समलिंगी सम्बन्धमाथिको न्याय - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

समलिंगी सम्बन्धमाथिको न्याय

मनिल सुरी
भारतीय सर्वोच्च अदालतले गतसाता एक ऐतिहासिक फैसलामार्फत समलिंगी सम्बन्धलाई वैधानिकता प्रदान गर्‍यो । बेलायती औपनिवेशिक सरकारले समलिंगी सम्बन्धलाई अपराधका रूपमा गरेको व्याख्यालाई यस फैसलाले उल्टाइदिएको छ । भारत बेलायतको उपनिवेश रहँदा कानुनी व्यवस्था ‘दफा ३७७’ जारी गर्दै समलिंगी सम्बन्धलाई अपराधको दर्जामा राखिएको थियो ।

Photo : livemint

प्रसिद्ध जर्मन लेखक गुटेको ‘म जे छु म त्यही हुँ, त्यसैले म जस्तो छु त्यसैगरी मलाई बुझियोस्’ भन्ने भनाइबाट सर्वोच्चको फैसला सुरु भएको छ । यस फैसलालाई युक्तिसंगत व्याख्या गर्न मनोवैज्ञानिक तथा वैज्ञानिक ज्ञानको सहायता लिइएको छ । इन्द्रेणीलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै थरिथरीका रंगले मानवतारूपी चित्रकलामाथि सुन्दरता भर्ने व्याख्यासमेत फैसलामा गरिएको छ ।

मानवअधिकार र विविधताको दृष्टिकोणबाट हेर्दा फैसलालाई हृदयस्पर्शी न्यायको रूपमा लिन सकिन्छ । फैसलाले नयाँ भारत निर्माणका लागि विभेदको बाटो त्यागेर सहिष्णुताको बाटो अंगाल्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

इतिहासलाई फर्किएर हेर्दा बेलायती औपनिवेशिक सरकारले १९औँ शताब्दीमा दफा ३७७ लागू गरेको थियो । सन् २००९ मा अस्थायी रूपमा यसलाई खारेज गर्ने प्रयास पनि भयो । तर, सन् २०१३ मा दफा ३७७ खारेजीविरुद्ध कथित नैतिकतावादी तथा धार्मिक समूहले हालेको रिटलाई दुईजना न्यायाधीशको संयुक्त इजलासले सदर गर्दै त्यही पुरानो औपनिवेशिक व्यवस्थालाई ब्युँताइदियो ।

भारतमा समलिंगी जनसंख्या अत्यन्त न्यून भएकाले सुरक्षा अधिकार दिन पर्याप्त आधार नभएको फैसला इजलासले गर्‍यो । तर, समलिंगी सम्बन्धको मुद्दामा सर्वोच्चको हालको फैसलाले सन् २०१३ कोे फैसलालाई त्रुटिपूर्ण तथा संविधानको मर्मविपरीत भनी खारेज गरिदिएको छ ।

सर्वोच्चको हालको फैसलाले समलिंगी जनसंख्याको आकारलाई न्यायको आधार बनाउने प्रयासलाई अर्थहीन भनी व्याख्या गरिदिएको छ । समलिंगी अधिकारको सन्दर्भमा अन्तर्राष्ट्रिय व्यवस्था तथा घोषणामाथि समर्थन जनाउँदै अहिलेको फैसला आएको छ । तर, सन् २०१३ को फैसलाचाहिँ विदेशी निर्णयबाट प्रभावित नहुने घोषणासाथ आएको थियो ।

पाँच न्यायाधीशको पूर्ण इजलासले सर्वसम्मतिबाट गरेको फैसलाले पश्चिमा प्रजातन्त्रको ज्योति भारतमा परावर्तित गर्ने प्रयास गरेका छन् । साथै, समलिंगीहरू विश्वभर अपहेलित तथा नारकीय जीवन बिताइरहनुपरेको परिवेशमाझ आएको यस फैसलाले नयाँ भारत बनाउने अभियानमा समलिंगी जनसंख्यामाथि आशाको किरण छरेको छ ।

नेपाल, फिलिपिन्स र दक्षिण अफ्रिकालगायत गैरश्वेत मुलुकका समलिंगीसम्बन्धी नजिर हेर्ने हो भने भारतबाहिर पनि न्यायका प्रयास भएको देखिन्छ । यी नजिरका आधारमा अन्य मुलुकका अदालतले पनि भविष्यमा यस्तै फैसलालाई मार्गप्रशस्त गर्न सक्छन् । त्यसमा पनि औपनिवेशिक कालखण्डमा भएका व्यवस्था खारेज गर्ने बाटो खुल्नेछ ।

भारतजस्ता असंलग्न राष्ट्रका अदालतले गरेको फैसलाले तय गरेका उदाहरण अफ्रिकी तथा एसियाली मुलुकलाई उत्पे्ररक हुन सक्छन् । पश्चिमा मुलुकको सल्लाहभन्दा असंलग्न मुलुकको उदाहरणलाई आधार बनाएर अबउप्रान्त अफ्रिकी तथा एसियाली मुलुक अघि बढ्ने आधार तय भइसकेका छन् ।

मेरो समलिंगी साथीसँगै मैले पाँचपटक भारतको भ्रमण गरिसकेको थिएँ, तर हामीले कहिल्यै विभेदको अनुभव गरेनौँ । हाम्रो शयन कक्ष मिलाउने तथा बिहान ७ बजे चिया लिएर आउने होटेलका कर्मचारीले पनि हामीलाई दुईजना पुरुष सँगै बसेको भन्ने ठम्याइले कुनै आश्चर्य प्रकट गरेनन् । अहिले दफा ३७७ खारेज भएसँगै मिडियामा पनि चर्चा र बहसको ठूलो विषय बनेको छ । बलिउडले समेत वास्तविक समलिंगी निर्धक्क भएर सार्वजनिक गर्न थालेको छ ।

तर, अझै पनि भारतमा समलिंगीप्रति हेय तथा घृणाको दृष्टिले हेर्नेको कमी छैन । यसकारण, समलिंगीले समाजमा समानताको जीवन बाँच्न पाउने वातावरणका लागि अझै धेरै समय र संघर्ष आवश्यक देखिन्छ । भारतीय समाजले आर्थिक हैसियतलाई केन्द्रमा राखेको छ । यसर्थ, विभेदकारी कानुनी व्यवस्थाको ठूलो सिकार न्यून आय भएका तथा गरिब समूह बन्ने गरेका छन् ।

यस्तो सामाजिक परिवेशबीच सर्वोच्चको फैसलाले यस्ता वर्गको सुरक्षा आवश्यकतालाई सम्बोधन गरेको छ । विवाहलाई ठूलो महत्व दिने भारतीय संस्कृति र समाजबीच फैसलाले समलिंगी विवाहलाई पनि समान अधिकारको बाटो खोलेको छ । कतिपयले फैसलाको भाषाले समलिंगी विवाहलाई साँच्चै मार्गप्रशस्त गरेको हो या होइन भन्नेमा शंका व्यक्त गर्न पनि सक्छन् ।

तर, विभेदले प्रजातान्त्रिक समाजको मर्मलाई खतरामा पार्छ भन्ने फैसलाको अंशले समलिंगी विवाहलाई सकारात्मक बाटो प्रदान गरेको स्पष्ट संकेत बुझ्न सकिन्छ ।

अदालतको फैसलापछि मैले मेरा काकालाई टेलिफोन सम्पर्क गरेँ र फैसलाप्रति उहाँकोे धारणा राख्न भनेँ । तर, उहाँले फैसलाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । आउँदो डिसेम्बरमा म मेरो समलिंगी साथी दुवैजना भारत जाने जानकारी उहाँलाई दिएँ ।

अन्त्यतः हामीले विवाह गर्न लागेको कुरा पनि उहाँलाई सुनाएँ । अनि विवावपश्चात् हामी समलिंगीले एकअर्कालाई पति भनेर सम्बोधन गरेको सुन्दा तपाईंलाई कस्तो लाग्छ भनी काकालाई सोधेँ । नेटवर्कको कमजोरीका कारण टेलिफोन कनेक्सन राम्रो थिएन । यत्तिकैमा ‘विवाहका लागि तिमीहरू दुवैजना मेरो घरमा बस’ भन्ने काकाको भावुक आवाज मेरो कानमा गुन्जियो ।

तपाईको प्रतिक्रिया