प्रदेश ३ मा २० करोड लगानीमा नमूना बस्ती बनाइने - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ३ मा २० करोड लगानीमा नमूना बस्ती बनाइने

प्रदेश ३ को सरकारले छरिएर रहेका विपन्न, सुकुम्बासी र भूमिहीन परिवारलाई एकीकृतरुपमा राख्ने गरी नमूना बस्ती निर्माणको लागि काम अधि बढाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा विपन्न समुदायलाई सबै सुविधा एकैस्थानमा उपलब्ध गराउने भनी वस्ती स्थापना गर्न लागिएको बताइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा बस्ती निर्माणका लागि २० करोड रुपैँया छुट्याएर तयारी अघि बढाएको छ ।

पानी, सडक, विद्युत्, विद्यालय, स्वास्थ्यचौकी, पार्क, तालिम हल, खेलमैदानसहितको सुविधा बस्तीमा निर्माण गरिने मुख्यमन्त्री पौडेलले बताए । एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुसार पहिलो चरणमा हेटौंडा १८, मानेभञ्ज्याङमा स्थलगत निरीक्षण गरिएको छ ।

मानेभञ्ज्याङमा रहेको गोरक्षेश्वर सामुदायिक बन र ज्योति सामुदायिक बनसँग जोडिएको २० बिगाहा क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माणको लागि निरीक्षण गरिएको छ । मुख्यमन्त्री पौडेलसहित सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन्।

निर्माण गरिने वस्तीमा करिब ४ सय आर्थिक विपन्न परिवारलाई राख्ने गरी तयारी थाल्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् । देशकै नमूना बस्तीका रुपमा रहने गरी काम थाल्न लागिएको मुख्यमन्त्री पौडेलले बताएका छन् ।

बस्ती निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले शहरी विकास मन्त्रालयलाई सिनियर डिभिजन इन्जिनियरसहित कर्मचारी पठाउन आग्रह गरेको छ ।

भूमि व्यवस्थापनका कार्यक्रमलाई आगामी ३ वर्षसम्म निरन्तररुपले सञ्चालन गरी भूमिहीन र सुकुम्बासी समस्यालाई दीगो रुपमा समाधान गर्ने योजना रहेको र प्रदेशका अन्य जिल्लामा पनि सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने लक्ष्य राखिएको पौडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया