उधारो भुक्तानी लिन बोलाएर व्यापारीको हत्या - Naya Patrika
eNaya Patrika
  • ePaper

उधारो भुक्तानी लिन बोलाएर व्यापारीको हत्या

लक्ष्मी काफ्ले

दमकका कपडा व्यवसायी खेमराज पौडेललाई उधारो लिएको सामानको भुक्तानी लिन बोलाएर हत्या गरिएको छ । हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कमल गाउँपालिका–५ मंगलबारे घर भई दमक–६ मा व्यवसाय गर्दै आएका ३८ वर्षीय पौडेलको सोमबार साँझ नै हत्या भएको हो । तर, उनको शव मंगलबार बिहान मात्र गौरीगन्ज गाउँपालिका–६ बाह्रदशीस्थित नेपाल–भारत सीमा क्षेत्र देवीगन्जको नालामा भेटिएको थियो । उनलाई गौरीगन्जकै कपडा व्यवसायी सद्दाम हुसेनले उधारो भुक्तानी लिन बोलाएपछि सोमबार दिउँसो श्रीमतीसँगै त्यता गएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार पौडेलको छुरा प्रहार गरी हत्या भएको छ । पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको छ । हत्या अभियोगमा प्रहरीले कपडा व्यवसायी हुसेनलाई पक्राउ गरेको छ ।

घटनास्थलमा पौडेलको मे.७प १७०४ नम्बरको मोटरसाइकल, मोबाइल सेट र ब्याग फेला परेको प्रहरीले जनाएको छ । दमकका डिएसपी श्यामल सुब्बाका अनुसार बिहान ७ बजे गोठालाहरूले शव देखेर प्रहरीमा खबर गरेका थिए ।

प्रहरीका अनुसार पौडेलले गौरीगन्ज गाउँपालिकाका सद्दाम हुसेन नाम गरेका व्यापारीलाई नियमित कपडा बेच्ने गरेका थिए । हुसेनले ७० हजार उधारो तिर्न थियो । उनले लिन बोलाएपछि पौडेल श्रीमती दीपासहित गए ।

गौरीगन्ज पुगेपछि हुसेनले मोटरसाइकलमा तीनजना जान नहुने भन्दै दीपालाई चियापसलमै छाडे । घरमै पैसा दिने भन्दै उनले पौडेललाई लिएर गए । तर, राति ९ बजेसम्म नफर्किएपछि श्रीमती दीपाले गौरीगन्ज प्रहरीमा खबर गरेकी थिइन् ।

यसैबीच दमक उद्योग वाणिज्य संघले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । व्यावसायिक असुरक्षा बढेको जनाउँदै सुरक्षाको ग्यारेन्टी गर्न मागसमेत गरिएको छ । संघका अध्यक्ष राजेन्द्र ढकालले हत्याको सत्यतथ्य तत्काल बाहिर नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

 ७० हजारले लियो ज्यान
खेमराज पौडेलले गौरीगन्जका कपडापसले सद्दाम हुसेनसँग ७० हजार लिनु थियो । हुसेनले सोमबार साँझ पैसा लिन बोलाए । पौडेल आफ्नी श्रीमती दीपासहित दमकबाट गौरीगन्ज पुगे । हुसेनले पौडेलकी श्रीमतीलाई चिया पिउँदै गर्न भन्दै चियापसलमा छाडे । आफूले घरैमा पैसा दिने भन्दै पौडेललाई मोटरसाइकलमा लिएर गए ।

श्रीमती पर्खिरहिन् आएनन् पौडेल
दीपा साँझ ६ बजेदेखि चियापसलमा कुरिरहिन् । तर, ९ बजेसम्म पनि खेमराज फर्केनन् । अनि उनले गौरीगन्ज प्रहरीमा खबर गरिन् । प्रहरीले राति नै हुसेनलाई पक्राउ गरेको थियो । तर, उनले रातभरि हत्याबारे प्रहरीलाई जानकारी दिएनन् ।

तपाईको प्रतिक्रिया