अफसिजनको यात्रा नेपालीलाई ६० प्रतिशतसम्म सस्तो - Naya Patrika
eNaya Patrika
  • ePaper

अफसिजनको यात्रा नेपालीलाई ६० प्रतिशतसम्म सस्तो

नेपालमा पर्यटकीय दृष्टिकोणबाट वर्षायाम अफसिजन मानिन्छ । खासगरी नेपालको कमजोर भौतिक पूर्वाधार, प्रकृतिमा आधारित पर्यटकीय प्रडक्ट र व्यवस्थापकीय समस्याका कारण वर्षात्मा कम मात्र विदेशी पर्यटकले नेपाल भ्रमणको योजना बनाउँछन् । विभिन्न मिटिङ, छलफल, व्यापार–व्यवसाय तथा खास उद्देश्यले आउने विदेशी मात्र यस सिजनका मुख्य पाहुना हुन् ।

यस मौसममा आन्तरिक पर्यटकलाई समेत घुमघामको मौका मिल्दैन । बालबालिकाको पढाइ, पेसा–व्यवसाय र बिदाको समयलगायतलाई ध्यानमा राखी यात्राको योजना बनाउनुपर्ने हुन्छ । त्यसकारण वर्षायाममा नेपालका मुख्य पर्यटकीय गन्तव्य सुनसानप्रायः हुन्छन् ।

तर, ती गन्तव्यका व्यवसायीले भने आफ्नो व्यवसाय बन्द गरेका हुँदैनन् । त्यसकारण वर्षायाममा घुमघाम र यात्रामा निस्कने नेपालीले पर्यटकीय सिजनको तुलनामा ६० प्रतिशतसम्म सस्तो मूल्यमा सेवा प्राप्त गर्ने व्यवसायीहरू बताउँछन् ।

होटेलमा सस्तो प्याकेज
काठमाडौं उपत्यकासहित देशभर हजारौँ होटेल सञ्चालनमा छन् । वर्षायाममा यी होटेल पाहुनाको पर्खाइमा हुन्छन् । त्यसकारण काठमाडौंसहित पोखरा, चितवन, दोलखा, विराटनगर, सुर्खेत या दैलेख जहाँ पुगे पनि होटेलमा मूल्यको बार्गेनिङ गरेर वास बस्न सकिन्छ ।

होटेल संघ नेपाल (हान)का अध्यक्ष अम्मरमान शाक्य भन्छन्, ‘हामीले होटेल खोलिसकेपछि कोठा रित्तै राख्नुभन्दा पनि सस्तैमा भए पनि बेचौँ नै भन्ने मान्यता हुन्छ, त्यसैले पनि यस मौसममा घुमघाममा निस्कँदा होटेल खर्च निकै सस्तो पर्छ ।’ उनका अनुसार मुख्य पर्यटकीय मौसमको तुलनामा होटेलको सेवा देशभर औसत ५० प्रतिशतसम्म सस्तो पर्छ ।

गर्मी छल्दै तराईको यात्रा
वर्षात्को समयमा चितवन, नवलपरासी, बर्दिया या कञ्चनपुरजस्ता पर्यटकीय गन्तव्यको यात्रामा निस्कँदा सामान्य अवस्थामा भन्दा केही प्रडक्ट हेर्न र उपयोग गर्ने मौका नमिल्न सक्छ । यो मौसम तराई भेगको गर्मी छल्दै यात्रा गर्न मनपराउनेका लागि उपयुक्त हो ।

किनकि नियमित वर्षात्ले तापक्रम घटेको हुन्छ भने जाडोयाममा झैँ अधिक चिसोको सामना पनि गर्नुपर्दैन । क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार वर्षात्मा जंगलभित्र हुने जिप सफारी सम्भव छैन ।

त्यसबाहेक हात्ती सफारी, बोटिङ, जंगलको दृश्यावलोकनलगायत अन्य प्रडक्ट यथावत् हुन्छन् । चितवनका होटेलमा अहिले २५ प्रतिशतसम्म सस्तो मूल्यमा कोठा पाइने उनले जानकारी दिए ।

क्षेत्रीय होटेल संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीका अनुसार वर्षात्को समयमा शुल्लाफाँटा वन्यजन्तु आरक्षभित्र कुनै पनि पर्यटकीय गतिविधि सम्भव छैन । तर, धार्मिक गन्तव्यका लागि खप्तड, बडिमालिका या अन्य आसपासका गन्तव्यलाई लक्षित गरी व्यवसायीले प्याकेज उपलब्ध गराउँछन् । यस मौसममा सुदूरपश्चिम भेगको यात्रा पनि सामान्य अवस्थाको तुलनामा २०÷२५ प्रतिशत सस्तो पर्छ ।

पूर्वी नेपालको सहुलियत यात्रा
पूर्वी नेपालका मुख्य गन्तव्य विराटनगर, इलाम, धनकुटालगायत भेगमा यात्रामा निस्कन चाहने नेपालीले पनि यस मौसममा सहुलियत प्राप्त गर्छन् । क्षेत्रीय होटेल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठका अनुसार पूर्वी नेपालका होटेलले आफ्नो सेवा २५–३० प्रतिशतसम्म सस्तोमा बेचिरहेका छन् ।

यस मौसममा जिल्ला सदरमुकाम तथा मुख्य पर्यटकीय गन्तव्यभन्दा बाहेक पदयात्रा या अन्य गतिविधि भने वर्षाका कारण प्रभावित हुन्छन् । भेडेटार, इलामको कन्याम, अन्तुडाँडालगायत गन्तव्यमा भने बाह्रैमास पुग्न सकिन्छ ।

हिमालमा कठिन
वर्षात्मा ‘लङ ड्राइभ’मा निस्कने र सफा सहरमा सिटी टुरका लागि निस्कने पनि बढ्दैछन् । तर, नेपालका सहर सिटी टुरका लागि विकसित भइसकेका छैनन् । नेपालको मुख्य आकर्षण हिमाल हो । तर, वर्षात्को समयमा हिमाली भेगको यात्रा भने कठिन हुन्छ । त्यसकारण नेपालीले धेरै उच्च हिमाली भेगको यात्रामा निस्कने आँट पनि गर्दैनन् ।

o  वर्षायाममा निस्कनुअघि मौसमको जानकारी राख्नुहोस्
o  होटेल, सवारीसाधन र अन्य प्याकेज निश्चित गरेर मात्र यात्रामा निस्कनुहोस्
o  अन्धाधुन्ध यात्रामा ननिस्कनुहोस्
o  वर्षात्मा बाहिरको पानी प्रदूषित मानिन्छ, खानपिन र सरसफाइमा सचेत हुनुहोस्
o  आवश्यक औषधि बोक्नुहोस्
o  सडकको अवस्था र वायुसेवाको उडानबारे पर्याप्त जानकारी लिएर मात्र यात्रामा निस्कनुहोस्

तस्बिर : नेपाल पर्यटन बोर्ड

तपाईको प्रतिक्रिया