कम्बोडियाका विपक्षी नेता जमानतमा रिहा - Naya Patrika
eNaya Patrika
  • ePaper

कम्बोडियाका विपक्षी नेता जमानतमा रिहा

राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि जेलजीवन बिताइरहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार रिहा भएका छन् । विपक्षी दल नेसनल रेस्क्यु पार्टी (सिएनआरपी) का अध्यक्ष सोखा ३ सेप्टेम्बर २०१७ मा गिरफ्तार भएका थिए ।

विपक्षी नेता सोखामाथिको आरोप राजनीतिप्रेरित रहेको बताइन्छ । पक्राउ परेको दुई महिनापछि नै सोखाको दल सिएनआरपीलाई अदालतले भंग गरिदिएको थियो । कम्पोडियामा विपक्षी दलको विघटन र त्यसका अध्यक्ष सोखा पक्राउ परेलगत्तै गत जुलाईमा संसदीय चुनाव गरिएको थियो । चुनावमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडिया पिपुल्स पार्टीले सबै १२५ स्थानमा जित्यो । अहिले कम्बोडियामा एकदलीय शासन कायम भएको छ भने हुन सेनको कार्यकाल पाँच वर्ष थप भएको छ ।


स्वागत गर्नेको भीड
कम्बोडियाको दुर्गम स्थानमा रहेको कारागारबाट रिहा भएलगत्तै राजधानी नोमपेन्ह आएका सोखालाई स्वागत गर्न उनका समर्थक र सञ्चारकर्मीको राजधानीमा ठूलै भीड लागेको थियो । नोमपेन्हको अदालतले सोखालाई धरौटीमा रिहा गरिएको र देश छाड्न अनुमति नदिइएको जनाएको छ ।

राष्ट्रद्रोहको आरोपमा दोषी ठहरिए सोखाले ३० वर्षको कारागार सजाय पाउनेछन् । उनकी छोरी मोनोभिथ्या केमले अदालतको आदेश केही सकारात्मक भए पनि घरमै नजरबन्दजस्तो परिस्थिति  रहेको बताइन् । कतिपय समर्थकले केम सोखाको रिहाइले विपक्षीहरूमा आशाको सञ्चार गरेको बताए ।

तपाईको प्रतिक्रिया