डब्ल्युटिओलाई ट्रम्पको धम्कीको अर्थ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

डब्ल्युटिओलाई ट्रम्पको धम्कीको अर्थ

विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले आफ्नो संरचना सुधार नगरे अमेरिकाले हात झिक्ने धम्की राष्ट्रपति ट्रम्पले दिएका छन् । यसो त यस्तो धम्की ट्रम्पले यसअघि पनि धेरैपटक दिएका थिए । तर, यसपटकको धम्की बढी नै आक्रामक देखिएको छ ।

ट्रम्पका पहिलेका धम्कीलाई धेरैले गम्भीरतापूर्वक लिएका थिएनन् । यद्यपि, उनको पछिल्लो धम्कीपछि भने सम्भावित खतराका लागि तयार रहनुपर्ने विश्लेषण केही समालोचकले गर्न थालेका छन् । ट्रम्पको बढ्दो अहंलाई हेर्ने हो भने उनले तर्कहीन निर्णय गर्ने सम्भावना धेरै छ ।

सन् १९४७ मा डब्लुटिओ सुरुवाती चरणमा रहँदा विश्वका २३ राष्ट्रले कर तथा व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्ता देशबीचको व्यापारमा करको दायर घटाउने तथा व्यापार प्रक्रियालाई सहज बनाउने उद्देश्यले सो सम्झौता भएको थियो । सन् १९९५ मा सो सम्झौतामार्फत नयाँ व्यवस्थाले प्रतिस्थापन गरियो ।

नयाँ कर समझदारीका लागि सन् १९४७ देखि १९९५ सम्म अमेरिकाले प्रस्ताव गरेझैँ सदस्य राष्ट्रबीच आठ चरणसम्म छलफल भएका थिए । अघिल्ला ६ चरणका छलफल कर घटाउन केन्द्रित थिए भने बाँकी दुई छलफलमा सेवा क्षेत्रमा पनि व्यापार खुला गर्ने समझादारी तथा नियमबारे केन्द्रित थिए ।

दोस्रो विश्वयुद्धपश्चात् उत्पादनमुखी उद्योग तथा अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धामा अमेरिका अगाडि निस्कियो । अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकाले सबैभन्दा ठूलो लाभ लिइरहेको थियो । यसर्थ, सो समयमा व्यापार कर घटाउँदा अमेरिकी उत्पादनलाई विश्वभर पुर्‍याउन सहज हुन्थ्यो ।

यसरी आफ्नो व्यापार विस्तारमा अवरोध नहोस् भन्ने मनसायले अमेरिकाले व्यापार कर घटाउने पक्षमा वकालत गरेको थियो । तर, पछिल्लो समय विश्वव्यापीकरण तथा अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा भएको दु्रत विकासले गर्दा बहुराष्ट्रिय व्यापार व्यवस्था लागू भएसँगै धेरै मुलुक अमेरिकाको प्रतिस्पर्धीका रूपमा उदाए । अनि, डब्लुटिओले निरन्तर सदस्य मुलुक थप्दै जाँदा अमेरिकाले आफूमाथि चुनौती थपिएको अनुभव गर्‍यो ।

डब्लुटिओको वर्तमान सदस्य संख्या १ सय ६४ पुगेको छ । अनि, विश्व व्यापारमा आफ्नो स्वार्थअनुरूप डब्लुटिओलाई अमेरिकाले दुरुपयोग गर्ने वा प्रभावमा पार्ने युग पनि अन्त्य भइसकेको छ । स्वयंले ‘अमेरिका पहिलो नीति’ लागू गरेर डब्ल्युटिओले अमेरिकी स्वार्थमा अझै बढी ध्यान दियोस् भन्ने चाहना अमेरिकाको छ ।

आफ्नो स्वार्थका लागि डब्लुटिओका आधारभूत नियम तथा प्रक्रियालाई संशोधन तथा पुनर्संरचना गर्नुपर्ने माग अमेरिकाले गरिरहेको छ । अहिले आएर डब्ल्युटिओ छाड्ने ट्रम्पको धम्की ‘ब्लाकमेल’सिवाय अरू केही हुन सक्दैन । अमेरिकाको स्वार्थअनुरूप डब्ल्युटिओ चल्न नमानेकाले ट्रम्पको धम्की आएको हो ।

उनको धम्कीलाई शाब्दिक चेतावनीका रूपमा बुझ्न सकिन्छ । अमेरिकाको स्वार्थअनुसार डब्ल्युटिओले नियम परिमार्जन नगरे अमेरिका बाहिरिने र आफ्नो स्वार्थअनुरूप स्वयंले नयाँ नियम बनाउने धम्कीका रूपमा ट्रम्पको चेतावनीलाई बुझ्न सकिन्छ ।

(लेखक चाइना सोसाइटी फर वल्र्ड ट्रेड अर्गनाइजेसन स्टडिजका उपाध्यक्ष हुन्)
ग्लोबल टाइम्सबाट

तपाईको प्रतिक्रिया