आस्थाको पहिलो उडान - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

आस्थाको पहिलो उडान

बुद्ध एयरले भारतको बनारसमा चार्टर्ड उडान गरिरहेको थियो । उडान फाट्टफुट्ट हुन्थ्यो, नियमित थिएन । बुद्धका मालिक वीरेन्द्रबहादुर बस्नेत ठूला विमान किनेर अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा थिए । तैपनि बनारस प्राथमिकतामै परेको थिएन । यात्रु हुँदा मात्र चार्टर्ड उडान हुन्थ्यो ।

बुद्धले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स भने लिएर बसिरहेको थियो । डेढ वर्षअघि ट्रेनी बनेर बुद्ध एयर छिरेकी वीरेन्द्रकी उत्तराधिकारी आस्थाले बनारस उडानलाई लिएर अनुसन्धान गरिन् । अनुसन्धान गर्दा बनारस बुद्धको राम्रो गन्तव्य हुने देखियो । उनले फिल्डमै खटिएर आक्रामक मार्केटिङ गरिन् ।

बुद्ध एयरले अगस्टदेखि बनारसमा नियमित उडान थाल्यो । अहिले एटिआर ४२ विमानले हप्ताको दुई दिन बनारस उडान भर्छ । बनारस उडानमा अफ सिजनमै ६० देखि ७० प्रतिशत अकुपेन्सी रहेको आस्था बताउँछिन् ।

नेपालको आन्तरिक उडानमा बुद्ध एयर अग्रणी हो । आन्तरिक उडानमा बुद्धले झन्डै ५० प्रतिशत हिस्सा ओगेको छ । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थल सञ्चालन भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने योजना छ । बुबाको अवकासपछि बुद्ध एयरको सम्पूर्ण व्यवस्थापन छोरीहरू आस्था र आरजुको काँधमा आइलाग्नेछ ।

जेठी छोरी आरजुको बुटिकमा सोख हुनाले उनले बुटिक सम्हालेकी छिन् । कान्छी छोरी आस्था सानैदेखि एयरलाइन्समै आकर्षित थिइन् । स्नातक तहको अध्ययन सकिएपछि आस्था सन् २०१७ जनवरीमा बुद्ध एयरमा ट्रेनीका रूपमा प्रवेश गरिन् । उनले केही समय बुटिक पनि हेरिन् । दिदीले बुटिक सम्हालेपछि उनी बुद्ध एयर छिरिन् ।

अहिले आस्था बुद्ध एयरको रिसर्च एन्ड डेभलपमेन्ट विभागमा कार्यरत छिन् । उनको टिमले बनारसको अनुसन्धान र बजारीकरण गरेको हो । बुद्ध होलिडेजको प्याकेज, सोसल मिडिया, डिजिटल मार्केटिङ, रिसर्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्केटिङ पनि उनकै टिमले हेर्छ । ‘बनारसमा नियमित उडान थिएन, उडान फिक्स्ड नहुँदा टिकेटिङमा पनि समस्या रहेछ,’ उनी सुनाउँछिन्, ‘हामीले यही अगस्टदेखि नियमित उडान गरिरहेका छौँ, यात्रु पनि राम्रै पाइएको छ ।’ अफ सिजनमा पनि ‘अकुपेन्सी’ राम्रो छ । सेप्टेम्बर र अक्टोबरका लागि टिकट बुकिङ राम्रो भइरहेको छ । उनी आशावादी भएर थप्छिन्, ‘सिजनमा त ‘फुल अकुपेन्सी’ नै होला ।’

आस्थाको भनाइमा बनारस बुद्धको अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलो बनेको छ । बनारसको सफल उडानले थप उत्साह थपिदिएको छ । यसले भविष्यमा पोखराबाट भारत, चीनलगायत मुलुकमा उडान भर्न पनि आत्मविश्वास थपिएको उनको तर्क रहेको छ ।

बुद्धको अन्तर्राष्ट्रिय उडान मात्र होइन, आस्थाको करिअरको सुरुवात पनि बनारसबाटै भएको छ । ‘मेरो करिअरको यात्रा पनि बनारसबाटै सुरु गरेकी छु,’ उनी भन्छिन्, ‘पहिलो यात्रामै राम्रो सफलता मिलेको छ ।’ बुद्ध एयर सुरुमा काठमाडौं–बनारस उडानमा फोकस्ड हुने बताउँदै थप्छिन्, ‘अनि मात्र पोखराबाट उडान भरौँला ।’

उनको टिमले बनारसमा गरेको मार्केटिङ शैलीले राम्रो काम गर्‍यो । रिसर्च पनि पुगेको भन्नुपर्छ । ‘हामीले मे, जुन र जुलाई तीन महिना राम्रोसँग मार्केटिङ गर्‍यौँ, त्यसअघि अनुसन्धान पनि गरियो,’ उनी भन्छिन् । उनी स्वयमं पनि मजाले खटिइन् ।

बनारसमा ठाउँ–ठाउँमा बुद्धका प्रशस्तै होर्डिङ बोर्ड राख्ने काम भयो । ट्याक्सीको पछाडि, सपिङ मल, सडक, गल्ली–गल्ली होर्डिङ बोर्डले भरियो । टिमले बनारसमा हुने आरतीमा मात्र होइन, सडक र चोकमा उभिएर पनि पर्चा बाँड्यो । एक किसिमले बनारस सहरको माहोल नै बुद्ध एयरमय बन्यो । ‘हाम्रो मिहिनेतले बनारस उडान सफल भएको हो,’ उनी भन्छिन्, ‘अन्यत्र पनि यस्तै आइडिया लगाउनेछौँ ।’

आस्थाले कक्षा ४ सम्म ललितपुरको सेन्टमेरिज स्कुल पढिन् । कक्षा १० सम्म भारतको राजस्थानमा पढिन् । दिल्लीको जिडी गोयङ्का कलेजबाट प्लस टु गरेकी उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम)बाट बिबिए सकाइन् । र, बुद्ध एयर छिरेकी हुन् । यस अवधिमा बुद्ध एयर कसरी चलिरहेको छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा भयो ।

बुद्ध एयरको २० वर्ष लामो इतिहास छ । कम्पनी अग्रणी बन्नुमा कर्मचारीको मिहिनेत पनि उत्तिकै रहेको बताउँछिन् । कतिपय कर्मचारी स्थापनाकालदेखि निरन्तर काम गरिरहेका छन् । एकैचोटि बुद्ध एयरको माथिल्लो तहमा रहेर काम गर्न कठिनाइ हुन्थ्यो । त्यही भएर नै कम्पनीको कल्चर बुझ्न पनि तल्लो तहबाटै काम सुरु गरिन् ।

आस्थाले फाइनान्स, रेभिन्यु, मार्केटिङ, रिजर्भेसनलगायत अधिकांश विभागको अनुभव सँगालिन् । रिसर्च एन्ड डेभलपमेन्ट विभाग हेर्न थालेको ५/६ महिना मात्रै भयो । आस्थाका बुबा पनि छोरीलाई बिजनेस सम्हाल्न सक्ने गरी सक्षम बनाउन लागिपरेका छन् । उनले बुद्ध एयरको बनारस उडानको अनुसन्धान, विज्ञापन र मार्केटिङको जिम्मेवारी छोरीलाई नै सुम्पिएका थिए ।

बिजनेस सिक्न सुरुवाती समयमा बुटिकको दर्तादेखि बुटिकलाई चाहिने कपडा किन्न दिल्लीसम्म धाउने काम पनि दिदी–बहिनीले गरे । छोरीहरूले आफैँ बिजनेस सुरु गर्दा उनीहरूमा कन्फिडेन्स बढ्ने बुबा वीरेन्द्रको मान्यता थियो । छोरीहरू बिजनेसमा लागेपछि बुबा वीरेन्द्र पनि सन्तुष्ट देखिन्छन्।

आस्था सानो हुँदैदेखि घरमा बुद्ध एयरको गफ हुन्थ्यो । हजुरबुबा र बुबाले बुद्ध एयरकै कुरा गर्ने । नयाँ प्लेन आयो भन्ने । उतिवैले आस्थाको मनमा बुद्ध एयर बसिसकेको थियो । पहिला घरमा एयरलाइन्सको कुराकानी हुँदा आस्था सुन्थिन् मात्र । तर, अहिले आफ्नो तर्कसहित छलफलमा सहभागी हुन सक्ने भएकी छिन् । छोटो अवधिमै आस्थाको आत्मविश्वास धेरै बढिसकेको छ ।

नेपाली समाज अझै पनि महिलाले केही गर्न नसक्ने मान्यता राख्छ । छोरी–बुहारी अगाडि बढेको देख्न सक्दैन । तर, आस्थाको परिवार छोरा र छोरीबीच भेदभाव राख्दैन । आस्थासँग बुद्ध एयर हाँक्ने हिम्मत छ । यो आत्मविश्वास परवारकै सहयोगबाट मिलेको हो । भन्छिन्, ‘मेरो परिवारमा छोरा र छोरीबीच कुनै पनि भिन्नता छैन ।’ ‘अहिले बिजनेस व्यवस्थापनको काम सिकिरहेकी छु, काम सिकेपछि बुद्ध एयर हाँक्न सकिन्छ,’ उनी भन्छिन्, ‘छोरी हुँदैमा कन्फिडेन्स नहुने भन्ने होइन, छोराकै जत्तिकै हुन्छ ।’ आरजु र आस्था जन्मिएको परिवार, उनीहरूले पढेको कलेज, उनीहरूले आर्जन गरेको शिक्षाले पनि कन्फिडेन्स लेभल बढाएको छ ।

हजुरबुबा र बुबालाई व्यवस्थापनमा देखेर होला, उनलाई पनि व्यवस्थापन प्यासन बन्न पुग्यो । ‘मलाई पाइलट बन्ने इच्छा कहिल्यै लागेन,’ उनी सुनाउँछिन्, ‘मेरो प्यासन बिजनेस हो, त्यसैले बिजनेस (बिबिए) पढेकी हुँ ।’

अहिले बुद्ध एयरका ११ वटा विमान छन् । जसले नेपालका १३ गन्तव्यमा उडान भर्छन् । र, भारतको बनारसमा पनि । बुद्धका एटिआर–७२ विमान ६ वटा पुगिसक्यो । तीनवटा एटिआर–४२ र तीनवटा बिचक्राफ्ट छन् । यी जहाज उडाउन दर्जनौँ पाइलट छन् । आस्थाले बुद्धलाई अझ उचाइमा पु¥याउने लक्ष्य राखेकी छिन् ।

अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलोमा उनलाई सफलता मिलेको छ । उनको टिम डिजिटल टेक्नोलोजीमा पनि केन्द्रित छ । बुद्ध एयरको वेवसाइट अपडेट गरिँदै छ । नयाँ वेवसाइट सेप्टेम्बरदेखि लाइभ हुने आस्था बताउँछिन् ।

‘अबको जमाना डिजिटलको हो, हामी बुद्धको वेवसाइटमा व्यापक सुधार गर्दै छौँ,’ उनी भन्छिन्, ‘विश्वकै उत्कृष्ट कर्पोरेट हाउससरह अनलाइन प्रणाली विकास गर्छौं ।’ डिजिटल मार्केटिङलाई व्यापकता दिने योजना छ । उनी बुद्ध एयरमा ‘भ्यालु एड’ गर्न खोज्दै छिन् । अहिले धमाधम बुद्धको रिजर्भेसनको कल सेन्टर अपडेट हुँदै छ । अन्तर्राष्ट्रिय स्टान्डर्डको कल सेन्टर रेकर्डेड हुनेछ । उनकै टिमले बुद्ध होलिडेजको प्याकेज बनाउँछ ।

नेपाली निजी वायुसेवा कम्पनीको ट्रेन्ड सेटर हो, बुद्ध एयर । आस्थाका बुबा वीरेन्द्रले बुद्धलाई आन्तरिक उडानको अग्रणी बनाए । यो उचाइ कायम राख्दै कम्पनीको भ्यालु एड गर्न पक्कै चुनौतीपूर्ण छ । अझ छोरीले केही गर्नै सक्तैनन् भन्ने सामाजिक मानसिकतालाई पनि चिर्नु छ । यो चुनौती सामना गर्न आस्था तयार छिन् ।

‘हामीले केही गरेर देखाउनैपर्नेछ,’ उनी भन्छिन्, ‘मैले गरेका कामबाट बुद्ध एयरलाई आउटपुट आउनुपर्छ ।’ बुद्ध एयरका कर्मचारीबीच पारिवारिक माहोल छ । यो माहोल कायम राख्न पनि चुनौती छ । बुबाले उनलाई धेरथोर डिसिजन पावर पनि दिएका छन्, जसले गर्दा उनलाई काम गर्न सजिलो होस् । तर, काम नसिक्दै धेरै अधिकार भने दिनेवाला छैनन् ।

आस्थाले सबैजसो विभाग चहारिन् । काम पनि सिक्दै गइरहेकी छिन् । उनी बनारस उडानपछि उत्साहित बनेकी छिन् । यसबाहेक बुबासँग हुने हरेक मिटिङमा सहभागी हुन्छिन् । हालै मात्र कम्पनीको इन्स्योरेन्सको कामका लागि बेलायत पुगेर पेपर प्रिजेन्टेसन समेत गरिन् । त्यहाँ आफैँ डिस्कसनमा सहभागी भइन् । यो एक्स्पोजरले झन् कन्फिडेन्स बढाएको उनी बताउँछिन् ।

बुद्ध होलिडेजले विभिन्न प्रकारका प्याकेजहरु बनाएर बिक्री गर्छ । यो प्याकेज बुद्धले उडान भर्ने गन्तव्यमा केन्द्रित छ । अन्तर्राष्ट्रिय गन्तव्यको प्याकेज बनारसमात्रै हो । ‘हामी नेपालीलाई बनारस घुमाउँछौँ । र, भारतीयलाई नेपाल घुमाउँछौँ,’ आफ्नो योजना सुनाउँदै उनी भन्छिन् । अहिलेसम्म बुद्ध होलिडेजको सेवा बुद्ध एयरको ‘बिजनेस पुस’ गर्न केन्द्रित छ । आस्था बिस्तारै बुद्ध होलिडेजलई छुट्टै कम्पनी बनाउने बताउँछिन । यसले देशभरका पर्यटकीय गन्तव्यको प्याकेज बनाएर बिक्री गर्नेछ ।

तपाईको प्रतिक्रिया