१०.७९ अंक घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

१०.७९ अंक घट्यो नेप्से

साताको पहिलो दिन नेप्से परिसूचक १० दशमलव ७९ अंक घटेर बन्द भएको छ । गत साताभरिमा नेप्से कुल ४० अंक बढेको थियो । कम्पनीहरूले गरेको लाभांश वितरणको घोषणा, अर्थमन्त्रीले पुँजीगत लाभकरको विषयमा लगानीकर्तालाई दिएको आश्वासन र लाभांश लिने समयमा कम्पनीहरूको सेयर मूल्य सस्तिएका कारण गत साता बजार उकालो लागेको थियो ।

गत साताको अन्तिम दिन भने बजारमा करेक्सन देखिएको थियो । यस दिन परिसूचक घट्नुलाई पनि करेक्सन नै मान्नुपर्ने एक विश्लेषकले बताए । लगानीकर्ताले यस दिन पुनः ‘पर्ख र हेर’को रणनीति अपनाएको एक ब्रोकरले बताए ।

अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि यस दिन नेप्से घटेको उनको भनाइ छ । बजार खुलेदेखि ओरालो लागेको नेप्सेमा मध्याह्नपछिको समयमा केही सुधार देखिएको थियो । तर, सो गतिलाई निरन्तरता दिन नसकेपछि बजार अन्तिम समयमा पुनः ओरालो लागेर बन्द भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर बजार विस्तारको कार्य शीघ्र भए बजारले गति लिने एक लगानीकर्ताले बताए । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ ।

नेप्से परिसूचक यस दिन शून्य दशमलव ८८ प्रतिशत घटेर १ हजार २ सय १८ दशमलव ९८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ८४ प्रतिशत घटेर २ सय ५८ दशमलव १६ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ६६ कम्पनीको ४ हजार ४ सय ८७ पटकको कारोबारमा ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँबराबरको १२ लाख ७२ हजार १ सय ८ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ५९ प्रतिशत कम हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ५९ दशमलव ६५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा यस दिन एनआइसी एसिया बैंक अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको २ करोड ५३ लाख ४८ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्या र सेयर संख्याका आधारमा भने यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन १ सय ८४ पटकको कारोबारमा ८३ हजार ३ सय ९४ कित्ता सेयर किनबेच भएको छ ।

जानकी फाइनान्सको सेयर मूल्य यस दिन ९ दशमलव ६० प्रतिशत बढेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ९ दशमलव ३५ प्रतिशत घटेको छ । कारोबारमा आएको १ सय ६६ कम्पनीमध्ये यस दिन ३० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय २१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आइतबार कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन लघुवित्त समूहको परिसूचक १ दशमलव ६५ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ४४ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव १९ प्रतिशत, अन्य समूहको १ दशमलव १ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ४ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव शून्य ३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६७ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३ प्रतिशत, होटेल समूहको शून्य दशमलव २ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २ प्रतिशत र वित्त समूहको शून्य दशमलव १७ प्रतिशत घटेको छ ।

 हरिसिद्धिको सेयर रजिस्टारमा सिबिआइएल
हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडले सिबिआइएल क्यापिटल लिमिटेडलाई सेयर रजिस्टार नियुक्त गरेको छ । भदौ १७ गतेदेखि कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि सिबिआइएल क्यापिटललाई नियुक्त गरिएको हो ।

वोमीको नगद लाभांश स्वीकृत
नेपाल राष्ट्र बैंकले वोमी माइक्रो फाइनान्सलाई नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ । वोमीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न राष्ट्र बैंकसँग अनुमति मागेको थियो । सो नगद लाभांश आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रहेको छ ।

 जानकीको लाभांश
जानकी फाइनान्स कम्पनी लिमिटेडले २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, वित्त कम्पनी सुपरीवेक्षण विभाग पठाइएको छ ।

 एनआइबिएल समृद्धि फन्डको मूल्य समायोजन
आइतबार नेप्सेले एनआइबिएल समृद्धि फन्ड–१ को मूल्य समायोजन गरेको छ । यस योजनाको १२ प्रतिशत नगद लाभांशपछिको समायोजन मूल्य नेप्सेले १० दशमलव ४० रुपैयाँ तोकेको छ ।

 पोखराको लाभांश स्वीकृत
नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई १३ दशमलव ६८४ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकले कम्पनीलाई ५ प्रतिशत बोनस सेयर र ८ दशमलव ६८४ प्रतिशत नगद लाभांश वितरण गर्न भदौ २२ गते स्वीकृति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ६४ लाख ५० हजार १ सय १५ रुपैयाँ रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 ज्योतिको नगद लाभांश
ज्योति विकास बैंक लिमिटेडले गत आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांशबाट प्राप्त हुने रकमबाट खण्डीकृत सेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण सेयर कायम गर्ने निर्णय पनि सो बैठकले गरेको छ । कम्पनीले हकप्रद सेयर वितरण गर्दाको अवस्थामा प्राप्त हुन बाँकी सेयरधनीको खण्डीकृत अवस्थित भिन्न रकम तथा करबापत बुझाउनुपर्ने रकम कट्टा गरी बाँकी रकम मात्र सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया