चामल बोक्न प्रयोग गर्दै एम्बुलेन्सको दुरुपयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

चामल बोक्न प्रयोग गर्दै एम्बुलेन्सको दुरुपयोग

दोलखामा एक सामुदायिक अस्पतालको एम्बुलेन्स चरम दुरुपयोग भएको पाइएको छ । बुधबार बिरामी बोक्ने दोलखा सामुदायिक अस्पतालको एम्बुलेन्सले चामल र दाल बोक्ने गरेको पाइएको हो ।

बिरामी बोक्न अनाकानी गर्ने एम्बुलेन्सले व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग हुँदै आएको दोलखाका मानबहादुर थामीले बताए । उनले भने, ‘छानबिन हुन आवश्यक छ, एम्बुलेन्सले होइन ट्रकले ढुवानी गर्न सकिन्छ ।’

अस्पतालका सञ्चालक अमृतबहादुर बुढाथोकी बिरामी पुर्‍याएर फर्किने क्रममा बाल गृहका लागि १० बोरा चामल र एक बोरा दाल एम्बुलेन्समा ढुवानी गरेको बताएका छन् । ‘साक्षर दिवसको अवसरमा अनाथ बालबालिकालाई निःशुल्क वितरण गर्ने भएकाले एम्बुलेन्समा ढुवानी गरेको हो,’ उनले भने ।

दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमण पाठकले प्रशासनलाई पूर्व जानकारी बिना एम्बुलेन्समा चामल ढुवानी गर्न नमिल्ने बताए । उनले भने, ‘एम्बुलेन्समा बिरामी बोक्ने हो, खाली फर्के पनि त्यसरी ढुवानी गर्न पाउँदैनन, कानुनी कारबाही हुन्छ ।’

यसैगरी, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले एम्बुलेन्सले चामल बोकेको सुचना पाएपछि कारबाही गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया