जिपसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

जिपसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन

जिप ब्रान्डको कार पहिलोपटक नेपाल भित्रिएको छ । यस ब्रान्डका बारेमा जानकारी गराइदिनुस् न ?

जिप अमेरिकाको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो । कम्पनीले सन् १९४५ देखि सवारीसाधन उत्पादन सुरु गरेको हो ।त्यतिवेला विश्व युद्ध जारी थियो र एकदमै कम सेग्मेन्टका गाडीको मात्र माग थियो । जिपले सोही वेला गाडी उत्पादन थाल्यो । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टका कारलाई सबैले जिप भन्ने गरेका छन् । किनभने, जिपले पहिलो उत्पादन नै एसयुभी कारबाट सुरु गरेको हो । त्यसैले आजभोलि एसयुभी देखिने सबै कारलाई जिप भन्ने गरिन्छ ।

 विष्णु अग्रवाल : प्रबन्ध निर्देशक, एमएडब्लू इन्टरप्राइजेज

नेपालमा धेरै अफरोड छन् । यहाँको अफरोडमा गुडाउन संसारका जति पनि गाडी ल्याएर दौडाइन्छ, त्यसमा सबैभन्दा उत्कृष्ट भएर जिप नै निस्किन्छ । यहाँको बाटोमा जुन सस्पेन्सन जिपले दिन्छ, त्यो कसैले दिन सक्दैन । अफरोड वा राजमार्गमा गाडी चलाउँदा घच्याकघुचुक हुने, थथर्किने बढी हुन्छ ।

तर, जिपमा यात्रा गर्दा कुनै असहज महसुस हुँदैन । यतिसम्म कि बाटोमा सानोतिनो खाल्डोमा पाङ्ग्रा परेर अघि बढ्दासमेत जिपमा यात्रा गर्नेलाई थाहै हुँदैन । अप्ठ्यारो बाटोमा जिप दौडिँदा पनि चिल्लो सडकमा दौडिएजस्तो लक्जरी अनुभव हुन्छ । हामीले यस्तो गाडी नेपालमा उपलब्ध गराउन पाउँदा धेरै खुसी छौँ ।

जिपलाई नेपाल भित्र्याउन अन्य कम्पनी पनि लागिपरेका थिए, अन्त्यमा एमएडब्लू सफल भयो । यसको कारण के होला ?

यो अत्यन्तै प्रिमियम ब्रान्ड हो । र, यस्तो ब्रान्डलाई छोटो समयमै सबै नागरिकमाझ स्थापित गराउनुपर्ने बाध्यता रहन्छ । एमएडब्लूले विगतदेखि नै राम्रा ब्रान्डसँग काम गरेको र ती सबैलाई स्थापित गर्न सफल भइरहेका छौँ । जिपलाई पनि हामीले नै नेपालको बजारमा स्थापित गर्न सक्छौँ भन्ने विश्वास उत्पादक कम्पनीलाई भएको हुन सक्छ । जसकारण उनीहरूले एमएडब्लूसँग जिपको नेपाल साझेदार बनेर काम गर्न चाहेको भन्ने मेरो बुझाइ छ ।

जिप कम्पासको मूल्य ६८.५० लाखदेखि ९६.५० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ, जुन मूल्य बजारले अपेक्षा गरेभन्दा कम नै निर्धारण गरेको देखिन्छ । यसको कारण के होला ?

भारतमा यसको उत्पादन सुरु हुँदै छ भन्ने कुरा थाहा पाउनासाथ हामीले नेपाल भित्र्याउने प्रक्रियामा लागेका थियौँ । अन्तर्राष्ट्रिय बजारलाई तुलना गर्ने हो भने जिप कम्पासको नेपाली मूल्य डेढ करोड रुपैयाँजति हुनुपर्ने हो । तर, भारतमै उत्पादन भएका कारण सस्तो हुन पुगेको छ ।

भारतले उत्पादन थालेर त्यहाँका घरेलु बजारमा पनि तुलनात्मक रूपमा कम मूल्य नै राख्यो, जसकारण हामीकहाँ आउँदा पनि उपभोक्ताले सोचेभन्दा कम मूल्य नै निर्धारण गर्न सफल भएका छौँ ।

अर्को महत्वपूर्ण कुरा के छ भने, हामीले यो ब्रान्डको कार उपभोक्तालाई सकेसम्म कम मूल्यमा दिन चाहिरहेका छौँ । यसमा हामीले कुनै छुट रकम उपलब्ध गराएका छैनौँ । कुनै योजना ल्याएर छुटको कुरा गर्दा एउटा उपभोक्ताले छुट पाउने, अर्कोले नपाउने हुन्छ ।

यसले सबै उपभाक्तालाई समेट्दैन । हामी सबै उपभोक्तालाई समान सुविधा प्रदान गर्न चाहन्छौँ । यसका लागि जिप कम्पासको जेन्युन मूल्य तोकेका छौँ ।

नक्सालमा सोरुम राखेर जिप ल्याएको १५ दिन भइसकेको छ । यो अवधिमा उपभोक्ताको प्रतिक्रिया कस्तो छ ?

हामीले जिप ल्याएको १५ दिनमा २ सयभन्दा बढी मानिसले गाडी खरिदका लागि चासो राखिसकेका छन् । नाडामा आउनुअघि ५० भन्दा बढी कार बुकिङ भइसकेका छन् । यद्यपि, भारतबाट हामीले मागेजति जिप पाइरहेका छैनौँ । नाडा अटो सो, सोरुम र अन्यत्र डिस्प्लेका लागि कार राख्नुपर्ने बाध्यता छ । हामीले दसैँअघि १ सयवटा जिप हस्तान्तरण गर्ने योजनाका साथ भारतबाट मगाएका छौँ ।

जिपका लक्षित उपभोक्ता कस्ता छन् ?

हामीले प्रिमियम उपभोक्तालाई लक्षित गरेर जिप नेपालमा ल्याएका हौँ । सीमित मान्छेले मात्र जिप चढ्छ भन्ने कुरा थाहा छ, त्यसैले कार चढ्न सक्ने सबै मानिसहरू हाम्रा उपभोक्ता हुन् भनेका छैनौँ ।

जसले जिपलाई बुझ्न सक्छन्, उनीहरू हाम्रा उपभोक्ता हुनेछन् । यसलाई एकपटक चलाएर हेरेपछि उपभोक्तालाई केही भन्नु नै पर्दैन । म आफैँले अहिले जिप चढिरहेको छु । बाटोमा रहेका खाल्डाखुल्डी हुँदै अघि बढ्दा थाहै हुँदैन ।

अहिले बजारमा रहेका अन्य ब्रान्डका एसयुभी कारको तुलनामा जिपका धेरै फिचर एड्भान्स छन् । तसर्थ, जिपले नेपाली बजारमा कसलाई प्रतिस्पर्धी ठान्छ ?

मलाई लाग्दैन कि जिपसँग नेपाली बजारमा कसैले प्रतिस्पर्धा गर्न सक्छ । सबै ब्रान्डले एसयुभी कारलाई जिपकै नाम लिएर बेचिरहेको हुन्छ । यस्तो अवस्थामा कसरी मैले अरू ब्रान्डलाई प्रतिस्पर्धी ठान्न सक्छु ? त्यस्तै अफरोडमा जिपको पर्फमेन्सलाई कसैले भेट्टाउन सक्दैन । यसपटकको अटो सोमा जिपले प्रवेश गरेको छ । जसकारण जिप हेर्न र बुझ्नका लागि भए पनि एकपटक अटो सो जानुपर्छ भन्ने धेरैमा उत्सुकता बढेको छ ।

अटो सोमा जिप बुकिङ गर्नेले तुरुन्त पाइहाल्छन् कि केही समय कुर्नुपर्छ ?

अटो सोमा जिप बुकिङ गर्नेलाई दसैँअघिसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएका छौँ । हामीले अहिले ल्याइरहेका कार र उपभोक्ताले खोजिरहेका कारबीच तालमेल मिलेको छ । त्यसैले दसैंअघि डेलिभरी दिन समस्या हुँदैन भन्ने हामो बुझाइ छ ।

काठमाडौंबाहिरका उपभोक्तालाई पनि जिप दिन्छौँ र बिक्री पछि प्रदान गर्नुपर्ने सेवाको उचित व्यवस्थापन गरिदिन्छौँ । जिपको पहिलो सर्भिसिङ ६ महिना वा १० हजार किलोमिटरमा हुन्छ । त्यस वेलासम्म हामी सर्भिस सेन्टरको पाटोमा धेरै प्रगति गरिसकेका हुन्छौँ । काठमाडौंमा चाहिँ विश्वस्तरीय सर्भिस सेन्टर छ ।

एमएडब्लूले नै आयात गर्ने स्कोडा ब्रान्डको कोडियाक कार नाडामा राखिएको छ । यो कस्तो कार हो ?
मूलतः सेडान कारमा दख्खल राख्ने स्कोडाले सुरुमा मिनी एसयुभीका रूपमा यती ल्याएको थियो । त्यसपछि ठूलो एसयुभीमा कोडियाक ल्याएको हो । यो युरोप र भारतमा धेरै सफल मोडलका रूपमा परिचित भएको छ ।

स्कोडाको प्रधान कार्यालय चेक रिपब्लिक हो, त्यहाँ अहिले कोडियाकको ६० हजार युनिट बुकिङ छ । जसकारण आउँदो ६ महिनासम्म अहिले बुकिङ भएकै कार उत्पादन गरेर उपभोक्तालाई दिन भ्याइनभ्याइ छ । यसको इन्जिन स्मुथ छ ।

युरोपियन प्रविधि भएका कारण सेफ्टी र लक्जरी फिचर धेरै राखिएको छ । नेपालमा पनि कोडियाक सफल हुने अपेक्षा राखेका छौँ । ८–९ युनिट त हामीले सार्वजनिक गर्नुअघि नै बुकिङ भइसकेको थियो ।

 

तपाईको प्रतिक्रिया