एसियाडले चिनाएको इन्डोनेसिया - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

एसियाडले चिनाएको इन्डोनेसिया

‘तपाईंलाई इन्डोनेसिया कस्तो लाग्यो ?’ १८औँ एसियन खेलकुद प्रतियोगिताका क्रममा इन्डोनेसिया पुगेका हरेक खेलाडी, अफिसियल, पत्रकारलगायतले समान प्रश्नको सामना गर्नुप-यो । ‘इन्डोनेसिया ठीकै लाग्यो’ भन्ने उत्तर दिँदा उनीहरूको खिन्न हुन्थे । ‘इट इज अमेजिङ वा वन्डरफुल’ भनिदिँदा उनीहरू खुसीले फुरुंङ हुन्थे ।

 
१८ अगस्ट देखि २ सेप्टेम्बरसम्म जकार्ता र पालेम्वाङमा एसियाड चलिरहँदा प्रत्येक इन्डोनेसियन आफ्नो राष्ट्रको विकास, संस्कृति, पयर्टन, खेल आदि विषयका राम्रा पक्ष मात्र सुन्न चाहन्थे । उनीहरू आफूले आफैँलाई इन्डोनेसिया ‘अबको एसियाको समृद्ध राष्ट्र’ भन्न रुचाइरहेका थिए । इन्डोनेसियाले ४४ राष्ट्रका पाहुनाबाट मन्त्रमुग्ध पार्ने खालको बखान सुन्न त्यही किसिमको प्रबन्ध मिलायो । इन्डोनेसिया भविष्यको एसियाकै शक्ति राष्ट्र भन्ने सन्देश दिने प्रयास ग-यो ।

इन्डोनेसियाले एसियाडमा ‘इनर्जी अफ एसिया र फ्युचर अफ एसिया’लाई प्रमुख नारा बनाएको थियो । अहिलेको विकास र आर्थिक उन्नति हेर्दा इन्डोनेसियाले यी दुवै नारालाई एक दिन पूरा गर्ने छनक देखाएको छ ।

वास्तवमै एसियाडले इन्डोनेसियालाई एक फरक पहिचान दिएको छ । पहिला इन्डोनेसिया पयर्टकीय राष्ट्रका रूपमा मात्र चिनिन्थ्यो । इन्डोनेसिया आउने पयर्टकको प्रमुख गन्तव्य हुन्थ्यो, बाली टापु । त्यहाँ जान नसके उनीहरू हजार टापु भन्ने स्थानमा जान्थे । इन्डोनेसियामा भइरहेको विकास अवलोकन गरेर फर्किन्थे । तर, एसियाड आयोजनाका लागि प्राप्त चार वर्षभित्र इन्डोनेसियाले हरेक क्षेत्रमा समानताका साथ विकास ग-यो ।

एसियाडका पब्लिक डाइरेक्टर ड्यानीले भने– अबको एक दशकभित्र जकार्ता पूरै गगनचुम्बी भवनको सहर हुनेछ । जकार्तालाई १० वर्षमा अमेरिकाको सिकागो वा न्युयोर्क सहरजस्तो बनाउने लक्ष्य इन्डोनेसिया सरकारको छ ।

दू्रत गतिमा भइरहेको विकास हेर्दा इन्डोनेसियाले सन् २०३२ को ओलम्पिक खेलकुद प्रतियोगिता आयोजनाको दाबेदारी दिन हिम्मत गरेको छ । अहिलेसम्म आर्थिक र समृद्ध राष्ट्रले मात्र ओलम्पिक आयोजना र दाबेदारी गरेका छन् । यसैकारण पनि जो–कोही राष्ट्रले ओलम्पिक आयोजना गर्न हिम्मत देखाउँदैनन् ।

ओलम्पिक आयोजना गर्न टास्क पूरा गर्नुपर्छ । त्यो टास्क पुरा गर्न इन्डोनेसिया अग्रसर छ । इन्डोनेसियाले दोस्रोपटक एसियाड आयोजना गर्नुअघिसम्म ओलम्पिकमाथि दाबेदारी दिने कुरा उठाएको थियो । त्यसवेला विकसित एसियन राष्ट्रका खेल पदाधिकारीले उसलाई ठट्टाका रूपमा लिएका थिए । एसियाडपछि एसियन राष्ट्रले इन्डोनेसियालाई हेर्ने नजर फरक बनाएका छन् । आखिर किन त ?

द्रुत गतिमा विकास निर्माण
‘तपाईंले देखिरहनुभएको अग्ला भवन छन् नि, यी सबैजसो ५ वर्षको अवधिमा निर्माण भएका हुन्,’ ट्याक्सी चालकले भन्दै गए, ‘त्यसअघि यहाँ यस्तो थिएन ।’ ट्याक्सी चालकले भनेझैँ इन्डोनेसियाको राजधानी जकार्ता गगनचुम्बी भवनको सहरका रूपमा परिणत भइरहेको छ ।

पुरानो र आधुनिक जकार्ताको विकास छुट्याउने प्रमुख मापन नै भवन बनेको छ । २० वर्षअघि बनेका भवन सामान्य देखिन्छन् । १० वर्षभित्र बनेका भवन आधुनिक छन् । र, पछिल्लो समयका भवन गगनचुम्बी बन्दै छन् । रमाइलो पक्ष त के भने यहाँ निर्माण भइरहेका भवन आफूखुसी होइन, सरकारले तोकिदिएको डिजाइनमा बनिरहेका छन् ।

भवन बनाउने होडबाजीमा जकार्ता सहर कुरूप नहोस्, अलिक फरक, तर एकै किसिमका होऊन् भन्ने उद्देश्यले सरकारले यस्तो रणनीति अपनाएको हो । सेन्ट्रल जकार्तामा ६० तला माथिका दर्जनौँ भवन छन् । अझ धेरै ठूला कम्पनी जकार्ता केन्द्रित छन् ।

ओलम्पिक आयोजना गर्ने लक्ष्य राखेको जकार्ता सहर अबको १२ वर्ष भित्रमा बिल्कुलै फरक हुने एसियाडका पब्लिक डाइरेक्टर ड्यानीले भने । ‘हेर्नुस् अबको एक दशकभित्र जकार्ता पूरै गगनचुम्बी भवनको सहर हुनेछ,’ ड्यानीले प्रस्ट्याए । उनका अनुसार जकार्तालाई १० वर्षमा अमेरिकाको सिकागो वा न्युयोर्क सहरजस्तो बनाउने इन्डोनेसिया सरकारको लक्ष्य छ ।

हरियाली र सफा सहर
गगनचुम्बी भवनले मात्र सहरको शोभा बढ्दैन । सहरको निश्चित मापदण्ड हुनुपर्छ । त्यो मापदण्डमा हरियाली पनि पर्छ । जकार्तालगायत अन्य सहरमा पनि यही नियम अनुशरण गरेर विकास भइरहेको छ ।

४० डिग्री तापक्रम रहने सहर भएकाले सडक सञ्जालले छोएका सबै क्षेत्र हरियाली छन् । सडकको दायाँ–बायाँ र बीचको खण्डमा विभिन्न किसिमका रूख वा अग्ला हुने बोट बिरुवा रोपेर जकार्तालाई वातावरणमैत्री सहर बनाइएको छ । हरियाली सडकबीच यात्रा गरिरहँदा मन आनन्दित हुन्छ ।

तातो हावा चल्दा पनि यहाँको हरियालीले चिसोपन महसुस गराउँछ । सहर हरियाली हुनुका साथै सफा छ । ‘घरजस्तै सफा राख्नुपर्छ,’ एसियाडमा भोलेन्टियर गरिरहेकी एक महिलाले सडक सफा हुनुको कारण बताइन्, ‘हामीले यो सहरलाई घर नै मानेका छौँ, घरजस्तै सडकलाई सधैँ सफा बनाइराख्नुपर्छ भन्ने भावना सबैसँग छ ।’

सडक सञ्जाल
जबसम्म कुना–काप्चासम्म मोटर गुड्ने सडक सञ्जाल पुगेको हुँदैन, त्यसवेलासम्म विकास भनिँदैन । सबै क्षेत्रमा सडक पुगेको अवस्थामा मात्रै विकास भएको मानिन्छ । यो अवधारणा इन्डोनेसियामा लागू भएको पाइन्छ । जकार्तालगायत अन्य सरहमा मुख्य सडक, साइड, लिंक रोडजस्ता अवधारणाका साथ सडक सञ्चालन र विकास भएको देखिन्छ । धेरैजसो मुख्य सकडक दुवै खण्ड गरी आठदेखि १० लेनका छन् । सडकको बीच–बीचमा फ्लाइओभर बनाइएको छ ।

जकार्ताको ट्राफिक समस्या समाधान गर्न हरेक सडकलाई जोड्न थप फ्लाइओभर बनिरहेका छन् । अन्डरग्राउन्ड सडक बन्ने क्रममा छन् । जकार्ता संसारकै बढी ट्राफिक जाम हुने सहरमध्ये पर्छ । सोच्न नसकिने गरी सडक विस्तार गरे पनि यहाँको ट्राफिक समस्या समाधान हुन सकेको छैन ।

सरकारले सर्वसाधारणलाई विशेष प्राथमिकतामा राखेको छ । सर्वसारधाणका लागि सरकारले एक फरक लेन व्यवस्था गरेको छ । त्यो लेनमा केवल पब्लिक गाडी मात्र गुड्छन । अर्को लेनमा घन्टौँ जाम परे पनि सर्वसाधारणको लेनमा बस तथा मेट्रो ट्रेन चलिरहेका हुन्छन् । यो लेनमा कहिल्यै पनि जाम हुँदैन ।

सहरको निश्चित मापदण्ड हुनुपर्छ । त्यो मापदण्डमा हरियाली पनि पर्छ । जकार्तालगायत अन्य सहरमा पनि यही नियम अनुशरण गरेर विकास भइरहेको छ ।

स्पोर्टस् सिटी
इन्डोनेसियाले विकास गरेको प्रमुख क्षेत्र खेलकुद हो । सेन्ट्रल जकार्तामा रहेको बुङ कार्नो कम्पलेक्स इन्डोनेसियाकै सबैभन्दा आकर्षक मानिन्छ । एसियाडको उद्घाटन र समापन बुङ कार्नो रंगशालामा भयो । यसको दर्शक क्षमता ८६ हजार छ । बुङ कार्नो एसियाकै राम्रो रंगशालामा पर्छ ।

बुङ कार्नो कप्लेक्सभित्र विश्वस्तरीय कभर्ड हल तथा भवन छन् । एसियाडका लागि भनेर सबैजसो खेलकुद भवनलाई आधुनिकीकरण गरिएको थियो । फुटबल सबैभन्दा लोकप्रिय खेल भएकाले जकार्तामा आधा दर्जन रंगशाला छन् । हरेक रंगशाला युरोपियनस्तरकै छन् । ती रंगशालाले युरोपलाई समेत चुनौती दिइरहेका छन् । सन् २०३२ को ओलम्पिक दाबेदारी दिन लागेको इन्डोनेसियाले खेलकुद क्षेत्रमा थप विकास गर्ने लक्ष्य राखेको छ ।

रंगिन साँझ
इन्डोनेसिया संसारकै धेरै मुस्लिम धर्मावलम्बी भएको राष्ट्र हो । मुस्लिम राष्ट्र भएर पनि यहाँ धर्मको त्यति कट्टरता देखिँदैन । साँझ ८ बजेपछि यहाँको माहोल फरक हुन्छ । सेन्ट्रल जकार्ताभन्दा ८–१० किलोमिटर टाढा रहेको स्थानमा स्वतन्त्र रूपमा रात्रिकालीन जीवन बिताउने छुट छ । यस्ता स्थानमा बढी भिडभाड हुने गर्छ । यहाँ लोकल तथा सी फुडका विशेष परिकार सर्वत्र भेटिन्छन् । मध्यम किसिमका पयर्टक पनि यस्तै स्थानमा जान रुचाउने गरेको पाइन्छ ।

गरिब जनतालाई अपार्टमेन्ट
जसका घर छैनन्, झुपडीमा बसिरहेका छन्, उनीहरूका लागि विशेष योजना ल्याउने तयारी सरकारको छ । एसियाडका लागि बनेको एथ्लिट भिलेज अब त्यस्ता जनताको आवासका लागि प्रयोग गरिनेछ । एथ्लिट भिलेजमा ५० हजार व्यक्ति सहजै बस्न सक्छन् । खुला क्षेत्रमा सयौँ अपार्टमेन्ट निर्माण गरेर छत नभएका जनतालाई आवास उपलब्ध गराउने योजना सरकारको छ । यो क्रम जारी रहँदा आउँदो १० वर्षमा इन्डोनेसियामा झोपडपट्टी नहुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया