प्रदेश ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको प्रगति २५ देखि ८०% - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको प्रगति २५ देखि ८०%

प्रदेश ५ मा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति २५ देखि ८० प्रतिशतसम्म भएको पाइएको छ । प्रदेशमा रहेका सातवटा गौरवका आयोजनामा प्रदेश सरकारले चासो राखेपछि आयोजना प्रमुखहरूले सरकारसमक्ष प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

समयमै आयोजना सम्पन्न गराउन प्रदेश सरकारले चासो बढाएको छ । केन्द्र सरकारअन्तर्गतका आयोजना भए पनि राष्ट्रिय गौरवका आयोजनाले प्रदेशकै विकासमा सहयोग पुग्ने भएकाले सरकारले चासो बढाएको हो ।

प्रदेशमा सञ्चालित आयोजना प्रमुखहरूले प्रदेश सरकारलाई मंगलबार प्रगति विवरण प्रस्तुत गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलसहित प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिवहरूसहितको छलफलमा आयोजना प्रमुखहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए । सरकारलाई लुम्बिनी गुरुयोजनादेखि मध्यपहाडी पुष्पलाल लोकमार्ग तथा हुलाकी राजमार्गसम्मका आयोजना प्रमुखहरूले प्रदेश सरकारसमक्ष प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कुन आयोजनाको प्रगति कति ?
लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत
लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गरे धेरै पर्यटक भित्र्याउन सकिने प्रदेश सरकारको विश्वास छ । लुम्बिनी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बन्न सक्ने भएकाले प्रदेश सरकारले सुरुदेखि नै चासो बढाएको छ । तर, लुम्बिनी गुरुयोजनाका काम सन्तोषजनक रूपमा अगाडि बढेको पाइँदैन ।

लुम्बिनीलाई पर्यटनमैत्री बनाउनुपर्नेदेखि विभिन्न पक्षमा सुधार गर्नुपर्नेछ । लुम्बिनी क्षेत्र विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार लुम्बिनीमा विभिन्न संरचना बन्ने क्रम जारी छन् । ०४२ सालदेखि सुरु भएको गुरुयोजनाको काम पूरा गर्न अझै चार वर्ष लाग्ने अनुमान गरिएको छ । त्यसका लागि ६ अर्ब १९ करोड खर्च लाग्ने अनुमान छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १० महिनामा सञ्चालनमा ल्याउने दाबी
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम १० महिनाभित्रै सम्पन्न हुने आयोजना प्रमुखको दाबी छ । आयोजना प्रमुख इन्जिनियर ओम शर्माले ५५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । चालू रहेको विमानस्थलभन्दा दोब्बरभन्दा पनि बढी क्षेत्रफलमा विमानस्थल विस्तार हुँदै छ ।

भेरी–बबई डाइभर्सनको काम २५ प्रतिशत
प्रदेश ५ मा रहेको अर्को महत्वपूर्ण आयोजना भेरी–बबई डाइभर्सन हो । आयोजनाका प्रकाश पुडासैनीका अनुसार अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यस आयोजनाले बर्दियाको ४१ हजार र बाँकेको १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्य छ । सोही आयोजनाबाट विद्युत् उत्पादनको पनि लक्ष्य राखिएको छ ।

बबई सिँचाइ आयोजना
बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठका अनुसार सो आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भएको छ । सो आयोजना ०७८ सम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । ‘नेपालको पानी नेपालमै’ भन्ने विषयलाई प्राथमिकता दिएर कामलाई तीव्रता दिएको श्रेष्ठको भनाइ छ ।

सिक्टा सिँचाइको प्रगति ५७ प्रतिशत
बाँकेमा रहेको सिक्टा सिँचाइको प्रगति ५७ प्रतिशत छ । ०६२/६३ बाट सुरु भएको सो आयोजनालाई ०७६/७७ मा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाका प्रवीण श्रेष्ठ बताए ।

सडकका काममा सुस्तता
प्रदेसका राष्टिय गौरवका आयोजना अन्तरगत मध्यपहाडी पुष्पलाल लोकमार्ग तथा हुलाकी राजमार्ग समेत रहेका छन । प्रदेसका सात वटा राष्टिय गौरवका आयोजना मध्ये हुलाकी राजमार्ग अन्तरगत प्रदेसको पस्चिम खण्डको प्रगतिका वारेमा वाँकेका आयोजना प्रमुख कृष्णनाथ ओझाले प्रदेस सरकारका मुख्यमन्ती तथा मन्तीहरू समक्ष विवरण प्रस्तुत गरेका थिए ।

यस कार्यालयले दाङ, वाँके र वर्दिया जिल्लामा पर्ने हुलाकी राजमार्गको काम हेर्ने गर्दछ । कार्यक्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गको प्रगतिका वारेमा आयोजना प्रमुख सुर्य वहादुर भाटले अवगत गराएका थिए । यी सडकहरूको काम अलि सुस्त गतिमा भएको गुनासो छ ।

पर्यटनमैत्री वातावरण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन
मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न आयोजनाहरूको प्रगति विवरण प्राप्त गरेपछि कामको गति बढाउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने बताए । उनले काम गर्न कुनै समस्या भए प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । सामूहिक प्रतिबद्धता र अठोटका साथ अगाडि बढेमा विकास निर्माणका कामले गति लिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया