वसन्तको ७२ को विस्मय बजारमा - Naya Patrika
eNaya Patrika
  • ePaper

वसन्तको ७२ को विस्मय बजारमा

पत्रकार तथा लेखक वसन्त बस्नेतको ‘७२ को विस्मय’ पुस्तक बजारमा आएको छ । शनिबार काठमाडौंमा पुस्तक विमोचन भएको हो । प्रमुख अतिथि एवं नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ र लेखक स्वयंले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रथम राष्ट्रपति डा. यादवले लेखक बस्नेतले अत्यन्त मिहिनेतका साथ पुस्तक लेखेको बताए । पुस्तकमा तथ्यगत विषय प्रशस्त रहेको उल्लेख गर्दै ‘देश र मधेस बुझ्न उपयोगी पुस्तक’ भएको बताए ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले ७२ सालमा घटेका घटनाका विषयमा लेखकले तटस्थता प्रस्तुत गरेको बताए । अनुसन्धानपूर्ण तरिकाले मधेस आन्दोलनका समयका घटनालाई यथार्थपूर्ण किसिमले प्रस्तुत गरिएको उनले बताए ।

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको धारणा राखे । गहन र वर्जित विषयमा कसरी हात चलाए होलान् भन्ने लागेको उनको भनाइ थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा आएका व्यक्तिलाई संविधान निर्माणका समयमा आफूले यु आर टु लेट भनेर प्रतिक्रिया दिएको पनि भट्टराईले स्मरण गरे ।

नेकपाका नेता तथा पूर्वसभामुख नेम्वाङले मधेस आन्दोलन, नाकाबन्दी र भूकम्पजस्तो महत्वपूर्ण विषयमा पुस्तक लेखेकोमा लेखकलाई बधाई दिए । कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरमा रिपोर्टिङका क्रममा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए । फाइनप्रिन्टले प्रकाशन गरेको मोटो गाता भएको पुस्तकको मूल्य ६ सय र पातलो गाता पुस्तकको ५५५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया