अर्जुनधारा नगरपालिकामा पुनः बालिका बलात्कृत - Naya Patrika
eNaya Patrika
  • ePaper

अर्जुनधारा नगरपालिकामा पुनः बालिका बलात्कृत

अर्जुनधारा नगरपालिका २ मा ४ वर्षीया बालिका बलात्कृत भएको १० दिनपछि फेरि ९ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।

शुक्रबार अपरान्ह ७० वर्षीय बृद्ध मानबहादुर बानियाँले ३ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बालिकाको नजिकका छिमेकी रहेका बृद्धले बालिकालाई कुखुराको खोरमा लगेर बलात्कार गरेको जनाइएको छ ।

स्कूलबाट घर फर्किएकी बालिका घरनजिकै अम्बक टिप्न गएकी थिइन् । आमाले सानोमानै छाडेर अर्कैसँग गएको र बाबुले पनि अर्को विवाह गरेकाले बालिका हजुरआमासँग बस्दै आएकी थिइन् ।

बलात्कार गर्दै गरेको स्थानीयले देखेपछि फरार भएका बृद्ध ३ किलोमिटर टाढा चिनजानका व्यक्तिको घरमा लुकेका थिए । लुकेर बसेका बानियाँलाई पक्राउ गर्न गएका प्रहरीलाई पटक पटक घरमा कोही छैन, भन्दै फर्काइएको थियो ।

बलिकाको आफन्त र स्थानीयले बलात्कारी लुकाउने अझ बढी अपराधी भएको भन्दै घरलाई घेरा हालेर बसेका थिए । यस्ता अपराधीलाई प्रहरीको जिम्मा नलगाई त्यही मार्दिने भन्दै स्थानीय आक्रोस भएपछि, भीड नियन्त्रणमा लिन डिएसपी कृष्णप्रसाद कोइरालासहित थप प्रहरी टोली खटिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले बानियाँ सहित घरधनीलाई राति ९ वजे नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बालिकालाई राति नै स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्रयायो । तर, महिला डक्टर नहुँदा बालिकाको सामान्य स्वास्थ्य जाँच मात्र गरियो । स्वास्थ्य परीक्षणको लागि शनिबार पुनः बालिकालाई मेची अञ्चल अस्पताल लगिएको छ ।

लगातार यस्ता घटना हुन थालेपछि मानवअधिकारकर्मी, महिला अधिकारकर्मी तथा सामाजिक अगुवाहरु त्यसको विरोधमा सडकमा उत्रिएका छन् ।

बलात्कार लिंगले होइन, क्रुर अपराधीले गर्छ । त्यस्तालाई तत्काल कार्रवाही गरेर जीवनभर जेल हाल्नुपर्ने विषयमा संसदमा कुरा उठाउने क्षेत्र नं २ झापाकी प्रतिनिधी सभा सदस्य पवित्रा निरौला खरेलले बताइन् ।

अर्जुनधारा नगरपालिकामा पछिल्ला १५ दिनमा बलात्कारको यो तेस्रो घटना हो । १६ साउनमा ४ वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै राति १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको थियो ।

तपाईको प्रतिक्रिया