विभेदविरुद्ध गुन्जिएको यश कुमारको गीत - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विभेदविरुद्ध गुन्जिएको यश कुमारको गीत

एकपटक जिम्बाबेका विवादास्पद राष्ट्रपति रोबर्ट मुगाबेले भनेका थिए, ‘विभेद त्यतिवेलासम्म रहन्छ, जबसम्म सेतो कारमा कालो टायर रहन्छ ।’ मुगाबे जेसुकै होऊन्, निरंकुश तानाशाह या जिम्बाबेका पूर्वराष्ट्रपति । तर, उनको यो अभिव्यक्ति संसारबाट अहिलेसम्म नहटेको विभेदमाथि थियो ।

हाम्रो मुलुकमा विभेद कहिलेबाट सुरु भयो भन्दा पनि यसको स्वरूप, चरित्र कस्तो छ भन्ने कुरा प्रमुख हो । मान्छे भौतिकभन्दा पनि मनोवैज्ञानिक रूपमा विभेदको सिकार हुने गर्छ । जस्तो, अस्ति भर्खरै शंकर बिसीले पत्रकारलाई ‘कुटाइ खालास्’ भनेका कारण उनी विवादित बने । उनको तर्क थियो, उनलाई पत्रकारले घुरेर हेरेका थिए ।

त्यहाँ शंकरको शिष्टताको सवालबाहेक अरू केही थिएन । गाली उनले गरेको गल्तीलाई गर्नुपर्ने थियो । तर, सामाजिक सञ्जालमा शंकरको जातलाई गरियो । यसबारे गायक यश कुमार भन्छन्, ‘ती गाली गर्नेहरू अनपढ, अबुझ या पुराना पुस्ताका थिएनन् । समाजका ‘सभ्य’हरू नै थिए । भनेपछि ‘विभेद’ भन्ने शब्द हामी गर्भमै बोकेर आउँछौँ ।’

०५८ सालमा आयो, यश कुमारले संगीत र स्वर रहेको गीत । जुन गीतको कन्सेप्ट नै यश कुमारको थियो । शब्द बिनु काफ्लेका थिए । गीतमा यश कुमारको वास्तविकता पनि जोडिएको थियो । गीत एकाएक चर्चित बन्यो :
बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन
नआऊ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन !

गीत एकाएक हिट भयो । सुरेश कुमार परियार रातारात यश कुमार भए । उनी एक सामान्य मान्छेबाट सेलेब्रिटी बने । यो गीत चल्नुमा समाजले निर्माण गरेको कथित ‘तल्लो जात’ले रुचाएर मात्र होइन, भन्ने तर्क यश कुमारको छ । भन्छन्, ‘यो गीत ती साराले मन पराए, जो समाजले भनेको तल्लो जातिको मान्छेसँग प्रेममा परेका थिए ।’

नियोलिथिक उपकरणबाट प्राप्त जानकारीअनुसार नेपालमा करिब नौ हजार वर्षपहिलेदेखि मानिसहरू बसोवास गर्न थालेको अनुमान छ । जतिवेलादेखि मान्छे बस्न सुरु गरे, त्यतिवेलैदेखि विभेदको क्रम सुरु भएको थियो, भलै त्यो जातका कारण थिएन होला । जुन क्रम अहिले जातमा आइपुगेर हाम्रो समाजमा ०७२ सालअघिको धरहराजसरी उभिएको छ र शासन गरिरहेको छ ।

विभेदबारे बोलेको यश कुमारको यो गीतले पनि शासन गर्‍यो । शासन त्यस्तालाई गर्‍यो, जसले सामाजिक व्यवस्थाका कारण आफ्नो प्रेमलाई बलिदान दिए वा दिनुपर्ने अवस्था थियो । यहाँ प्रश्न उठ्न सक्छ, त्यसो भए प्रेम त्यति कमजोर हुन्छ र ? समाजका कारण प्रेमको आहुति दिनुपर्छ । यसबारे यश कुमार भन्छन्, ‘जब प्रेमविरुद्ध विभेद उभिन्छ, तब प्रेमले हुर्किन पाउँदैन ।’

‘मैले छोएको पानी चल्दैन’ गीत नेपालीको ढुकढुकीमा बस्यो । यो गीत नसुन्ने सायदै होलान् । आखिर किन चल्यो त यो ? यश कुमार भन्छन्, ‘यो गीत दलितलाई पात्र बनाएर गाइए पनि गीत उनीहरूका लागि मात्र थिएन । गीत तिनीहरूका लागि पनि थियो, जो समाजले घोषणा गरेको उपल्लो वर्गका थिए । जसले दलित समुदायको मान्छेलाई प्रेम गर्थे, तर घरको, कुलको इज्जतका कारण विछोड भएका थिए र हुने परिस्थितिमा थिए ।

गीतमा एउटा प्रेमीको विवशता मात्र होइन, गतिलो विद्रोह पनि छ । जहाँ एउटा ‘दलित’ मौनताको पहाडमा उभिएर विद्रोहको हुँकार गर्छ, विरोधको आगो ओकल्छ । ‘यो गीत सुन्ने कतिपयले गीतमा सजिलै भेटिने संवेदनालाई मात्र ख्याल गरे । गीतले गरेको मौन विद्रोहको रङ कस्तो छ भनेर त्यति ख्याल गरेनन्,’ यश कुमार भन्छन्, ‘गीतमा एउटा कथित तल्लो जातको प्रेमीले आफ्नो प्रेमलाई आहुति दिएर बदलामा समान सामाजिक हैसियत र पहिचान मागेको छ ।’ तर, त्यहाँसम्म पुगेर बहस भएको देखिन्न । यश कुमार गीतको पहिलो अन्तरामा बोल्छन् :
शीतको थोपा हुँ म, मन्दिरको जल होइन
नआऊ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन
शीत पवित्र कि मन्दिरको जल ? धर्मले गिजोलेको हाम्रो दिमागले जल नै भन्छ । कवि भूपिनले आफ्नो ‘सि रि या’ कवितामा भनेका छन्, ‘र, धर्म हो मानिसको खराब आविष्कार ।’ शीत, जो समुद्रबाट उडेर माथि आकाशमा पुगेर खसेको हुन्छ । स–साना दुबोका पातहरूमा अल्झिएको हुन्छ, लहरामा मुन्टाहरूमा झुन्डिएको हुन्छ ।

गीतले मन्दिरको जललाई भन्दा धेरै धर्मलाई प्रश्न ग¥यो । एक थोपा शीत, जसले आफ्नो अस्तित्वको दाबी गर्‍यो । आफ्नो परिचयको आयाम खोज्यो । यश कुमार भन्छन्, ‘दलितहरू त्यही शीत हुन्, तर धर्मले त्यो शीतलाई अपवित्र बनाइदियो । समाजले अस्तित्व मेटाइदिन खोज्यो । के हामी अरू मान्छेभन्दा भिन्न थियौँ र ?’

प्रश्न उठ्छ, यस्तो सामाजिक व्यवस्थाको निर्माण कसले गर्‍यो ? यसका लागि हामी मल्लकालीन राजा जयस्थिति मल्लतिर फर्किनुपर्छ । जसले करिब आठ सय वर्षपहिले ‘अछुत’ शब्दको बीजारोपण गरे । उनले आफ्नो जुत्ता सिलाउने मान्छेलाई परै बस्न भने । पछि, तिनलाई सार्की भन्न थालियो । यहीँबाट सुरु भयो, विभेदको अर्को सम्राज्य । उखेलेर फाल्नै नसकिने विभेदको बिरुवा रोपियो ।

पछि मनिराम गाइने, बिसे नगर्ची, दिलबहादुर रम्तेल, बागे सार्कीलगायत दलित आन्दोलनका अगुवाहरू बलीको बोको भए । ‘बलीको बोको हुनेहरू पृथ्वीनारायण शाहदेखि १० वर्षे द्वन्द्वमा पनि थिए र अहिले पनि छन् । यति हो, यसको स्वरूप मात्र फेरिएको हो,’ भन्छन् यश कुमार ।

यश कुमारको गीत कसैको विरुद्धमा थियो भने सामाजिक व्यवस्थाको विरुद्धमा थियो, समाजले निर्माण गरेको कुरूप सत्यको विरुद्धमा थियो । यश कुमारले यही गीतको वरिपरि रहेर फिल्म पनि बनाए,

‘बाटोमुनिको फूल’ । जुन फिल्म हिट पनि भयो । यश कुमार भन्छन्, ‘त्यो फिल्म त्यही चार मिनेटको गीतलाई तन्काएर दुई घन्टाको बनाइएको थियो ।’ यस फिल्मको सिक्वेल पनि आयो, राम्रो प्रतिक्रिया पनि पायो ।

उक्त फिल्म आएपछि कवि अभय श्रेष्ठले भनेका थिए, ‘यश कुमारले जे गरे, त्यो राम्रो छ, तर विभेदको जरासम्म पुग्न अझै बाँकी छ ।’ यश कुमार पनि त्यो कुरा स्विकार्छन् । भन्छन्, ‘समाजमा विभेद त कहिल्यै पनि सकिँदैन । जुन सकिनका लागि त्यो विभेद धर्मबाट बाहिर निस्किनुपर्छ, जुन असम्भव छ ।’ तर, त्यसो भन्दैमा कोसिस भने गरिरहनुपर्ने उनी बताउँछन् ।

आफ्नो गीतले विभेद झेलिरहेको वर्गको आवाजलाई बाहिर मात्र ल्याएको बताउँछन्, यश कुमार । एउटा मान्छे दलित भएर जन्मिनुमा जैविक कारण केही थिएन । तर, समाजले निर्माण गरेको कुरूप सत्य थियो । जसको कारण प्रेमले सिकार हुनुपरेको थियो । त्यही कुरालाई टिपेर बाहिर ल्याउन कोसिस मात्र गरेको यश कुमारको दाबी छ ।

यश कुमारको त्यो गीत ०५८/५९ सालतिर यसरी चल्यो कि उनले सोचेका पनि थिएनन्, त्यति चल्ला भन्ने । भन्छन्, ‘यहाँ ३३ हजार एनजिओले गर्न नसकेको काम एउटा गीतले गरिदियो ।’ गीत आएपछि धेरै मानिसले अन्तर्जातीय विवाह गरे । यसका उदाहरण उनी आफैँ हुन् । उनलाई कुनै किसिमको विभेद भएन । कारण खुलाउँछन्, ‘समाजले स्तर पनि हेर्दो रहेछ । त्यही भएर पनि हामीले आफ्नो हैसियत र स्तर बढाउनुपर्छ । समाजले पाखा लगाउन नसक्ने बन्नुपर्छ । अनि विभेद कम हुँदै जान्छ ।’

यश कुमारका प्रायजसो गीतमा उस्तै आवाज भेटिन्छ । चाहे त्यो ‘रिदम’ एल्बमका होस् या ‘तिर्खा’ एल्बमका । उनी आफैँले लेखेको, संगीत भरेको तथा गाएको एउटा गीतको अन्तरा छ :
तिमीबाट टाढा हुनु मलाई कसैको कर थियो
धेरै माया गर्थें तिमीलाई, जन्मनाता टुट्ने डर थियो
यसरी यश कुमारले गीतहरू जहिल्यै समाजले भनेको तल्लो वर्गको वेदना, आँसुको मियो समातेर गाए । प्रायः गीत आफैँले लेखे, आफैँले कम्पोज गरे र गाए । उनका गीतमा सुर र तालभन्दा अस्तित्वको खोजी र पहिचानको वकालत हुन्छ । कहीँकतै विवशता पनि झल्किन्छ :
सधैँ म रमेको हुन्छु, आफ्नै छायाको साथमा
बुझ्नै सकिनँ मैले कुन्नि के राख्या’छ जातमा …।

तपाईको प्रतिक्रिया