तुम्लिङटारको फड्को - Naya Patrika
eNaya Patrika
  • ePaper

तुम्लिङटारको फड्को

टारहरू नेपालका गजबका सम्पदा हुन् । नदीभन्दा अलिक माथि समथर परेर बसेका यस्ता टार नेपालका पूर्व, पश्चिम अनेक ठाउँमा छन् । यस्ता टारको एउटा विशेषता के हुन्छ भने वरपरबाट नदी बगिरहेको भए पनि यहाँ पानीको अभाव हुन्छ । सिँचाइ हुने त कुरै भएन ।

निकै परबाट ठूलै खर्च गरेर पानी ल्याउन सकिने अवस्था भए पनि, आम रूपमा टारहरू खेतीयोग्य जमिन र बसोवासयोग्य भूबनोट भए पनि पानीको अभाव झेल्नुपर्ने बाध्यता भएका जमिन हुन् । लामो समयदेखि टारहरूलाई सिँचित गरेर कृषि उत्पादन बढाउने र कृषकको जीवनस्तर उकास्ने प्रयास हुँदै आएका छन् । तर, सबैले त त्यसरी सिँचाइ गर्न कुलो या नहर बनाएर पानी ल्याउने स्रोतको पनि अभाव झेल्छन् । यी समस्याको समाधानका रूपमा पछिल्लो समय लिफ्ट सिँचाइ प्रणाली लोकप्रिय बन्दै गएको छ ।

पछिल्लो प्रविधिले त नजिकको खोलाबाट पानी तान्न, खोला या नदीको धार तीव्र छ भने ऊर्जासमेत नचाहिने हुँदै गएको छ । यसैबीच संखुवासभाको तुम्लिङटारका किसानले अरुण नदीबाट झन्डै एक किलोमिटरको पाइपमार्फत पानी तानेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने यो प्रविधिको प्रयोगका लागि आधारमा एउटा पोखरी बनाइएको छ भने टारमा पुगेपछि ठूलो ‘रिजभ्र्वायर’ बनाएर पानी जम्मा गरी किसानको जमिनसम्म कुलोको माध्यमबाट पु¥याउने व्यवस्था गरिएको छ ।

दुुई सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेपछि अब किसानले परम्परागत सुक्खा जमिन या वर्षामा भर पर्नुपर्ने खेती प्रणाली छाडेर बाह्रै महिना सिँचाइ सुविधासँगै व्यावसायिक खेती प्रणालीमा फड्को मार्ने भएका छन् । यसबाट आफूसँग उपलब्ध स्रोतलाई प्रयोग गरेर किसानहरू आम्दानी बढाउन सफल हुनेछन् । एक करोडको लागतमा व्यवस्था गरिएको यो प्रणालीले ३५ परिवारको जीवनमा ठूलै परिवर्तन आउने आशा गरिएको छ ।

यो नेपालका अरू सयौँ गाउँका लागि पनि एउटा गतिलो उदाहरण हो । नेपालमा अधिकांश बस्ती नदीकिनारमा छन् । तर, गाउँमुनिबाट नदी बगिरहने र गाउँमा रहेका खेतबारी भने सुक्खा या सिँचाइविहीन हुने अवस्था सबैजसो नदीकिनारमा विद्यमान छ । यसले किसानलाई परम्परागत कृषि प्रणालीबाट बाहिर निस्कन दिएको छैन । परम्परागत प्रणालीमा उत्पादकत्व अत्यन्त कम छ ।

तरकारी खेती, फलफुल तथा अन्य नगदे बाली पनि सिँचाइ अभावमा राम्रो हुँदैन । न अफ्नो थातथलो छाडेर हिँड्न मिल्ने, न भएको स्रोतबाट राम्रो आम्दानी गर्न सकिने एउटा चेपुवाको अवस्थामा परेका किसानको जीवनस्तर कहिल्यै उकासिन सक्दैन ।

तुम्लिङटारका किसानले जुन प्रयोग गरेका छन् र अन्य कतिपय ठाउँका किसानले पहिल्यै थालेका पनि छन्, त्यस्तो लिफ्ट सिँचाइ प्रविधिलाई सबैजसो टारमा विस्तार गर्न सकियो भने कृषिको व्यवसायीकरण गर्न, स्थानीय तहमै रोजगारी सिर्जना गराउन, कृषिको उत्पादकत्व वृद्धि गर्न तथा किसानको जीवनस्तर उकास्न सहयोग पुग्छ । तुम्लिङटारको अनुभवलाई अन्य ठाउँमा विस्तार गर्न स्थानीय सरकारले पहल गरून् । आखिर आर्थिक विकास र समृद्धि यस्तै–यस्तै कामको प्रतिफलका रूपमा नै प्राप्त हुने न हो ।

तपाईको प्रतिक्रिया