मोतीरामको जन्मजयन्तीमा गजल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मोतीरामको जन्मजयन्तीमा गजल

मोतीराम भट्टको १५३औँ जन्मजयन्तीको अवसरमा अन्तरमावि गजल–कवितावाचन प्रतियोगिता आयोजना गरिएको छ । लिस्नो साहित्यिक मञ्च लमजुङले बेसीसहरमा आयोजना गरेको कार्यक्रममा जनविकास मावि चण्डीडाँडाका विकास विक प्रथम भएका छन् । प्रतियोगीतामा विद्या विकास बोर्डिङ स्कुल बेसीसहरकी निशा अधिकारी द्वितीय र लमजुङ मावि गाउँसहरकी सुस्मिता विक तृतीय भए । लमजुङ माविकै लक्ष्मी मजाकोटी र लोकराज माविका विवेक पन्तले सान्त्वना पुरस्कार पाए ।


बेसीसहरको विद्या विकास बोर्डिङ स्कुलमा आयोजना भएको प्रतियोगितामा १६ जना छात्र/छात्रा सहभागी थिए । विजयी हुने छात्र/छात्रालाई प्रमुख अतिथि बेसीसहर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गोविन्द बस्नेत र लिस्नो साहित्यिक मञ्चका अध्यक्ष वसन्त अधिकारीले पुरस्कार वितरण गरेका थिए । विजयी छात्र/छात्रालाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, साहित्यिक स्रष्टा अमृता असिम, तेजनारायण अधिकारी, नोर्देन तामाङ, बालकृष्ण खनाललगायतले रचना वाचन गरेका थिए ।

प्रतियोगी छात्र/छात्राले आफ्ना साहित्यिक रचनामार्फत मोतीराम भट्टको चर्चा गरेका थिए । कतिपयले कुशेऔँशी भएकाले आफ्ना बुबालाई सम्झिँदै रचना प्रस्तुत गरेका थिए । कसैले प्रेमरसमा त कसैले समसामयिक विषयवस्तुलाई रचनामा प्रस्तुत गरे । ‘साहित्य र सिर्जनालाई प्रोत्साहन, नेपाली भाषा मौलिकता उत्थान’ नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा स्मरणीय योगदान पु-याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनाहार प्रतिभा मानिन्छन् । नेपाली साहित्यमा शृंगारिक धाराको सुरुवातकर्ताका रूपमा मोतीराम भट्टलाई लिइन्छ ।

तपाईको प्रतिक्रिया