लमजुङमा बाढीपहिरोमा परी ३ को मृत्यु, ४ बेपत्ता - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

लमजुङमा बाढीपहिरोमा परी ३ को मृत्यु, ४ बेपत्ता

लमजुङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६० वर्षीया अभिरुपा थापा र थापाकी नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको लमजुङका प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि स्थानिय खुदीस्थीत स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको प्रनाउ ढकालले बतए ।

त्यस्तै बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगा लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४६ वर्षीया विष्णु मायाँ गुरुङको मृत्यु भएको स्थानीय कमल गुरुङले बताए । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको गुरुङले बताए ।

यता बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म बाढीपहिरोका कारण अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् ।

 मर्स्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षीया ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय पार्वती गुरुङले बताइन् । उनका अनुसार पहिरोले ३ घर बगाएको छ ।

यता मर्स्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मस्र्याङ्दीले बगाएको छ ।

ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालि मार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २५ वर्षीय लक्ष्मी प्रसाद थारुलाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।

 मर्स्याङ्दी गाउँपालिकाका उपप्रमुख होम बहादुर बिकका अनुसार लगातार परेको वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको छ ।  पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

स्याँगेस्थित खुसीराम परियारको १५ वटा बाख्रा बगाएको छ । रामबजारमा २ घर बगाएको छ । एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ ।

 मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएकोे छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म २ वटा जीप पहिरोमा पुरिएको स्थानीय नरबहादुर गुरुङले बताए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासी आएको बर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र धनजनको क्षति भएको खबर प्राप्त भएको बताए । अहिले बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया