नेप्सेसँगै घट्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्सेसँगै घट्यो कारोबार रकम

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६६ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । बजार खुलेको केही समयपछि नै तीव्र गतिमा नेप्से ओरालो लागेको थियो । मध्याह्नपछिको समयमा सामान्य उतारचढाव भए पनि नेप्से करिब स्थिर नै रहेको थियो ।

गत साता ४० अंक उकालो लागेको कारण यस साता बजार करेक्सन भइरहेको एक ब्रोकरले बताए । बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएको थियो । लाभांश संकलन गर्ने समयमा सस्तो मूल्यमा सेयर खरिद गर्न गत साता लगानीकर्ताहरू बजार प्रवेश गरेका थिए । फलस्वरूप गत साता बजार बढेको थियो । तर, बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेपछि यस साता बजार करेक्सनको अवस्थामा पुगेको उनको भनाइ छ ।

बजार ओरालो लागेपछि लगानीकर्ताहरू पुनः ‘पर्ख र हेर’ को रणनीति अपनाउन बाध्य भएको एक लगानीकर्ताले बताए । कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी नै छ । यस्तो वेलामा बजारले सकारात्मक दिशा लिनुपर्ने उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन ८ दशमलव १० अंक घटेर १ हजार २ सय १० दशमलव ८८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ अंक घटेर २ सय ५६ दशमलव १६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६२ कम्पनीको ३ हजार ७ सय ९५ पटकको कारोबारमा २७ करोड ७५ लाख २१ हजार ९ सय ६७ रुपैयाँ बराबरको ११ लाख ५९ हजार ७ सय ७२ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ५५ दशमलव ४१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । लगानीकर्ताहरूको सम्पत्ति अघिल्लो दिनको तुलनामा ९ अर्ब ५३ करोड घटेर १४ खर्ब ४२ अर्बमा सीमित भएको छ ।

कारोबार रकम र सेयरसंख्याका आधारमा यस दिन हाथवे फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ करोड ९८ लाख रुपैयाँबराबरको २ लाख ९८ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ सय ८६ पटक सेयर किनबेच भएको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ६३ प्रतिशत बढेको छ । कम्पनीले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६२ कम्पनीमध्ये यस दिन ४० कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएको उत्पादनमूलक र लघुवित्त समूहको परिसूचक बाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक १ दशमलव ११ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ८९ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ४८ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको १ प्रतिशत, वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ५ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव ३६ प्रतिशत घटेको छ ।

 बोटलर्स नेपाल (बालाजु)को नगद लाभांश
बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित भएपश्चात् सो नगद लाभांश वितरण गर्नेछ ।

बोटलर्स नेपाल (तराई) को नगद लाभांश
बोटलर्स नेपाल लिमिटेड (तराई) ले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट पारित भएपश्चात् सो नगद लाभांश वितरण गर्नेछ ।

 समताको लाभांश
समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सम्पूर्ण करसहित ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । भदौ २४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 मूल्य समायोजन
सोमबार नेप्सेले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीको शतप्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य नेप्सेले ८ सय १ दशमलव ५० रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य ५ सय ३ दशमलव २५ रुपैयाँ तोकिएको थियो ।

 बोटलर्स नेपाल (तराई) को साधारणसभा
बोटलर्स नेपाल (तराई) लिमिटेडले असोज १६ गते होटेल -याडिसन, लाजिम्पाटमा बत्तीसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा पिइटी लाइन विस्तारका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडसँग टर्म लोन लिने, निर्वाचन गर्ने, साधारण सेयरधनीको तर्फबाट सञ्चालकको नियुक्तिबारे छलफल गर्ने, आर्थिक वर्ष ०७४/७५ का लागि नगद लाभांशउपर छलफल गरी पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २ गतेदेखि १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

 सिभिल क्यापिटलको विशेष साधारणसभा
सिभिल क्यापिटल मार्केट लिमिटेडले असोज १० गते सिभिल क्यापिटल मार्केट, सुन्धारामा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीको चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने र आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव रहेको छ ।

 बोटलर्स नेपाल(बालाजु)को साधारणसभा
बोटलर्स नेपाल (बालाजु) लिमिटेडले असोज १५ गते होटेल -याडिसन, लाजिम्पाटमा चालीसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, आर्थिक वर्ष ०७४/७५ को लागि नगद लाभांश उपर छलफल गरी पारित गर्ने, प्रबन्ध सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा उपर छलफल गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

तपाईको प्रतिक्रिया