इतिहास रच्ने तयारीमा नेपाल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

इतिहास रच्ने तयारीमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार माल्दिभ्सविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छ । ढाकामा जारी १२औँ संस्करणमा दाबेदार मानिए पनि समूह चरणको पहिलो खेलमा पाकिस्तानसँगको अप्रत्याशित पराजयका कारण संकटमा परेको नेपाल प्रतियोगितामा राम्रो पुनरागमन गर्न सफल भएको थियो ।

पहिलो हारपछि समूह चरणका अन्य दुई खेलमा जितसँगै आफूअनुकूल नतिजा आएपछि नेपाल समूह एको विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो । नेपालको यो चौथो साफ सेमिफाइनल यात्रा हो । यसअघि सन् १९९९, २०११ र २०१३ मा सेमिफाइनलमा प्रतिस्पर्धा गरे पनि नेपाल निरन्तर पराजित हुँदै आएको छ ।

माल्दिभ्सविरुद्ध खराब इतिहास

साफ च्याम्पियनसिपमा नेपालको माल्दिभ्सविरुद्ध खराब इतिहास छ । नेपालले साफमा हराउन नसकेको राष्ट्र माल्दिभ्स हो । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल निकै खस्किएका कारण नेपाललाई केही सहज भने छ । समूह चरणमा खराब प्रदर्शनका बाबजुद माल्दिभ्स मात्र १ अंक जोडी भाग्यमानी बन्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो । श्रीलंकासँगको बराबरी र भारतसँग पराजित भए पनि चिट्ठामा माल्दिभ्स छनोट भएको थियो ।

नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा नेपालले ४ जित र ४ बराबरी खेलेको छ भने ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खान पुगेको छ । साफमा नेपालले माल्दिभ्ससँग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी र ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खान पुगेको छ ।

माल्दिभ्सलाई हराउँछौँ

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई हराउन नेपाल सक्षम भएको दाबी गरेका छन् । उनले भने, ‘हामी माल्दिभ्सलाई हराउने क्षमता राख्छौँ । समूह चरणबाटै राम्रो लयमा रहेकाले सोही लयलाई निरन्तरता दिन नेपाल सफल हुन्छ ।’ प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक महर्जनले खेलाडीले आफ्नो शतप्रतिशत मिहिनेत लगाउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले जतिसक्दो राम्रो गर्ने प्रयास गरिरहेका छौँ । हाम्रा प्लेइङ सेट मात्र होइन, बेन्च पनि बलियो भएको छ ।’ निकै आत्मविश्वासी देखिएका महर्जनले सम्पूर्ण देशको ध्यान साफ च्याम्पियनसिपमा भएकाले सोहीअनुसारको प्रदर्शन गर्नुपर्ने दायित्व नेपालसँग रहेको बताए ।

प्रदर्शन सुधार्छौं

माल्दिभ्सका प्रशिक्षक पिटरले नेपालविरुद्ध मैदानमा उत्रँदा प्रदर्शनमा सुधार आउने विश्वास व्यक्त गरे । नेपाली टोलीले उच्च प्रदर्शनका साथ खेलिरहेको भन्दै उनले सधैँ टोलीलाई भाग्यको साथ नरहने भएकाले अब सानो गल्ती टिमका लागि महँगो हुने बताए । यद्यपि, उनले नेपाललाई इतिहास हेरेर नभई वर्तमानमा पनि पराजित गर्न सक्ने सामथ्र्य रहेको भन्न छुटाएनन् ।

भारतलाई पाकिस्तानको चुनौती

बुधबार नै हुने दोस्रो सेमिफाइनल भिडन्तमा साफ फुटबलमा सर्वाधिक सफल टिम भारतले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो सेमिफाइनलमा समूह एको उपविजेता बनेको पाकिस्तानले समूह बीको विजेता बनेको भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले पाकिस्तानको चुनौती सहज रूपमा पन्छाउने विश्वास लिँदा पाकिस्तान पनि भारतलाई हराउँदै सनसनीपूर्ण इतिहास बनाउने ध्याउन्नमा छ ।

तपाईको प्रतिक्रिया