विकास र समृद्धिका लागि इन्जिनियरिङ शिक्षा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विकास र समृद्धिका लागि इन्जिनियरिङ शिक्षा

नेपालमा इन्जिनियरिङ शिक्षा अध्ययन सुधारोन्मुख रहेको छ । नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति लिई हालसम्म स्वदेश तथा विदेश गरी ४७ विधामा इन्जिनियरिङ शिक्षा अध्ययन–अध्यापन भइरहेका छन् । यीमध्ये नेपालका ६ विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त ४८ वटा इन्जिनियरिङ कलेजमा १७ विषय अध्ययन–अध्यापन भइरहेका छन् । सन् २०१७ सम्म नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति लिई ६ विश्वविद्यालयका ४८ कलेजमा प्रतिवर्ष नौ हजार तीन सय १९ सिट विद्यार्थी भर्ना क्षमता रहेको छ । साथै, यस परिषद्ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ६ सय शिक्षण संस्थालाई सूचीकृत गरी ती शिक्षण संस्थाबाट उत्तीर्ण भई आएका व्यक्तिलाई परिषद्मा नाम दर्ता गर्ने  गरेको छ ।

यस परिषद्मा स्वदेशी तथा विदेशी विश्वविद्यालय वा कलेजमा अध्ययन गरेर नेपाल इन्जिनियरिङ परिषद्बाट नाम दर्ता प्रमाणपत्र लिएका इन्जिनियरकोे संख्या हालसम्म ४५ हजार एक सय १७ छ । यी मध्ये ३९ हजार चार सय ७७ पुरुष र पाँच हजार ६ सय ४० महिला छन् । प्रत्येक वर्ष इन्जिनियर उत्पादन वृद्वि भइरहेको परिषद्मा दर्ता भएका इन्जिनियरको दर्ता अनुपातबाट पुष्टि गर्न सकिन्छ ।
नेपाल इन्जिनियरिङ परिषद् नियमावली, २०५७ को नियम ३ मा नाम दर्ताका लागि तीन किसिमको वर्गीकरण गरिएको छ ।

(क) साधारण दर्तावाला इन्जिनियर
(ख) व्यावसायिक इन्जिनियर
(ग) गैरनेपाली दर्तावाला इन्जिनियर

साधारण दर्तावाला इन्जिनियरको परिभाषाभित्र कुनै पनि विषयबाट स्नातक इन्जिनियरिङ उत्तीर्ण गरेका इन्जिनियर पर्दछन् । व्यावसायिक इन्जिनियरमा स्नातक उत्तीर्ण गरी इन्जिनियरिङ विषयमा नै स्नातकोत्तर तह उतीर्ण गरेका र लामो समय अनुभव सँगालेका इन्जिनियर पर्दछन् । यिनलाई परिषद्ले व्यावसायिक इन्जिनियरका रूपमा दर्ता गरेको छ । हाल यो दर्ता प्रक्रिया चलिरहेको छ । त्यस्तै, विदेशी इन्जिनियर निश्चित समयका लागि निश्चित उद्देश्य र निश्चित कामका लागि नेपालमा आएका इन्जिनियरिङ पेसा गर्ने गैरनेपाली इन्जिनियरलाई गैरनेपाली दर्तावाला इन्जिनियरका रूपमा दर्ता गर्ने गरिएको छ । यस्ता इन्जिनियरले नेपालमा रहँदा काम गर्न परिषद् बाट दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्छ ।
परिषद्ले लाइसेन्सका लागि एकीकृत परीक्षा लिने विषय परिषद्को ऐन, २०५५ व्यवस्था नभएकाले सो ऐन संशोधनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । तर, संशोधन हुन सकेको छैन । उक्त ऐन संशोधनपछि एकीकृत परीक्षा प्रणाली लागू गरिनेछ ।

इन्जिनियरिङ शिक्षाको महत्व

हाम्रोजस्तो भूपरिवेष्ठित तथा भौगोलिक विविधता भएको देशमा भौतिक विकासका काम ज्यादै कठिन छन् । देश विकास र समृद्धितर्फ अघि बढिरहेकाले इन्जिनियरिङ शिक्षाको ज्यादै महत्व छ । देशमा निर्माण हुने हरेक पूर्वाधारमा दक्ष इन्जिनियरको आवश्यकता छ । त्यसो हुँदा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता छ ।

नेपालका विश्वविद्यालय–कलेजबाट उत्तीर्ण इन्जिनियरलाई देशभित्रै रोजगारी उपलब्ध गराउन सके नेपालमा अझ बढी भौतिक संरचनाको विकास हुने देखिन्छ । इन्जिनियरिङका कतिपय विषय नेपालमा सञ्चालन नभएकाले विदेशी विश्वविद्यालय–कलेजमा विद्यार्थी अध्ययन गर्न जाने गरेका छन् । यसका लागि स्वदेशी कलेजले नै अवसरका रूपमा लिन सक्छन् । नेपालमा स्थापना भएका विश्वविद्यालय–इन्जिनियरिङ कलेजमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने उद्देश्यले परिषद्ले प्रत्येक विश्वविद्यालय–इन्जिनियरिङ कलेजको नियमन गर्नु आवश्यक छ । इन्जिनियरिङ कलेजका लागि आवश्यक पूर्वाधार तथा मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ ।

नयाँ कलेज स्थापना गर्र्दा, नयाँ विषय थपघट गर्दा, चलिरहेको विषयमा सिट संख्या थपघट गर्दा परिषद्को ऐन, नियम र विनियमअनुसार दर्ता गराई स्वीकृत लिएपछि मात्रै कक्षा सञ्चालन गर्न सकिने प्रावधान छ । त्यसको सबैले पालना गर्नुपर्ने देखिन्छ ।

ई. जोशी नेपाल इन्जिनियरिङ परिषद्का रजिस्ट्रार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु