राेकिएनन् कञ्चनपुरमा बलात्कारका घटना, अर्की १० वर्षीया बालिका पनि बलात्कृत - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

राेकिएनन् कञ्चनपुरमा बलात्कारका घटना, अर्की १० वर्षीया बालिका पनि बलात्कृत

गत १० साउनमा होमवर्क गर्न साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरी कञ्चनपुरमा अर्की बालिका बलात्कृत भएकी छन् । महाकाली नगरपालिका–४ दोधाराचाँदनीकी १० वर्षीया बालिका बलात्कृत भइन् । उनी साथीको घरबाट आफ्नो घर फर्किदै गर्दा बीच बाटैमा बलात्कृत भएकी हुन् ।

बालिकाको परिवारका अनुसार महाकाली नगरपालिका–४ दोधाराका ४० वर्षीय आइते सुनारले बलात्कार गरेर भागेको आरोप लगाएका छन् । पीडित बालिकाकी माइली आमाले सुनारले छोरीलाई १० रुपैयाँ दिन्छु भन्दै फकाएर खेत हेर्न लगेर बलात्कार गरेको बताइन् ।

‘पैसा दिने लोभ देखाएपछि छोरीपनि खेत हेर्न गइन्,’ उनले भनिन्, ‘सानो छोरीलाई के थाहा यस्तो कुर्कम गर्छ भनेर ।’ त्यहाँ नजिकै खेतमा सुनारकै नाता पर्ने बुहारी घाँस काट्दै गर्दा बालिका कराएको सुनेपछि गाउँलेलाई खबर गरेकी थिइन् । आफ्नै बुहारीले देखेपछि सुनार भागेका थिए । घर परिवारले घटना स्थलबाट बालिकालाई लगेर प्रहरी चौकी गएका थिए । त्यतिबेलै प्रहरीलाई घटना बारे खबर पनि भएको थियो ।

‘म साथीको घरबाट घर आइरहेकी थिए, नानु म तिमीलाई १० रुपैयाँ दिन्छु मेरो खेत हेरिदेऊ भन्यो,’ पीडित बालिकाले भनिन्,‘म पनि उनीसँगै धानखेत भएको ठाँउमा गए, त्यहाँ पुग्दा मेरा दुवै हात समातेर ढलायो, जबरजस्ती गर्दा म कराए ।’ घटना स्थलमा घरपरिवारसहित गाउँले पुग्दा युवक भागिसकेका थिए । केही छिमकै प्रहरी घटना स्थल पुगेपछि सुनारको खोजी कार्यभयो । सुनार अर्को धानखेतमा लुगेका थिए । उनलाई त्यहाँबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय दोधारा ल्याइयो ।

प्रहरीले बालिका र अभियुक्तको मंगलबार राति १ बजेतिर महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बालिकामाथि जबरजस्तीकरणी गर्ने महाकाली नगरपालिका–४ का पक्राउ परेका आइते सुनार विरूद्ध जबरजस्तीकरणी सम्बन्धी मुद्दा दायर भएको बताए ।

पीडितले दिएको लिखित जाहेरका आधारमा सुनार विरूद्ध बुधबार मुद्दा दायर भएको प्रहरी निरीक्षक चन्दले बताए । अनुसन्धान गर्न १० दिनका लागि जिल्ला आदालत कञ्चनपुरले म्याद थपसमेत गरेको छ । प्रहरी निरीक्षक चन्दले मेडिकल रिर्पोटअनुसार सुनारले बालिका बलात्कार गरेको प्रमाणित भएको बताए । प्रारम्भिक बयानका क्रममा सुनारले बालिका बलात्कार गरेको स्वीकारेको उनले बताए । पीडितका परिवार, आफन्त र अधिकारकर्मीले घटनाको निष्पक्ष छानबिन गरी दोषि उपर कारबाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया