जहाँ पुग्छन् नेपाली ध्वजावाहक विमान - Naya Patrika
eNaya Patrika
  • ePaper

जहाँ पुग्छन् नेपाली ध्वजावाहक विमान

विदेशी वायुसेवा कम्पनीको यात्रामा भाषाको झन्झट, असामान्य व्यवहार र कतिपय अवस्थामा इनफ्लाइट खानाका कारण पनि नेपाली यात्रुलाई असहज लाग्न सक्छ । तर, अब केही लोकप्रिय गन्तव्यको भ्रमणमा विदेशी वायुसेवाको मात्र भर पर्नुपर्ने अवस्था छैन । नेपाली तीनवटा वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर नेपाली झन्डा बोकेर विदेशी विमानस्थलको धावनमार्गमा दौडिन्छन् ।

नयाँदिल्ली (भारत)
भारतको राजधानी नयाँदिल्ली नेपालीहरूको वैदेशिक भ्रमणको सबैभन्दा लोकप्रिय र नजिकको गन्तव्य हो । दिल्ली घुमघाम मात्र नभई धेरै नेपालीको जनजीविकासँग पनि जोडिएको गन्तव्य हो । उपचार, व्यापार व्यवसाय र विशुद्ध घुमघामका लागि पनि धेरै नेपाली नयाँदिल्ली जाने गर्छन् । यस गन्तव्यमा नेपाल वायुसेवा निगम (नेवानी)ले दैनिक उडान गर्छ । निगमले यस रुटमा ९ हजार रुपैयाँ (एकतर्फी) हाराहारी भाडा लिन्छ ।

बेंग्लोर (भारत)
ऐतिहासिक सहर बेंग्लोरमा नेवानीले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्छ । सूचना र प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको यो सहरमा भ्रमण तथा अध्ययनका लागि पनि धेरै नेपाली पुग्ने गर्छन् । यस रुटमा नेपाल वायु सेवाले १३ हजार रुपैयाँ हाराहारीमा एकतर्फी सेवा दिन्छ ।

मुम्बई (भारत)
भारतको अर्को मत्वपूर्ण सहर हो मुम्बई । यस सहरमा नेवानिले काठमाडौंबाट साताको तीन उडान गर्छ । आइतबार, बुधबार र शुक्रबार नेवानिले उडान गर्छ । मुम्बई भारतको व्यापारिक तथा फिल्मी सिटीका रूपमा पनि चर्चित छ । यस रुटमा नेवानिले करिब १२ हजार रुपैयाँमा एकतर्फी उडान गर्छ ।

बनारस (भारत)
भारतको धार्मिक राजधानीका रूपमा परिचित बनारसमा बुद्ध एयरले उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीमध्ये बुद्धले बनारसमा मात्र उडान गरिरहेको छ । बुद्धले एकतर्फी १२ हजार रुपैयाँमा सेवा दिइरहेको छ । बुद्धले निकट भविष्यमा नेपालगन्ज दिल्ली उडान गर्ने योजना बनाएको छ ।

दमाम (साउदी अरेबिया)
साउदी अरेबियामा अहिले हिमालय एयरलाइन्सले मात्र नेपालबाट सीधा उडान गरिरहेको छ । नेवानीले पनि निकट भविष्यमै वाइडबडी जहाजबाट सेवा विस्तारको तयारी गरिरहेको छ । दमाम सहर साउदीमा तेलको राजधानीका रूपमा चर्चित छ । यस रुटमा हिमालयले करिब २३ हजार रुपैयाँ एकतर्फी उडान गरिरहेको छ । दमाममा हिमालयले हप्तामा दुई दिन बुधबार र शनिबार उडान गर्छ ।

दोहा (कतार)
कतारको राजधानी दोहा नेपालीहरूका लागि लोकप्रिय ट्राभल हब हो । खासगरी नेपालीले नै दुःख गरेर बनाएको यो सहरमा पनि नेपालका दुई वायुसेवा कम्पनी नेवानी र हिमालय एयरलाइन्सले उडान गर्छन् । दोहामा दुवै एयरलाइन्सको दैनिक उडान छ । मानवनिर्मित संरचनाबाट संसारलाई चकित पारिरहेको यस सहरमा नेवानि र हिमालयन दुवैले १९ हजार हाराहारीमा सेवा दिन्छन् । अहिले नेवानिले भने प्रमोसनल फेयरअन्तर्गत एकतर्फी ११ हजार रुपैयाँमै वाइडबडी जहाजबाट सेवा दिएको छ ।

दुबई (युइए)
युनाइटेड अरब इमिरेट्सको राजधानी हो– दुबई । मानवनिर्मित संरचनामा विश्व समुदायसँग तीव्र प्रतिस्पर्धा गरिरहेको यस सहरमै संसारको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खालिफा छ । लक्जरी ट्राभलका लागि संसारभरका पर्यटक यहाँ आउँछन् । यस सहरमा हिमालय एयरलाइन्सले सातामा चार उडान गर्छ भने नेवानिले दैनिक उडान गर्दै आएको छ ।

क्वालालम्पुर (मलेसिया)
मलेसियाको राजधानी क्वालालम्पुर धेरै नेपालीले सहजै घुम्न सक्ने गन्तव्य हो । भव्य मानवनिर्मित संरचनाले यो सहरमा धेरै पर्यटक आकर्षित गर्छ । मलेसियामा हिमालय एयरलाइन्सले साताको तीन र नेवानिले साताको चार उडान गर्छन् । यस रुटमा पनि नेवानिले करिब १९ हजार र हिमालयले २० हजार लिन्छन् ।

हङकङ
लाहुरेहरूले धेरै यात्रा गर्ने सहर हो हङकङ । यहाँ नेवानिले सोमबार, बुधबार र शुक्रबार उडान गर्छ । ट्रान्जिट हबका रूपमा पनि परिचित यस सहरले पनि बर्सेनि हजारौँ नेपालीलाई आकर्षित गरिरहेको छ । यहाँ नेवानिले करिब ३२ हजार रुपैयाँमा सेवा दिन्छ ।

तपाईको प्रतिक्रिया