सवारीसाधन खरिद गर्नुभयो ? बिमा गर्न नबिर्सनुहोस् - Naya Patrika
eNaya Patrika
  • ePaper

सवारीसाधन खरिद गर्नुभयो ? बिमा गर्न नबिर्सनुहोस्

मुना कुँवर

केही समयअघि सवारीसाधनमा सीमित व्यक्तिको मात्रै पहुँच थियो । सवारीसाधनलाई फजुल सौखको रूपमा हेरिन्थ्यो । त्यसैले मानिसले आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि मात्रै सवारीसाधनको विषयमा सोच्थे । तर, अहिले समयमा परिवर्तन भएको छ । सवारीसाधन मानिसको आधारभूत आवश्यकतासँग जोडिन थालेको छ । त्यसैले नेपालमा निजी सवारीसाधन खरिद गर्ने संस्कृतिको विकास हुन थालेको छ ।

नेपालमा बढ्दै गएको धुवाँ–धुलो अनि अव्यवस्थित ट्राफिकजामका कारण मानिसहरू आफ्नै सवारीसाधनप्रति आकर्षित हुन थालेका हुन् । आजको दिनमा बैंकबाट कर्जा लिएर भए पनि मानिसहरू सवारीसाधन किन्न चाहन्छन् । किनभने यसले सहरी क्षेत्रको जीवनशैली सहज बनाइदिएको छ । तर, सवारीसाधनले जीवनशैलीलाई जति सहज बनाएको छ, उत्ति नै त्रासदीपूर्ण पनि ।

कमजोर ट्राफिक नियम, अव्यवस्थित सडक, मानिसमा चेतनाको अभावलगायत कारणले सवारीसाधन दुर्घटनाको क्रम पनि उत्तिकै बढेको छ । साथै सवारीसाधन चोरी हुने क्रम पनि बढेको छ । यस्ता घटनाले मध्यमवर्गीय मानिसलाई आर्थिक र मानसिक रूपमा विचलित बनाउँछ । किनभने बैंकबाट लिएको कर्जा वा जेनतेन गरी खरिद गरेको सवारीसाधन दुर्घटना हुँदा वा चोरी हुँदा त्यसबाट हुने आर्थिक संकटबाट उत्रिन मानिसलाई वर्षौं लाग्छ ।

हुन त दसा कहिल्यै बाजा बजाएर आउँदैन । जब आउँछ, तब मानिसलाई विक्षिप्त बनाएर जान्छ । उसो त दसाको दिशा कहिल्यै परिवर्तन गर्न सकिँदैन । तर, यसबाट हुने आर्थिक हानिलाई भने कम गर्न सकिन्छ । अर्थात् सवारीसाधन दुर्घटना वा चोरी भएको खण्डमा हुने आर्थिक क्षतिलाई कम गर्ने उत्तम विकल्प भनेको बिमा हो । त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस हुन्छ ।

तर, सवारीसाधनको ब्रान्डप्रति सजग हुने नेपालीहरू यसको सुरक्षाको विषयमा भने उदासीन देखिन्छन् । दुर्घटना कुनै पनि वेला हुन सक्छ । मानिसहरू लाखौँ–करोडौँ लगानी गरेर सवारीसाधन खरिद गर्छन्, तर हजार रुपैयाँ भुक्तान गरी सुरक्षण भने गर्न चाहँदैनन् । उसो त सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बिमालाई अनिवार्य गरेको छ । तर, अझै पनि नेपालमा भित्रिएका सबै सवारीसाधन बिमाको दायरामा आउन सकेका छैनन् ।

नेपालमा मोटर बिमाको अवस्था
बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा मोटर बिमाबापत कम्पनीले ८ अर्ब ९७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीहरूले २२ अर्ब ३५ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए । कम्पनीहरूले जारी गरेको कुल बिमालेखमध्ये मोटर बिमाको हिस्सा ४० दशमलव १६ प्रतिशत रहेको छ ।

मोटर बिमाका प्रकार
मोटरअन्तर्गत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारीसाधन मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्र्याक्टर आदि पर्छन् । यान्त्रिक शक्तिले चल्ने भए पनि रेल र स्टिमर मोटर बिमाको परिधिभित्र पर्दैनन् । यसरी हेर्दा दुईपांग्रे र चारपांग्रे इन्धनद्वारा चलाइने साधन नै मोटर बिमाअन्तर्गत पर्छन् । नेपालमा हाल सञ्चालित १७ निर्जीवन बिमा कम्पनीले विभिन्न खालका मोटर बिमा सेवा प्रदान गरिरहेका छन् ।

तेस्रो पक्ष बिमा
आफ्नो सवारीसाधनले अर्को सवारीसाधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पु¥याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु नै तेस्रो पक्ष बिमा हो । यस योजनाअनुसार आफ्नो सवारीसाधनले अन्य साधन वा सम्पत्तिलाई हानि पु-याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारीधनीले आर्थिक भार लिनु पर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारीधनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजायसमेत भोग्नुपर्ने हुन्छ ।

तेस्रो पक्ष बिमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पु-याएको अवस्थामा अधिकतम २५ लाख र सामानको क्षति भएमा अधिकतम २५ लाख भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा सामानमा क्षति पु-याएमा अघिकतम ८० लाख भुक्तानी गर्छ । त्यस्तै, व्यावसायिक गाडीबाट भएको दुर्घटनामा अधिकतम ५० लाख भुक्तानी गर्छ ।

प्योकज बिमा
दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षति, दुर्घटनास्थलबाट मोटर तान्ने खर्च, आफ्नो मोटरले अरूको मोटर, सम्पत्ति, बटुवा वा पक्षीचौपाया आदिलाई क्षति वा हानि पु-याउने अवस्थाबाट जोगिन यो बिमा गरिन्छ । यस बिमासँगै थप बिमाशुल्क तिरेर अन्य जोखिम पनि थप गर्न सकिन्छ । जस्तै, सवारीचालक तथा अन्य कर्मचारीको बिमा, यात्रुपक्ष बिमा ।

सवारीचालक तथा अन्य कर्मचारी बिमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा व्यहोर्नुपर्ने आर्थिक जोखिम वहन गर्छ । बिमा समितिको नयाँ व्यवस्थाअनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५–५ लाख रुपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च तीन लाख भुक्तानी गर्छ । त्यस्तै, यात्रुबिमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा व्यहोर्नुपर्ने दायित्वबाट जोगाउँछ । यात्रुपक्ष बिमांक रकम बढाएर सरकारले ५ लाख रुपैयाँ बनाएको छ भने मेडिकल खर्च ३ लाख रुपैयाँ पु-याएको छ । यसअघि यात्रुपक्ष बिमांक रकम ५ लाख रुपैयाँ थियो ।

मोटरसाइकलको हकमा पनि बिमा समितिले नयाँ व्यवस्था गरेको छ । मोटरसाइकलको व्यक्तिगत दुर्घटना हुँदा चालक र पछाडि बस्ने व्यक्तिको मृत्यु भएमा कम्पनीले ५–५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै उपचार खर्चबापत कम्पनीले १–१ लाख रुपैयाँ भुक्तानी गर्छ । यसअघि पनि चालक र पछाडि बस्नेको मृत्यु भएमा कम्पनीले १–१ लाख रुपैयाँ भुक्तानी गथ्र्यो भने उपचार खर्चबापत ५÷५ हजार रुपैयाँ मात्रै भुक्तानी गरिन्थ्यो ।

मोटर बिमा कसरी गर्ने ?
बिमा गर्दा आफूलाई विश्वास लागेको कम्पनी छनोट गर्नुपर्छ । बिमाका लागि ब्लुबुकको फोटोकपी वा सोरुमले दिएको भ्याट बिलको कपी, सवारीधनीको परिचयपत्र खुल्ने प्रमाणपत्र र एक कपी फोटो आवश्यक पर्छ । यी कागजपत्र जुटाइसकेपछि एउटा फारम भर्नुपर्छ, जुन कम्पनीमा उपलब्ध हुन्छ ।

साथै सवारीधनीले केवाइसी फारम पनि भर्नुपर्छ । यदि सवारीसाधन कुनै संस्थाको नाममा छ भने संस्थाको प्रबन्धपत्र नियमावलीको एक कपी फोटोकपी, संस्था प्रमुखको परिचयपत्र खुल्ने प्रमाणपत्र तथा बिमा कम्पनीसँग डिल गर्ने व्यक्तिको परिचयपत्र पनि बुझाउनुपर्छ । उल्लिखित कागजपत्र बुझाइसकेपछि कम्पनीको प्रतिनिधि गएर साधनको परीक्षण गरी फोटो खिच्छ । कम्पनीले पनि बिमा सम्झौतालाई स्वीकार गरेपछि दुई पक्षबीचको बिमा सम्झौता हुन्छ । यदि एक वर्षसम्म पनि सवारीसाधनको दुर्घटना भएन भने अर्को वर्ष कम्पनीले प्रिमियममा छुटको सुविधा प्रदान गर्छ ।

दाबी भुक्तानी कसरी गर्ने ?
तेस्रो पक्ष बिमाको दाबी गर्न दुर्घटना हुनासाथ कम्पनीलाई खबर गर्नुपर्छ । साथै प्रहरीलाई पनि खबर गर्नुपर्छ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेयर खटाउन पनि सक्छ । कम्पनीको प्रतिनिधि आफैँ गएर पनि हेर्न सक्छ । कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । जस्तै, तेस्रो पक्ष को हो ? कहाँ मरेको हो ? त्यसको प्रहरी प्रतिवेदन, लास जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यालयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदि माग्न सक्छ । मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ ।

त्यस्तै, दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाहीँ बिमित अर्थात् सवारीधनीलाई पनि भुक्तानी गर्छ । तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारीधनीले नै सबै खर्च व्यहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसका लागि भने कागजपत्र बुझाउनुपर्छ । यसैगरी अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नै सम्बन्धित व्यक्ति (परिवार÷नातेदार) लाई भुक्तानी गर्ने नियम पनि छ ।

 

तपाईको प्रतिक्रिया