सातामा ४८ अंक बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा ४८ अंक बढ्यो नेप्से

गत साता नेप्से परिसूचक ४० दशमलव शून्य ८ अंक बढेको छ । नेप्सेसँगै गत साता कारोबार रकममा पनि सुधार देखिएको छ । पाँच कारोबार दिनका लागि खुलेको बजार चार दिन बढेर बन्द भएको थियो भने साताको अन्तिम कारोबार दिन सामान्य अंक घटेर बन्द भएको थियो ।

अघिल्लो साता पुँजीगत लाभकरको विवाद अन्त्य गर्ने अनुरोध गर्दै लगानीकर्ताले अर्थमन्त्री भेट गरेका थिए । सो भेटमा अर्थमन्त्रीले कसैलाई हानि नहुने गरी पुँजीगत लाभकर विवाद अन्त्य गर्ने आश्वासन दिएपछि लगानीकर्ताको मनोबल बढेको थियो ।

फलस्वरूप अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको नेप्से गत साताको बुधबारसम्म बढेको थियो । यसका साथै सूचीकृत कम्पनीहरूले गत आवको मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेका कारण पनि गत साताको बजार प्रभावित भएको हो । बजार निरन्तर ओरालो लागेका कारण कम्पनीहरूको सेयर मूल्य सस्तिएको थियो ।

लाभांश घोषणा हुने समयमा सस्तो मूल्यमा सेयर पाएपछि लगानीकर्ता गत साता राम्रा कम्पनीहरूको सेयर खरिद गर्नतर्फ लागेका कारण बजारले सकारात्मक दिशा लिएको एक ब्रोकरले बताए । साताको अन्तिम कारोबार दिन भने लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजारमा सामान्य करेक्सन देखा परेको थियो ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ६५ दशमलव ८५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । अघिल्लो साताको तुलनामा गत साता कुल बजार पुँजीकरण ५८ अर्ब ८१ करोड रुपैयाँ बढेर १४ खर्ब ६४ अर्ब पुगेको छ ।

गत साता १ सय ९३ कम्पनीको ३२ हजार २ सय ८५ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ८० कम्पनीको ११ हजार ७ सय ८८ पटकको कारोबारमा ८० करोड ३० लाख ७ हजार रुपैयाँबराबरको २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार १ सय ८१ दशमलव ६९ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय २९ दशमलव ७७ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ४९ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ दशमलव ५५ अंक बढेर २ सय ६० दशमलव ३५ बिन्दुमा पुगेको छ ।

गत साता तीन कम्पनीहरूले कुल ६८ लाख ९ हजार ६ सय ४२ दशमलव ९४ कित्ता सेयर सूचीकृत गरेको छ । सो साता ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले ४० लाख कित्ता र प्रभु बैंक लिमिटेडको २३ लाख २६ हजार २ सय ८७ कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ । त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता सेयर सूचीकृत गरेको छ ।

गत साता कारोबारमा आएको सबै समूहको परिसूचक बढेको छ । सो साता निर्जीवन बिमा कम्पनीको परिसूचक १ सय ७७ दशमलव ५६ अंक बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक १ सय २८ दशमलव ३१ अंक, उत्पादनमूलक समूहको ७६ दशमलव शून्य ९ अंक, वाणिज्य बैंकको ३९ दशमलव ३८ अंक, विकास बैंक समूहको ३४ दशमलव ७८ अंक, जलविद्युत् समूहको ३४ दशमलव शून्य १ अंक, लघुवित्त समूहको ३० दशमलव शून्य ८ अंक, होटेल समूहको २८ अंक, अन्य समूहको २१ दशमलव ३५ अंक, वित्त समूहको १० दशमलव ९९ अंक र व्यापार समूहको शून्य दशमलव ९७ अंक बढेको छ ।

गत साता कारोबार रकम, सेयर संख्या र कारोबार रकमका आधारमा एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ । गत साता सो वाणिज्य बैंकको १ हजार ५ सय ४६ पटकको कारोबारमा २२ करोड ५० हजार रुपैयाँबराबरको ६ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

 कन्काईको लाभांश
कन्काई विकास बैंक लिमिटेडले ९ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी र जारी पुँजी ५१ करोड ५० लाख पुग्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

असंकलित लाभांश संकलन गर्न कञ्चनको आह्वान
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभाबाट पारित आर्थिक वर्ष ०६९/७० देखि ०७३/७४ सम्मको बोनस सेयर तथा आर्थिक वर्ष ०६९/७० को लाभांश पुर्जा संकलन गर्न आह्वान गरेको छ । आर्थिक वर्ष ०६९/७० देखि ०७१/७२ सम्मको भौतिक बोनस सेयर प्रमाणपत्र लिन बाँकी रहेका सेयरधनीलाई पनि कम्पनीले सो प्रमाणपत्र संकलन गर्न अनुरोध गरेको छ । आर्थिक वर्ष ०७२/७३ देखि ०७३/७४ को बोनस सेयरको हकमा हितग्राही खाता भएका सेयरधनीको स्वतः खातामा जम्मा गरिने कम्पनीले बताएको छ ।

०६९/७० को नगद लाभांश रकम लिन बाँकी रहेका सेयरधनीको लाभांश हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीको सेयर रजिस्टार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 मिर्मिरेको कर रकम जम्मा गर्न आह्वान
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापतको कर रकम जम्मा गर्न अनुरोध गरेको छ । जेठ २५ गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले ३० दशमलव ८० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, सोही साधारणसभाले सो सेयरबापतको कर रकम जम्मा गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको थियो । कम्पनीको सेयर रजिस्टार नेपाल एसबिआई मर्चेन्ट बंैकिङ लिमिटेड रहेको छ । सो कर रकम नेपाल एसबिआई बैंकको खातामा जम्मा गरेपश्चात् मात्र सो बोनस सेयर हितग्राही खातामा जम्मा गर्नेछ ।

माया खोलाको साधारणसभा
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १२ गते धुम्रबाराही पार्टी प्यालेसमा दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा–नोक्सान हिसाब पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको विविध गतिविधिको समीक्षा गर्ने र अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव रहेको छ ।

तपाईको प्रतिक्रिया