ए डिभिजन क्लबलाई काठमाडौं महानगरको सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

ए डिभिजन क्लबलाई काठमाडौं महानगरको सहयोग

काठमाडौं महानगरपालिकाले जिल्ला रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई प्रति टिम नौ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ । महानगरले डिभिजनमा खेल्ने क्लबसँग सम्झौता गर्दै सहयोग रकम उपलब्ध गराएको हो ।

उपलब्ध गराएको सहयोगमा ‘ए’ डिभिजन खेल्ने क्लबलाई पाँच लाख नगद र चार लाख ३० हजार बराबरको सामाग्री रहेको छ । सहयोग हस्तान्तरण गर्दै मेयर विद्या सुन्दर शाक्यले खेलको दिगोपना, खेलाडीको मनोबल उच्च राख्न र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सहयोग महत्वपूर्ण हुने अपेक्षा राखेको बताए ।

मेयर शाक्यले पहिलो चरणमा सानो रकम सहयोग प्रदान भए पनि भविष्यमा थप गर्दै जाने प्रतिबद्धता जनाए । महानगरपालिकाले सिएमजी क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङदी क्लब, सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लबलाई सहयोग गरेको हो ।

यीबाहेक ‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, च्यासल युवा क्लब, फ्रेन्डस् क्लब, ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

सहयोग ग्रहण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले घरेलु फुटबलमा सरकारी निकायको सहयोग अपरिहार्य रहेकोमा महानगरको सुरुवात सुखद रहेको बताए ।

आगामी वर्ष संघले नौ वटा पुरुष लिग र नौ वटा महिला लिग हुने भन्दै खेललाई सहयोग पुग्ने शेर्पाले उल्लेख गरे । ‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि  काठमाडौँमा हुँदैछ । लिगमा १४ क्लबले भाग लिने भएका छन् ।

 

तपाईको प्रतिक्रिया