पत्रकार आचार्यको अप्रिल फुल विमोचित - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार आचार्यको अप्रिल फुल विमोचित

पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ शनिबार विमोचन भएको छ । प्रज्ञा भवन कमलादीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास विमोचन गरे ।

नयाँ पत्रिका दैनिकमा कार्यरत आचार्यको यो पहिलो कृति हो । विमोचन कार्यक्रममा बोल्दै साहित्यकार धरावासीले ‘अप्रिल फुल’ले वर्तमान युवापुस्ताको मनोवैज्ञानिक भावनाको प्रतिनिधित्व गरेको बताए । अप्रिल फुल पढ्दा आफूलाई कतै अल्छी नलागेको भन्दै उनले त्यो नै उपन्यासको पहिलो सफलता भएको बताए ।

गायक हेमन्त शर्माले युवापुस्ताको प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको ‘अप्रिल फुल’ आफूलाई उत्कृष्ट लागेको बताए । ‘आचार्यको लेखनशैली र उपन्यासले समेटेको विषय तारिफगोग्य छ,’ गायक शर्माले भने, ‘यो उपन्यासले युवापुस्ताले रुचाइएको उपन्यासमा आफ्नो नाम दर्ज गर्ने विश्वास लिएको छु ।’

कवि ज्योति जंगलले उपन्यासले नारी चरित्र र भावनाको उचित प्रतिनिधित्व गरेको गरेको बताइन् । वर्तमान किशोर र युवापुस्ताको मनोभावना बुझ्न उपन्यासले सहयोग गर्ने उनको भनाइ थियो ।

लेखक आचार्यले उपन्यासले वर्तमान युवापुस्ताको मन मस्तिष्क बोलेको बताए । ‘पछिल्लो समय नेपाली किशोर पुस्तामा विकास हुँदै गएको प्रेम, विछोड, यौनसहितका मनोभावनालाई उपन्यासमा समेट्ने प्रयास गरेको छु,’ आचार्यले भने, ‘आफ्ना किशोरावस्थाका छोराछोरीको मनोभावना र क्रियाकलाप बुझ्न अभिभावकलाई यो उपन्यासले सहयोग पुर्‍याउनेछ ।’ पुस्तक युरेका पब्लिकेसनले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया