जुँगा उम्रिएदेखि सफाचट काटेको छैन : भुवन केसी - Naya Patrika
eNaya Patrika
  • ePaper

जुँगा उम्रिएदेखि सफाचट काटेको छैन : भुवन केसी

मैले जुँगा पाल्न थालेको कति भयो भन्ने त हेक्का छैन, तर उम्रिएदेखि सफाचट काटेको छैन । खाली मिलाउने मात्रै गर्दै आएको छु । सिनेमामा पनि यही लुक्समा नै फिट भएँ । यो मेरो आफ्नै स्टाइल हो । अरू कोहीबाट प्रभावित भएर पालेको होइन । मेरो पहिचान हो यो । दर्शकले पनि यही लुक्सलाई मन पराउनुभयो । पराइरहनुभएको पनि छ । यही लुक्समा नै उहाँहरूको माया पाएको छु ।

अहिलेसम्म सयभन्दा बढी चलचित्रमा काम गरिसकेँ । सबैमा मेरो एउटै लुक्स छ । चरित्रमा हो फरक देखिने । मैले निर्वाह गरेको चरित्रलाई लुक्सको कारण अन्याय गरेको छु भन्ने लाग्दैन । जुँगाको कारण नराम्रो प्रतिक्रिया पनि आएको छैन । बरू धेरैले मन पराउनुहुन्छ । मेरो अभिनयसँगै जुँगाको चर्चा गर्नुहुन्छ ।

धेरै फ्यान भेटिए जसले मेरो जुँगा पाल्ने स्टाइल मन पराएर आफूले पनि त्यस्तै पाल्नुभएको छ । सिने जगत्कै भाइहरू, जो मभन्दा पछि आए उनीहरूले पनि विशेष मेरो जुँगालाई लिएर तारिफ गर्ने गर्छन् । खुसी लाग्छ । यही लुक्स नै मेरो पहिचान बनिसकेको छ । जो–कोहीले पनि भुवन केसी भन्नेबित्तिकै जुँगा भएको अनुहार नै सम्झनुहुन्छ ।

मलाई आजसम्म कोही निर्देशकले पनि लुक्स चेन्ज गर्न जुँगा काट्नुपर्छ भनेका छैनन् । मेरो न जुँगा काटिन्छ न हेयर स्टाइल नै परिवर्तन हुन्छ । सधैँ एउटै स्टाइलको हुने गरेको छ । म आफ्नो लुक्स परिवर्तन गर्ने पक्षमा छैन । लुक्सले नभएर अभिनय कलाले प्रभाव पार्नुपर्छ भन्ने विश्वास गर्छु ।

मैले जुँगा काटेर मेरो अभिनय दमदार हुने होइन । यदि कसैको जीवनीमा आधारित हो भने पात्रजस्तै देखिनका लागि मैले त्यहीअनुसारको लुक्समा परिवर्तन गर्नुपथ्र्यो, तर अहिलेसम्म त्यस्तो भूमिका गरेको छैन । मलाई फरक लुक्समा विश्वास लाग्दैन । अब बाचुन्जेल लुक्स परिवर्तन गर्दिनँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु