चिकित्सा शिक्षामा उस्तै अाकर्षण - Naya Patrika
eNaya Patrika
  • ePaper

चिकित्सा शिक्षामा उस्तै अाकर्षण

डाक्टरले बिरामीको पीडा कम गर्छन् । रोगको अवस्था पहिचान गरी उपचार गर्छन् । रोग निको पार्छन्, ज्यान बचाउँछन् । त्यसैले डाक्टरलाई हाम्रो समाजमा विशिष्ट दर्जा छ । अध्ययनमा राम्रो गर्नेलाई डाक्टर बन्न प्रोत्साहित गरिन्छ । विशिष्ट अंक ल्याउनेलाई सरकार आफैँले पनि छात्रवृत्तिमा पनि निःशुल्क चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्छ ।

डाक्टरको कमाइ राम्रो हुन्छ । डाक्टरसँगै संगत गर्न पाइने हुँदा जोसुकैलाई पनि आफ्नो परिवारमा अझ आफ्नै छोरा–छोरी डाक्टर बनून् भन्ने चाहना हुनु अस्वाभाविक होइन । त्यसैले विशिष्ट अंक ल्याउन नसक्ने तर आर्थिक अवस्था राम्रो भएका विद्यार्थी र तिनका परिवारले पनि आफ्ना सन्तानलाई चिकित्सा शिक्षा अध्ययन गर्न प्रोत्साहित गर्ने गर्छन् । कतिपय अवस्थामा दबाब नै दिने गर्छन् ।

परिवारका सदस्यले भनेर वा पैसा धेरै कमाइन्छ भनेर चिकित्सा शिक्षा अध्ययन गर्न ठीक नहुने बताउँछन् डाक्टर केदारनर्सिङ केसी । ‘पैसा नै कमाउनका लागि थुप्रै पेसा छन्, जसबाट चिकित्सा पेसाबाट भन्दा सजिलै बढी कमाउन सकिन्छ,’ उनले भने, ‘साथीभाइले पढे, परिवारले कर गर्यो भनेर पढ्दै हुनुहुन्छ र मनमा द्विविधा छ भने विकल्पलाई सधैँखुला राख्नुपर्छ ।’ उनका अनुसार चिकित्सा शिक्षा सबैका लागि हुँदै होइन । यो विषय पढ्न सबैले सक्दैनन् पनि । ‘चिकित्सा शिक्षा प्राविधिक विषय पनि भएकाले यो त सेवाप्रतिको प्रतिबद्धता र जीवनभरि सिक्ने कुरासँग सम्बन्धित छ,’ केसी भन्छन् ।

अर्जुन पौडेल 

कुनै पनि विषयमा करिअर बनाउँछु भनेर निर्णय गर्नु महत्वपूर्ण काम हो । धेरैजसो चिकित्सक बिरामीको सेवा गर्न, बिरामीको पीडा कम गर्न चिकित्सक बनेको भन्ने रेडिमेड जवाफ दिने गर्छन् । ‘आफैँ तयार हुनुहुन्न भने परिवारको दबाबमा वा परिवारका मान्छेलाई खुसी पार्न चिकित्सा शिक्षा पढ्ने विचार नगर्नुहोस्,’ प्रसूतिरोग विज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने, ‘अर्काको करमा पढ्दा तपाईंले पास त गर्नुहोला, तर तपाईं खुसी हुनुहुन्न ।’ उनका अनुसार पहिलेजस्तो चिकित्सा पढ्नेले मात्र धेरै कमाउ“छन् भन्ने पनि छैन । ‘अहिले त धेरै क्षेत्र छन्, जसमा चिकित्सा पढ्नेले भन्दा धेरै कमाउन सकिन्छ । आफैँ उद्यम गर्न पनि सकिन्छ ।’

उनका अनुसार अहिलेको पुस्ता स्मार्ट छ । परिवारको दबाबमा निर्णय गरिहाल्दैन । आफ्नो चाहना यो छ भनेर स्पष्ट राख्छ । नभए विद्रोह गर्न पनि पछि पर्दैन । तर, आमाबाबु पुस्ता परिवर्तन भइसकेको छैन । उनीहरू जसरी भए पनि आफ्ना सन्तान डाक्टर बनून् भन्ने चाहना राख्छन् । धेरैजसो विद्यार्थीलाई चिकित्सा उनीहरूले सोचेभन्दा गाह्रो लाग्छ । ‘त्यसैले, आफ्नो बच्चाको रुचि केमा छ, त्यसमा ध्यान दिनुहोस्,’ उनले भने । परिवारको दबाबले डाक्टर भएकाले पछि पनि राम्रै गर्छन् भन्ने सुनिश्चितता नहुने उनले बताए । उनका अनुसार राम्रो कमाइ हुन्छ भन्ने सोचमा चिकित्सक बनेकाहरू पनि छन् । सम्पत्ति सबै सिध्याएर चिकित्सा शिक्षा अध्ययन गरेका तर पछि सोचेअनुरूप गर्न नसकेपछि ‘फ्रस्टेसन’ भएका उदाहरण पनि छन् । ‘रुचि नहुँदा–नहुँदै परिवारको दबाबमा चिकित्सक बनेकाहरू एमबिबिएसपछि केही वर्ष प्राक्टिस गरेर पेसा नै छाड्ने धेरै छन्,’ उनले भने ।
त्यस्तै कतिले पेसा नै परिवर्तन गरेका छन् । चिकित्सा शिक्षा अध्ययन सकेर विदेश गएका थोरैले मात्र यो पेसालाई निरन्तरता दिएको उनले बताए ।

कति लाग्छएमबिबिएस पढ्न ?

सरकारी कोटामा नाम निकाल्न सके एमबिबिएस निःशुल्क पढ्न पाइन्छ । सरकारले हरेक वर्ष तीन सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क एमबिबिएस पढाउदै आएको छ । सरकारी कोटामा नाम निकाल्न नसके, आरक्षण कोटामा पनि नपरे निजी लगानीमा पढ्नुपर्ने हुन्छ । सरकारी कलेजमै पढ्ने अवसर पाउनुभयो भने २५–३० लाखमा पढ्न सक्नुहुन्छ । निजीमा हो भने ४०–४५ लाख लाग्छ । प्रयोगात्मक अभ्यास, होस्टल फी आदिको थप भार पनि बहन गर्नुपर्छ । भारतका मेडिकल कलेजमा निजी लगानीमा पढ्न नेपालमा भन्दा तीन गुणा महँगो पर्छ । बंंगलादेशको पढाइ केही सस्तो छ । तर, डलरमा शुल्क बुझाउनुपर्ने, डलरको भाउ बर्सेनि बढ्ने समस्याले नेपालको भन्दा पनि महँगो पर्ने त्यहा“ अध्ययन गरेर फर्कने चिकित्सकहरू बताउँछन् ।

प्रतिस्पर्धा बढ्दै छ

हाल नेपालमा २२ हजारभन्दा बढी डाक्टर छन् । पहिलेजस्तो दुई सय डाक्टरको दरबन्दी खुल्दा २० जनाले आवेदन दिने अवस्था छैन । २० जनाको दरबन्दी खुल्दा तीन–चार सयले प्रतिस्पर्धा गर्छन् । अहिले त आफैँ लगानी गरेर वा लगानी जुटाएर पनि जागिर सुरक्षित गर्ने प्रवृत्ति बढ्दै गएको डा. जीवन क्षेत्रीले बताए ।

नेपालमा २२ हजार डाक्टर

नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा पास गर्नेको संख्या २२ हजारको हाराहारीमा छ ।
हरेक वर्ष नेपालभित्रै करिब दुई हजार डाक्टर उत्पादन हुन्छन् । काउन्सिलका अनुसार विदेशबाट करिब पा“च सयको संख्यामा हरेक वर्ष डाक्टर बनेर भित्रिन्छन् । काउन्सिलको लाइसेनिसङ परीक्षा पास गरेकामध्ये एकतिहाइ डाक्टर विदेशमा छन् । एकतिहाइ सहरी इलाकामा छन् । जनसंख्याको अनुपातमा डाक्टरको संख्या अझै पुगेको छैन । त्यसैले पनि चिकित्सा शिक्षा अध्ययन गर्न चाहनेको संख्यामा कमी छैन ।
हामीकहा“ गाउँमा डाक्टर नजाने समस्या छ । स्थानीय सरकारले पनि केही अनुदान दिएर भए पनि उनीहरूलाई गाउ“मा राख्ने प्रयत्न गर्नुपर्ने डा. केदारनर्सिङ केसी बताउ“छन् ।

डाक्टर बन्न चाहनेलाई सुझाब

नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहनेले नेपाल मेडिकल काउन्सिलको प्रवेश परीक्षा पास गर्नुपर्छ । विदेशमा पढ्न जानेले पनि पहिला प्रवेश परीक्षा पास गर्नु अनिवार्य छ । प्रवेश परीक्षा नै पास नगरी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जानेहरू पनि प्रशस्त छन् । तर, एनएमसीले प्रवेश परीक्षा सबैलाई अनिवार्य गरेकाले आफूखुसी प्रवेश परीक्षा नै नदिई चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान नहुने काउन्सिलका पदाधिकारी बताउ“छन् । यसरी आफूखुसी विदेशमा पढेर फर्कनेले काउन्सिलको लाइसेन्सिङ परीक्षामा पटक–पटक फेल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु