मोबाइलबाटै विकास योजनाको जानकारी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मोबाइलबाटै विकास योजनाको जानकारी

तेजराज भट्ट

कैलालीको गौरीगंगा नगरपालिकाले नगरको बजेट, योजना तथा दैनिक कामकारबाहीबारे नगरवासीले मोबाइलबाटै जानकारी लिन सक्ने व्यवस्था गरेको छ । नगर र वडा कार्यालयका सबै योजना र गतिविधि समावेश गरेर निर्माण गरिएको ‘मोबाइल एप्स’ नगरपालिकाले सार्वजनिक गरेको हो ।

‘कुन वडामा कति बजेट छुट्याइएको छ, कुन–कुन योजना सञ्चालन भइरहेका छन् भन्ने जानकारी नगरवासीले मोबाइल एप्सबाटै पाउन सक्नेछन्,’ प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर शाहीले भने ।

नगरपालिकाबाट जारी हुने सूचना, दैनिक प्रशासनिक कामकारबाही, वडा र नगरले दिने सेवा पनि एप्समा समावेश गरिएका छन् । नगरका सबै घरधुरीको विवरण पनि मोबाइल एप्समा अद्यावधिक गर्ने काम भइरहेको शाहीले बताए । प्रत्येक घरको परिवार संख्या, जमिन, गाईवस्तुको संख्या, शैक्षिक अवस्थालगायतका विवरण संकलन गरिसकिएको उल्लेख गर्दै उनले एप्समा अद्यावधिकको कार्य भइरहेको बताए ।

नगरवासीको सुविधाका लागि एप्स 
भीमबहादुर देउवा, मेयर
गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले नगरवासीको सुविधाका लागि मोबाइल एप्स निर्माण गरिएको बताए । एप्सबाट बजेट खर्च र योजना सञ्चालनमा पारदर्शिता हुने अपेक्षा गरिएको उनले जनाए । ‘बजेट, योजना, नगर र वडाले दिने सेवा, सेवा लिँदा लाग्ने समय नगरवासीले मोबाइलबाटै जानकारी पाउन सक्नेछन्,’ देउवाले भने, ‘सेवाबारे बुझ्न अब कार्यालयमा आइराख्नुपर्दैन ।’

नगरपालिकाले चौथो नगरसभाबाट छनोट गरेका योजना सार्वजनिक गर्न आयोजित कार्ययोजनामा प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले मोबाइल एप्स सार्वजनिक गरे । उनले स्थानीय तहहरूले बजेट खर्चमा पारदर्शिता अपनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया