भारतले चासो नदिँदा सुक्खा बन्दरगाह निर्माण सुस्त - Naya Patrika
eNaya Patrika
  • ePaper

भारतले चासो नदिँदा सुक्खा बन्दरगाह निर्माण सुस्त

विश्वराज पछल्डङ्ग्या

सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण भएको लामो समय बित्दासमेत निर्माणको काम अन्योलमा छ । चार वर्षअघि जमिन अधिग्रहण गरी तारबार गरिए पनि संरचना निर्माणको काम सुरु नहुँदा अन्योल भएको हो ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले अहिलेसम्म तारबार र सुरक्षाकर्मी बस्ने भवनबाहेक अन्य भौतिक संरचना निर्माण नभएको बताए । पहिलो चरणमा नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने काम पूरा गरिसकेको र भारतले पनि आफ्नोतर्फको जमिनमा तारबार गर्नुका साथै पक्की पर्खाल निर्माण गरिसकेको छ । ‘नेपालको तर्फबाट गर्नुपर्ने काम सकेको लामो समय भइसक्यो, भारतले निर्माण गर्नुपर्ने संरचना अघि बढ्न सकेको छैन,’ उनले भने, ‘भारतले चासो नदिँदा कछुवाको चालमा काम भएको छ ।’

भारतले नेपालतर्फको उत्तरी भागमा काँडेतार र पश्चिम, दक्षिण तथा पूर्वमा पक्की पर्खाल निर्माण गरेको छ । ‘दुई वर्षसम्म पर्खाल र तारबारबाहेक कुनै पनि संरचना निर्माण भएको छैन,’ उनले भने ।

भारत र नेपालतर्फको दुई सयभन्दा बढी जमिन अधिग्रहण भएको छ । अधिग्रहण भएको जमिनमा अत्याधुनिक भवन, स्वचालित सामान तौल गर्ने उपकरण, ठूला मालबाहक गाडी पार्किङ, सामान चेकजाँच गर्ने प्रविधिसहितको व्यवस्था गर्ने योजना छ । ‘सुक्खा बन्दरगाहको योजना र यसले समेट्ने क्षेत्र ठूलो छ, तर कहिले पूरा हुने भन्ने अन्योल छ,’ इन्जिनियर भुसालले भने ।

पाँच प्रतिशत काम पनि भएन
भुसालका अनुसार बन्दरगाह निर्माणको काम अहिलेसम्म पाँच प्रतिशत पनि भएको छैन । संरचना निर्माणमा ढिलाइ भएपछि अधिग्रहण भई तारबार गरेको जमिन गौचरण भएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि व्यवस्था गरिएको जमिनमा नेपाल–भारतका २५ गाउँका पशुचौपाया चर्ने थलो बनेको उनले बताए ।

अधिग्रहण भएको जमिनमा भौतिक संरक्षण निर्माण नभएपछि पशुचौपाया चर्ने–चराउने थलो बनेको छ । भारत र नेपाल दुवैतर्फका स्थानीयले आ–आफ्ना पशुचौपाया यही जमिनमा चराउने गरेको पचपोखराका भुसीलाल यादवले बताए । भारत र नेपालतर्फको दुई सय बिघा जमिनमा कुनै संरचना निर्माण नभएकाले दैनिक एक हजार पशुचौपाया चरिचरणका लागि आउने गरेको उनले बताए । ‘बन्दरगाहको जमिन खाली छ, सबैले पशुचौपाया यहीँ ल्याउँछन्,’ उनले भने ।

संरचना संरक्षणमा समस्या
तीन वर्षअघि मुआब्जा दिएर सर्वसाधारणको जमिन सरकारले अधिग्रहण गरेको थियो । बन्दरगाहको जमिन र निर्माण भएका संरचना संरक्षण कसले गर्ने भन्ने पनि अन्योल छ । संरक्षण गर्ने निकाय नभएका कारण ठाउँ–ठाउँमा काँडेतार हटाइएको छ । बन्दरगाहमा जानका लागि बनाइएको सडक र तार हटाएको ठाउँबाट सर्वसाधारणले पशुचौपाया चराउन ल्याउने गरेका छन् ।

जमिन संरक्षणका लागि तारबार, चौलिक्का चोकदेखि बन्दरगाहसम्मको दुई हजार सात सय मिटर लामो, ६० मिटर चौडा सडकको ट्रयाक खोल्ने र सडकको प्रति ५० मिटरको दूरीमा सिमेन्टको खम्बा गाडेर संरक्षणको काम भएको भुसालले बताए । ‘चौलिक्का चोकदेखि बन्दरगाहसम्मको उक्त सडकको ट्रयाक खोल्ने र सुरक्षाकर्मीका लागि दुईतले कार्यालय भवन र भान्सा निर्माण भएको छ,’ उनले भने ।

तर, सो भवन र सीमांकनका लागि गाडिएका पोलको रेखदेखमा समेत ध्यान पुगेको छैन । बन्दरगाहको जमिन सीमांकन, तारबार, सडकको ट्रयाक खोल्ने र सुरक्षाकर्मीका लागि भवन निर्माण गरेपछि आफ्नो दायित्व सकिएको बताउँदै उनले संरक्षण गर्ने निकायको व्यवस्था नभएको बताए । संरक्षण र रेखदेख कुन निकायले गर्ने भन्ने अहिले अन्योल भएको भुसालले बताए ।

बन्दरगाह निर्माणमा ढिलाइले निराशा
बन्दरगाह निर्माणमा ढिलाइ भएपछि यहाँका व्यापारी र उद्योगपतिमा निराशा छाएको छ । जमिन अधिग्रहण भई तारबारको काम अगाडि बढेपछि यहाँका व्यापारी उत्साहित भएका थिए । जमिन अधिग्रहण गर्ने क्रममा तीव्रता दिए पनि सुक्खा बन्दरगाह सञ्चालनका लागि भौतिक संरचना निर्माणले गति लिन नसकेपछि उत्साह घटेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

सुक्खा बन्दरगाह निर्माणको काम सुस्त गतिमा भएपछि आशा मरिसकेको उनले बताए । उनले बन्दरगाह निर्माण हुनेमा शंका व्यक्त गरे । ‘निर्माणको काम हेर्दा बन्दरगाह बन्लाजस्तो लाग्दैन, बन्दरगाहको योजना कागजमा सीमित होला जस्तो छ,’ उनले भने ।

साबिकका मध्य तथा सुदूरपश्चिम क्षेत्रकै गौरवको रूपमा रहेको सुक्खा बन्दरगाहलाई पूर्णता दिन राजनीतिक दलले चासो नदिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले गुनासो गरे । राजनीतिक दलले चासो नदिँदा निर्माणमा ढिलाइ भइरहेको, तर राजनीतिक दलले यसलाई एजेन्डा बनाउन नसकेको गुनासो गरे । ‘राजनीतिक दलले चासो दिएको भए गति लिन्थ्यो होला,’ उनले भने ।

तपाईको प्रतिक्रिया