरोध गरेको छ । यसैबीच म्याग्दी र मुस्ताङको सिमा क्षेत्र घाँसा र लेते क्षेत्रमा समेत भारी वर्षा भएको र गलेश्वरमा जोडिने रघुगंगा नदीको बहाबसमेत उच्च विन्दुमा पुग्दा कालिगण्डकी नदीको सतह ह्वात्तै बढेको छ ।

कालीगण्डकी नदीको बहाब बढेका कारण तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । यता मुस्ताङको थासाङ गाउँपालिका ४ कुञ्जोमा बुधबार पहिरोले स्वास्थ्य चौकी र आमा समूहको भवनमा क्षति पुर्‍याएको छ ।

कुञ्जोस्थित स्वास्थ्य चौकी र सँगै रहेको आमा समूहको भवन पहिरोले पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष सोमल हिराचनले जानकारी दिए । बाढी र पहिरोले विभिन्न स्थानमा पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको र जोखिमपूर्ण ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको मुस्ताङका प्रजिअ शिशिर पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया