नाडा अटो सो : विद्युतीय कारमा आकर्षण - Naya Patrika
eNaya Patrika
  • ePaper

नाडा अटो सो : विद्युतीय कारमा आकर्षण

नेपालमा विद्युतीय कार भित्रिएको दशक नाघिसक्यो । तर, त्यति लोकप्रिय बन्न सकेको थिएन । काठमाडौंमा मंगलबारदेखि सुरु भएको नाडा अटो सोमा विद्युतीय कार मुख्य आकर्षण बनेको छ । पहिलो दिन मेला अवलोकन गर्न पुगेका अवलोकनकर्ताको ध्यान विद्युतीय कारले तानेको छ ।

अटो मेलामा किया, हुन्डाई, टाटा, रेनो र महिन्द्राले विद्युतीय कार प्रर्दशनीमा राखेका छन् । हुन्डाई, टाटा र रेनोले पहिलोपटक विद्युतीय कार भित्र्याएका हुन् । कियाले पुरानै सोल प्रर्दशनीमा राखेको छ । इटुओ मोडल बिक्री गरिरहेको महिन्द्राले मेलामा नयाँ भेरिटो भित्र्याएको छ ।

एकैपटक तीनवटा ब्रान्ड थपिएपछि नेपालमा विद्युतीय कारको चर्चा चुलिएको हो । हुन्डाईले सेडान आयोनिक प्रर्दशनीमा राखेको छ । छिट्टै एसयुभी कोना भित्र्याउने लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बताए । उनी भन्छन्, ‘हामी २०२२ सम्म २५ विद्युतीय मोडल भित्र्याउँछौँ ।’

महिन्द्राको नेपालमा तीनवटा विद्युतीय मोडल उपलब्ध छ । मेलामा रेनो र टाटाले विद्युतीय भर्सन सार्वजनिक गरे पनि बिक्री सुरु भएको छैन । तर, छिट्टै चार्जिङ स्टेसन बनाएर गाडी बिक्री सुरु गरिहाल्ने तयारी छ । निकट भविष्यमै सुजुकीले पनि विद्युतीय कार ल्याउने तयारी गरिरहेको छ ।

नेपाल भित्रिने पहिलो विद्युतीय कार रेभा हो । पछि, रेभा कम्पनी महिन्द्राले किन्यो । नेपालमा महिन्द्रा इटुओ विभिन्न भर्सनमा आइरहेको छ । कियाको सोल र बिवाइडीले पनि सानोतिनो बजार बनाइसकेका छन् । बिस्तारै विद्युतीय कारको बजार बढ्दै जाने बताउँछन्, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष, शम्भु दाहाल ।

किया गाडी बिक्रेता सुहृद घिमिरे विद्युतीय कारको प्रवद्र्धनमा आक्रमक ढंगले लागिरहेका छन् । उनी विभिन्न ठाउँमा फास्ट चार्जिङ स्टेसन राख्दै छन् । लामो दूरीमा समेत विद्युतीय कार कुदाउन सहज होस् भनेर राजमार्गमा पनि चार्जिङ स्टेसन राखिएको उनी बताउँछन् । किया सोलका लागि विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी चार्जिङ स्टेसन राखिँदै छ । अरू गाडी कम्पनी पनि चार्जिङ स्टेसनका लागि अग्रसर देखिएका छन् । सरकार पनि ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाएर विद्युतीय सवारीको प्रयोग बढाउने रणनीतिमा छ ।

सरकार विद्युतीय सवारीको प्रवद्र्धनमा जुटेको हो । विभिन्न सरकारी निकायले विद्युतीय कार किनिसकेका छन् । विद्युतीय कारको भन्सार कम छ । बर्सेनि चर्को नवीकरण दस्तुर तिर्नुपर्दैन । विद्युतीय गाडीका लागि ८० प्रतिशतसम्म ऋण पाइन्छ । जबकि पेट्रोलियम गाडीमा ६५ प्रतिशत मात्र ऋण पाउन सकिन्छ ।

हुन्डाई आयोनिक


कोरियन कम्पनी हुन्डाईको विद्युतीय कार आयोनिक मेलाकै आकर्षण बनेको छ । आकर्षक डिजाइनमा बनेको आयोनिकवरिपरि कार पारखी झुम्मिएका देखिन्थे । मेला अवलोकन गर्न पुगेका धेरैलाई आयोनिकले लोभ्याएको थियो । सेडान सेगमेन्टको आयोनिक दक्षिण कोरियामा निर्मित कार हो ।

आगन्तुक कार पारखी भन्दै थिए, ‘आयोनिकले नेपालको विद्युतीय कार बजार तताउन सक्छ ।’ आयोनिक फुल चार्ज भएपछि अधिकतम २ सय ५० किलोमिटरसम्म दौडिन सक्छ । गाडी किन्दा चार्जिङ केबल सित्तैमा पाइन्छ । चार्जिङ केबलबाट ब्याट्री फुल चार्ज हुन १२ घन्टा लाग्छ । होम एसी चार्जरबाट सवा ४ घन्टामा फुल चार्ज हुन्छ । फास्ट चार्जरले ब्याट्री ३० मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ । यो कार गुडिरहेकै वेलामा झन्डै १० प्रतिशत चार्ज हुन्छ । हुन्डाईको नेपाली विक्रेता लक्ष्मी हुन्डाईले ठाउँ–ठाउँमा फास्ट चार्जर जडान गर्ने योजना बनाएको छ । यो गाडी लामो दूरीमा पनि लैजान सकिन्छ । कारको अधिकतम गति १ सय ६५ किमी प्रतिघन्टा छ । कारले ० देखि १०० किलोमिटर गति ९.९ सेकेन्डमै भेट्टाउन सक्छ ।

नेपालमा आयोनिकको ५२ लाख ९६ हजार पर्छ । पहिलोपटक नेपाल भित्रिएको आयोनिक लोकप्रिय हुने हुन्डाई विक्रेता अञ्जन श्रेष्ठको विश्वास छ । केही समयभित्रै विद्युतीय एसयुभी कार ‘कोना’ ल्याउन लागेको उनी बताउँछन् । नेपालमा कोनाको मूल्य ६०–६५ लाख पर्ने अनुमान छ ।

बिवाइडी 
नेपालमा बिवाइडीको विद्युतीय कार उपलब्ध छ । तर, बिवाइडी मेलामा राखिएको छैन । यो गाडी सरकारी निकायमा लोकप्रिय छ । राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालयले बिवाइडी कार खरिद गरेको छ । बिवाइडीको नेपालमा उपलब्ध मोडलको मूल्य ६० लाख रुपैयाँको हाराहारी छ । यसको अधिकतम गति १ सय ४० किमि प्रतिघन्टा छ । आकर्षक डिजाइनमा उपलब्ध कार लोकप्रिय बन्दै छ । कम्पनीले नेपालका ठाउँ–ठाउँमा चार्जिङ स्टेसन राखेर विद्युतीय कारको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

हुन्डाई आयोनिक


नेपालमा महिन्द्राको विद्युतीय कार भेरिटो भित्रिएको छ । अटो मेलामा भेरिटो सार्वजनिक गरिएको हो । यसअघि भित्रिएको महिन्द्रा इटुओ र इटुओ प्लस लोकप्रिय भइसकेको छ । नेपालमा इटुओ अढाई सयभन्दा बढी बिक्री भइसकेको अग्नि इन्कर्पोरेटले जनाएको छ । अहिले इटुओ दुईवटा मोडलमा उपलब्ध छ ।

महिन्द्रा भेरिटो अझ आकर्षक डिजाइनमा उपलब्ध छ । सेडान सेगमेन्टको भेरिटोको मूल्य २८ लाख ८० हजार तोकिएको छ । यो गाडी फुल चार्ज भएपछि १ सय ४० किमी दौडिन सक्छ । सामान्य चार्जरबाट गाडी फुल चार्ज हुन पौने ९ घन्टा लाग्छ । तर, फास्ट चार्जरबाट पौने दुई घन्टामै ब्याट्री फुल चार्ज हुन्छ । कम्पनीले ठाउँ–ठाउँमा फास्ट चार्जर जडान गर्ने योजना ल्याएको छ ।

नेपालीमा महिन्द्राका तीनवटा विद्युतीय भेरियन्ट उपलब्ध छन् । महिन्द्रा इटुओ, भेरिटो र भ्यान । इटुओ र भ्यान फुल चार्ज भएपछि १ सय १० किमी दौडिन सक्छ । विद्युतीय भ्यानको मूल्य २४ लाख ६० हजार छ ।

रेनो जोई


अटो मेलामा रेनोले विद्युतीय कार सार्वजनिक गरेको छ । मेलामा ‘रेनो जोई’ प्रर्दशनीमा राखिएको छ । तर, तत्काल बिक्री सुरु हुने छैन । आकर्षक डिजाइनमा रहेको रेनो जोईको मूल्य सार्वजनिक गरिएको छैन । रेनो जोईमा अत्याधुनिक प्रविधि जडित छ । नेपाल भित्रिएको छोटो अवधिमै लोकप्रिय बनेको रेनोले विद्युतीय सेगमेन्टमा पनि उत्तिकै सफलता पाउने विश्वास छ । कारको भित्री सजावट पनि उत्कृष्ट छ । रेनोमा तीनवटा चार्जिङ अप्सन छन् । गाडीको ब्याट्री २२ किलोवाटको चार्जरबाट पौने दुई घन्टामा ८० प्रतिशत चार्ज हुन्छ ।

गाडीमा ५ जनाले आरामदायी यात्रा गर्न सक्छन् । कारमा अटोमेटिक एयर कन्डिसनिङ, इलेक्ट्रिक फ्रन्ट विन्डोज, एन्टीलक ब्रेकिङ सिस्टम, एयर ब्यागलगायत सुविधा राखिएको छ । यसको अधिकतम गति १ सय ३५ किमी छ । यसले १३.५ सेकेन्डमै ०–१०० किमी गति लिन सक्छ ।

टाटा टिगोर


अटो मेलामा टाटाले विद्युतीय कार ‘टिगोर’ प्रर्दशनीमा राखेको छ । तर, तत्कालै टिगोर बिक्री गर्ने योजना भने छैन । चार्जिङ स्टेसन बनाएपछि विद्युतीय टिगोर बिक्री सुरु गरिने सिप्रदी ट्रेडिङले जनाएको छ । यसको मूल्य पनि खुलाइएको छैन । टिगोर पनि आकर्षक डिजाइनमा उपलब्ध हुनेछ ।
टिगोर नर्मल चार्जरबाट ३ सय ६० मिनेटमा फुल चार्ज हुन्छ । फास्ट चार्जरबाट फुल चार्ज हुनका लागि ९० मिनेट लाग्छ । यो गाडी फुल चार्ज भएपछि १ सय ४९ किलोमिटर कुदाउन सकिन्छ । यसको अधिकतम गति सय किलोमिटर छ । ग्राउन्ड क्लियरेन्स १ सय ७० मिलिमिटर छ ।

किया सोल


नेपालमा कियाको विद्युतीय कार ‘सोल’ लोकप्रिय छ । अटो मेलामा सोल पनि आकर्षणको केन्द्र बनेको छ । यसमा रहेका स्मार्ट फिचरले विलासी यात्राको अनुभव दिलाउँछ । गाडी शक्तिशाली छ । गाडीमा सुरक्षाका लागि ६ वटा एयर ब्याग छन् । ब्याट्री ब्याकअप ड्याबोर्डमै हेर्न सकिन्छ । ब्लुटुथ कनेक्टिभिटी, पावर विन्डोज, पावर स्टेरिङ, पावर मिरर, एसी, सन रुफ आकर्षक सुविधा हुन् ।

साधारण चार्जरबाट किया सोल फुल चार्ज हुन करिब १२–१३ घन्टा लाग्छ । फास्ट चार्जरबाट ३० मिनेटमै फुल चार्ज हुन्छ । यो गाडी फुल चार्ज भएपछि अढाई सय किमिसम्म दौडिन सक्छ । टायरमा हावा कम भएको र ब्याट्री ब्याकअप ड्यासबोर्डमै हेर्न सकिन्छ । दुईवटा भेरियन्टमा उपलब्ध किया सोलको मूल्य ५८ लाख र ५६ लाख छ ।

तपाईको प्रतिक्रिया