ऊर्जामन्त्री पुन र शान्ति प्रकियाको नेपाली मोडल अध्ययन गर्न आएको अफगानी टोलीबीच भेटवार्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

ऊर्जामन्त्री पुन र शान्ति प्रकियाको नेपाली मोडल अध्ययन गर्न आएको अफगानी टोलीबीच भेटवार्ता

नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तसँग भेटवार्ता गरेको छ । अफ्गानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख डा. हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका उर्जामन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको हो । हबिबा अफगानस्तानकी पूर्वमन्त्री हुन् ।

उर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताए । उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको दाबी गरे । अफगानस्तानको उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री पुनले भने,‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामिले शान्ति प्रक्रियाको आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौँ ।’ उनले युद्ध कुनै पनि समाजको लागि राम्रो नभए पनि त्यसका पछाडि केही बाध्यता र केही ऐतिहासिक संयोग हुने बताए ।

‘द्धन्द्धका पछाडि ठाउँअनुसार आ–आफ्नै कारणहरु हुन्छन्, तर युद्धको अवस्थालाई शान्तिको अवस्थामा ल्याउन युद्ध के कारणले भयो भन्ने थाहा पाउन आवश्यक छ,’ छलफलको क्रममा मन्त्री पुनले भने । तत्कालिन माओवादी नेता मन्त्री पुनले अफगानिस्तानमा शान्तिप्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताए । उनले नेपालको मोडलबाट अफगानिस्तानले सिकेर शान्ति कायम गर्ने दिशामा लाग्न सुझाए । शान्तिप्रक्रिया भनेको लडाइ भन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न मन्त्री पुनले सुझाव दिए ।

ऊर्जामन्त्री पुनले शान्ति प्रक्रिया, हतियार व्यवस्थापन र सेना समायोजनका बारेमा आफ्नो अनुभव बताए । उनले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष जिम्मेवार भएमात्र निष्कर्षमा पुग्ने बताए । ‘शान्तिका लागि वार्ता र छलफल गर्दा दुवै पक्षले मध्यविन्दु तय गर्नुपर्छ, वार्ता एक प्रकारको लेनदेन पनि हो, दुवै पक्षले मध्यबिन्दु तय गर्दा शान्ति प्रक्रिया अघि बढ्न सहज हुन्छ,’ मन्त्री पुनले भने । उनले दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहने हो भने शान्ति प्रक्रिया अगाडि बढ्न कठिन हुने बताए ।

मन्त्री पुनले अफगानस्तानले नेपालले जस्तै सबै पक्षलाई समेटेर छिट्टै शान्ति कायम गर्नेमा आफू आशावादी रहेको बताए । विश्वमा शान्ति स्थापनाको लागि धेरै प्रकारका मोडल भएको भन्दै मन्त्री पुनले अफ्गानस्तानले स्थायी शान्तिका लागि नेपाली मोडेल अवलम्बन गर्न सुझाए ।

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताइन् ।

अफगानस्तानमा शान्तिप्रक्रियाका लागि उच्च शान्ति परिषद्ले काम गर्दै आएको छ । भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाही बारे पनि जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया