करिब २ प्रतिशत बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

करिब २ प्रतिशत बढ्यो नेप्से

बुधबार नेप्से परिसूचक १ दशमलव ९७ प्रतिशत बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि नेप्से उकालो लाग्न थालेको थियो । सूचीकृत कम्पनीहरूले लाभांश वितरण गर्ने घोषणाका कारण लगानीकर्ता त्यसतर्फ आकर्षित भएका हुन् । नेप्से निरन्तर ओरालो लागेपछि सूचीकृत कम्पनीहरूको सेयरमूल्य निकै सस्तिएको छ ।

सस्तो मूल्यमा सेयर खरिद गरी लाभांश संकलन गर्न लगानीकर्ता बजार प्रवेश गरेको एक ब्रोकरले बताए । बजार उकालो लागेपछि लगानीकर्ता उत्साहित भएका छन् । यस दिन बजार खुलेदेखि नेप्से उकालो लागेको थियो । उकालो लागेर १ हजार १ सय ४३ बिन्दुसम्म पुगेको नेप्से, अन्तिम समयमा भने सामान्य अंक करेक्सन भएर बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ताहरू आशावादी भएको एक लगानीकर्ताले बताए । बजारले सकारात्मक दिशा लिन कारोबार रकमले पनि साथ दिनुपर्ने हुन्छ । भोलि बजारमा सामान्य करेक्सन देखा परे पनि बजार बढेर नै बन्द हुने उनको अनुमान छ ।


नेप्से परिसूचक यस दिन २३ दशमलव ८९ अंक बढेर १ हजार २ सय ३४ दशमलव १३ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ५ दशमलव ३० अंक अर्थात् २ दशमलव शून्य ७ प्रतिशत बढेर २ सय ६१ दशमलव १६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६७ कम्पनीको ७ हजार ९ सय ३ पटकको कारोबारमा ७१ करोड २० लाख १६ हजार ३ सय ६ रुपैयाँबराबरको २३ लाख ८१ हजार ६ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३५ प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ६८ दशमलव ५८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ सय १८ पटकको कारोबारमा ४ करोड ९० लाख ८६ हजार रुपैयाँबराबरको २ लाख १४ हजार ७ सय ३० कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, एनएमबी बैंकको यस दिन ४ करोड ५१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

काबेली विकास बैंक र हिमालयन पावर पार्टनरको सेयरमूल्य यस दिन करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये यस दिन १ सय ४५ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

बुधबार कारोबारमा आएका ११ समूहमध्ये २ समूहको मात्र परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ८८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक २ दशमलव ८३ प्रतिशत, निर्जीवन बिमा समूहको २ दशमलव ७६ प्रतिशत, वाणिज्य बैंक समूहको २ दशमलव १६ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ११ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव ७ प्रतिशत, वित्त समूहको १ दशमलव ५५ प्रतिशत, होटेल समूहको १ दशमलव शून्य ३ प्रतिशत र अन्य समूहको शून्य दशमलव ९३ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव ६३ प्रतिशत र व्यापार समूहको १ दशमलव ३५ प्रतिशत घटेको छ ।

 कालिकाको आइपिओ
कालिका पावर कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँअंकित मूल्यका १२ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । निष्कासन बन्द छिटोमा असोज १ गते हुने भएको छ भने ढिलोमा असोज २८ गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिएको कुल सेयरमध्ये २४ हजार कित्ता कर्मचारीका लागि र ६० हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ५४ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४ दशमलव ७४ वर्ष रहेको छ ।

आर्थिक वर्ष ०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १० लाख ४० हजार १ सय २७ दशमलव ५० रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख ४० हजार ७ सय ६५ रहेको छ । कम्पनीको विद्युत् उत्पादन अनुमति पत्र बहाल रहने अवधि २०६९ जेठ १६ गतेदेखि २१०४ जेठ १५ गतेसम्म रहेकोले २९ वर्ष बाँकी रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडाै‌ क्यापिटल मार्केट लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्राएनपी आइपिओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । कम्पनीले २०७४ माघ २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र गोरखाका स्थानीय बासिन्दाका लागि ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो ।

 प्राइमको स्वतन्त्र सञ्चालकमा खरेल
प्राइम लाइफ इन्स्योरेन्सले अमृत खरेललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । भदौ १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले खरेललाई आगामी ४ वर्षका लागि सो पदमा नियुक्त गरेको हो ।

 नेपाल बंगलादेशको कम्पनी सचिवमा पौडेल
नेपाल बंगलादेश बैंक लिमिटेडले सहायक प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिव पदमा नियुक्त गरेको छ । पौडेललाई बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सो पदको कार्यभार सुम्पेको हो ।

 मिर्मिरेको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । मिर्मिरे लघुवित्त र नेपाल एसबिआई मर्चेन्टबीच साउन २२ गते सम्झौता सम्पन्न भएको थियो । भदौ २१ गतेदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सबै सम्पूर्ण कार्य गर्नेछ ।

 

तपाईको प्रतिक्रिया