‘प्रोफिट बुक’ गर्दै लगानीकर्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

‘प्रोफिट बुक’ गर्दै लगानीकर्ता

गत साताको अन्तिम कारोबार दिनदेखि बजार निरन्तर उकालो लागेपछि साताको अन्तिम कारोबार दिन लगानीकर्ताहरू ‘प्रोफिट बुक’ गर्नतर्फ लागेका छन् । फलस्वरूप यस दिन बजारमा सामान्य करेक्सन देखापरेको छ । लगानीकर्ताले लामो समयदेखि बजारबाट नाफा आर्जन गर्न सकेका थिएनन् ।

बजार सुस्त गतिमा रहेका कारण लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका थिए । तर, अहिले बजारले गति लिएको छ । यस्तो अवस्थामा अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न यस दिन सेयर बिक्री गरेको एक ब्रोकरले बताए ।

अघिल्लो दिनको अन्तिम समयदेखि लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न थालेपछि बजारले गति लिएको हो । यद्यपि, बजारमा सेयर आपूर्ति भने बढी नै रहेको छ । बजारमा माग सिर्जना नभई अधिक आपूर्तिको व्यवस्थापन हुन नसक्ने एक लगानीकर्ताले बताए । बजार अहिले बढे पनि अघि बढ्नका लागि बजार विस्तारका कार्य र लगानीकर्ता चेतनामूलक कार्यक्रम हुन आवश्यक रहेको उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन ४ दशमलव ३६ अंक घटेर १ हजार २ सय २९ दशमलव ७७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ८१ अंक घटेर २ सय ६० दशमलव ३५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७४ कम्पनीको ८ हजार ६ सय ५३ पटकको कारोबारमा ७९ करोड ७३ लाख १९ हजार ७ सय १९ रुपैयाँबराबरको ३२ लाख ३९ हजार ९ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ६५ दशलमव ८९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण ४ अर्ब ६५ करोड रुपैयाँ घटेर १४ खर्ब ६४ अर्ब पुगेको छ ।

कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको ५ सय १२ पटकको कारोबारमा १० करोड ३४ लाख ४४ हजार रुपैयाँबराबरको ३ लाख ८ हजार १ सय ४३ कित्ता सेयर किनबेच भएको छ । ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको काबेली विकास बैंकको सेयरमूल्य यस दिन ९ दशमलव ६५ प्रतिशत बढेको छ । मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव २७ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ७४ कम्पनीमध्ये यस दिन ४७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार व्यापार, उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन अन्य समूहको परिसूचक १ दशमलव ९५ प्रतिशत, व्यापार समूहको १ दशमलव ८५ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ९२ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव ३९ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक १ दशमलव १२ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य १ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६८ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५२ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ४७ प्रतिशत र होटेल समूहको शून्य दशमलव २६ प्रतिशत घटेको छ ।

 एनआइसी एसियाको ऋणपत्र निष्कासन खुला
एनआइसी एसिया बैंक लिमिटेडले भदौ २१ गतेदेखि ‘११% एनआइसी एसिया ऋणपत्र २०८२÷८३’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ लाख ८३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने ऋणपत्रमध्ये ३ लाख ६६ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज १९ गते हुनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । बैंकले वार्षिक ११ प्रतिशतका दरले ६/६ महिनामा ब्याज भुक्तानी गर्नेछ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई केयर रेटिंस नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘केयर एनपिए’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

 अपर तामाकोसीको आइपिओ निष्कासन बन्द
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले साउन १६ गतेदेखि पहिलो चरणमा आयोजनाप्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन खुला गरेको आइपिओमा आवेदन दिने म्याद भदौ २१ गते सकिएको छ ।

कम्पनीले कुल २ करोड ६४ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले दोलखास्थित आयोजनाप्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ करोड ५ लाख ९० हजार कित्ता निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

दोस्रो चरणमा सर्वसाधारण सेयरधनीहरूका लागि आइपिओ निष्कासन आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयर बाँडफाँडपश्चात् सूचना प्रकाशित गरिनेछ । कम्पनीले सो चरणमा १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । सो सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

 सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिफल वितरण
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले भदौ २० गते करसहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल इकाइधनीहरूको बैंक खातामा जम्मा गरेको छ । योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरूको बैंक खातामा प्रतिफल जम्मा गरेको हो । हालसम्म भौतिक इकाइ धारण गरेका इकाइधनीहरूलाई योजनाले इकाइ प्रमाणपत्र अभौतिकीकरण गर्न अनुरोध गरेको छ । यस योजनको व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया