नाडा अटो सो सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

नाडा अटो सो सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३औँ संस्करणको नाडा अटो सो मंगलबारबाट सुरु भएको छ । ६ दिनसम्मका लागि सञ्चालन हुने प्रदर्शनीमा यसपटक १९ ब्रान्डका चारपांग्रे (कार, जिप र भ्यान), २० ब्रान्डका दुईपांग्रे (मोटरसाइकल र स्कुटर) रहेका छन् ।

त्यस्तै टायर, ब्याट्री, लुब्रिकेन्टलगायत गरी ७१ कम्पनीका १ सय ३४ वटा स्टल रहेका छन् । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरूलगायत नेपालमै उत्पादित सामग्रीसमेत राखिएका छन् ।

अटो सोमा २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । तर, विद्यार्थीलाई परिचयपत्र देखाएका आधारमा १ सय ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अटो सो उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गाडी चढ्न रहर लाग्नेले कमाएर किन्नुपर्ने बताएका छन् । ‘ऋण लिएर होइन, ऋण तिर्ने क्षमता विकास नभईकन गाडी नकिन्नुस्,’ उनले भने ।

अहिले बैंकले ३५ प्रतिशत फाइनान्स गरेपछि गाडी किन्ने धेरै छन् । व्यवसायीले यो सीमालाई हटाउन वा २० प्रतिशतसम्म झार्न दबाब दिइरहेका छन् । अर्थमन्त्री खतिवडाले सरकारको नीतिलाई साथ दिँदै ऋण लिएर सवारी नकिन्न आग्रह गरेका हुन् । उनले अटोमोबाइल क्षेत्रमा लगाइको कर बढी भएको स्विकार्दै बिस्तारै कम गर्दै लैजाने विषय सोचिरहेको बताए ।

उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले कार्यक्रममा बोल्दै अटोमोबाइल क्षेत्रलाई सरकारको सहयोग चाहिएको बताइन् । उनले मुलुकको बढ्दो व्यापार घाटा कम गर्न अटोमोबाइलको उद्योग सञ्चालन गर्नुपर्ने धारणा राखिन् । ६ दिनसम्म चल्ने अटो सोमा ६० हजार अवलोकनकर्ता आउने अपेक्षा राखेको उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया