हाइटकै कारण स्वर्ण गुमाएँ : आयषा शाक्य - Naya Patrika
eNaya Patrika
  • ePaper

हाइटकै कारण स्वर्ण गुमाएँ : आयषा शाक्य

नेपाली खेल क्षेत्रमा सानो उमेरमा धेरै सफलता पाउने खेलाडीमा आयषा शाक्यको नाम सधैँ चर्चामा रहन्छ । अहिले खेल क्षेत्रमा एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को चर्चा छ । नेपाललाई एसियाडमा पदक दिलाउने खेलाडीको कुनै न कुनै रूपमा सम्झनामा हुने गर्छ । एसियाडको इतिहासमा नेपालका लागि सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडी बनेकी आयषा नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) र एसियाडमा पदक जिताउँदै नयाँ पुस्ताको आदर्शका रूपमा समेत रहँदै आएकी छिन् ।

आयषा शाक्य, एसियाड कांस्य विजेता, तेक्वान्दो

रहर प्यासन बन्यो
ललितपुरको पाटनमा जन्मिएकी आयषा सानैबाट आफ्नो फरक स्वभावका कारण चर्चित थिइन् । टोलका दाइहरूसँग खेल्न सधैँ उत्साही हुने आयषाले आफ्नो ‘स्पोर्टी नेचर’कै कारण रहर पूरा गर्न खेल्न थालिन् । उनका बुबाले छोरीको खेलप्रतिको लगावलाई मर्न दिएनन् र स्वतन्त्र रूपमा खेलमा छोडिदिए । ‘अब खेल्नमै छोडिदिऊँ भन्नुभयो र बुबाकै साथी ईश्वरमान वज्राचार्य तेक्वान्दोको पनि गुरु हुनुहुन्थ्यो । उहाँले नै मलाई खेल्दा पनि हुन्छ, केही नभए सेल्फ डिफेन्सका लागि हुन्छ भनेर तेक्वान्दो खेल्न भन्नुभयो ।’

१९ वर्षमै एसियाडमा कांस्य
आयषाले तेक्वान्दोलाई करिअरका रूपमा अघि बढाएपछि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एकपछि अर्को ठूलो सफलता प्राप्त गर्दै गइन् । १९ वर्षीया आयषाले चीनकी खेलाडीलाई पराजित गर्दै दोहा एसियाडमा नेपाललाई कांस्य दिलाएकी थिइन् । उनी एसियाडमा कम उमेरमा कांस्यपदक जित्ने खेलाडी बनिन् । तर, २०१४ को इन्चोन एसियाडमा १७ वर्षकी विमला तामाङले आयषाको रेकर्ड तोडिन् ।

खेल नहुँदा अन्योल
आयषा आफूले खेल्दादेखि नै खेलाडी एक्सपोजर हुन नसक्नुलाई एउटा समस्याका रूपमा लिन्छिन् । शाक्य भन्छिन्, ‘खेल्ने अवसर भएन, अफिसियल खेलमा मात्र भाग लिएका कारण पनि हामी केही तल परेको आभास हुन्छ ।’ २००५ मा सिनियर राष्ट्रिय टिममा परेपछि उनले पछि फर्केर हेर्नुपरेन । एक वर्षपछि नैै उनले २००६ को दोहा एसियाडमा नेपाललाई कांस्य दिलाएकी थिइन् । आयषाले कांस्य जित्दा नेपाली खेलाडीले लगातार अभ्यास र दक्षिण कोरियामा ४२ दिनजति एक्सपोजको मौका पाएका थिए । उनको करिअरमा धेरै सम्झना आउने खेलका रूपमा उनले ११औँ सागको स्वर्ण र १५औँ एसियाडको कांस्य नै रहेको छ ।

कसैको अपेक्षा थिएन
१५औँ एसियाडमा दीपक विष्ट र मनीता साहीले कांस्य जितिसकेका थिए । यता, नेपाली मिडियामा नेपालले थप पदक जित्न नसक्ने समाचारहरू आइरहेका थिए । तर, आयषाले नपत्याउने पाराले नेपाललाई दोहा एसियाडमा थप एक कांस्यपदक दिलाइन् । आफ्नो खेल बाँकी रहँदै मिडियामा आएका समाचारले आयषालाई धेरै चोट पु-याएको थियो । ‘ती समाचार सुन्दा मलाई दुःख लागेको थियो,’ १२ वर्षअघि फर्कंदै आयषाले भनिन्, ‘किनभने त्यसवेला मेरो खेल बाँकी नै थियो ।’

बुबा मिडियामै गएपछि
धेरैले आयषाले पदक नजित्ने अनुमानकै आधारमा पदक ल्याउने खेल समाप्त भएको समाचार लेखे । त्यस्तो समाचार सार्वजनिक भएपछि घरमा आयषाका बुबालाई साह्रै असह्य भयो । बुबाले मिडियाहरूमा गएर खेल नसकी पदक आउँदैन भनेर किन समाचार लेखेको भनेर झगडा गरे ।

‘पदक जित्नुपर्छ भनी रातभर निद्रा लागेन,’ एरिनामा उत्रने अघिल्लो रातबारे आयषा भन्छिन्, ‘पदक ल्याउनका लागि चीनका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । चिनियाँ खेलाडीलाई हराउनु आफैँमा ठूलो चुनौती थियो । पहिलो चरणमा बनाएको एक अंकलाई तेस्रो चरणसम्म जोगाउन सकेँ ।’ चिनियाँ खेलाडीलाई हराएर कांस्य जित्दा आयषालाई जीवनकै ठूलो सफलता प्राप्त गरेको महसुस भयो । ‘जब मैले चिनियाँ खेलाडीलाई हराएर पदक जितेँ, त्यो क्षण मेरो जीवनकै ठूलो उपलब्धि हो । जुन खेल सम्झिँदा अहिले पनि फरक महसुस हुन्छ, सम्झना ताजा भएर आउँछ,’ उनी भन्छिन् ।

हाइटले धोका दियो
नेपाली तेक्वान्दो इतिहासमा सविता राजभण्डारी, संगीना वैद्यपछि आयषा सर्वाधिक सफल खेलाडीका रूपमा रहेकी छिन् । तर, कतिपय अवस्थामा उनलाई हाइटले पनि धोका दिएको थियो । हाइटकै कारणले पदक गुमाउनुपरेको उदाहरण उनी प्रस्तुत गर्छिन् । पछिल्लो उदाहरणका रूपमा उनी भारतमा भएको १२औँ सागलाई लिन्छिन् । फाइनलमा अग्रता लिइरहेकी आयषाले हाइटकै कारण स्वर्ण गुमाइन् । ‘फाइनलमा मैले लिड गरिरहेकी थिएँ । भारतीय खेलाडी मभन्दा हाइटी थिइन् । उनले टाउकोमा प्रहार गर्दै अंक बराबरी गरिन् । त्यसपछि खेल सडन डेथमा पुग्यो ।

यो राउन्डमा पहिलो स्कोर जसले गथ्र्यो उसले जित्थ्यो । खेल सडन डेथमा पुगेपछि स्वाभाविक रूपमा मलाई दबाब फिल भयो, भारतीय खेलाडीले हाइटको फाइदा उठाउँदै स्वर्ण जिते ।’ आयषालाई त्यो घटना सम्झिँदा अहिले पनि दुःख लाग्छ । नरमाइलो लाग्छ । एसियन च्याम्पियनसिपको एउटा घटना उनलाई अहिले पनि ताजै लाग्छ । उनी भन्छिन्, ‘फिलिपिन्सकी एक खेलाडीमाथि लिड गरिरहेको थिएँ । उसले पनि हाइटको फाइदा उठाउँदै टाउकोमा दुईपटक टच गरेर मलाई हराउँदा आफ्नो हाइटप्रति आफैँलाई नरमाइलो लाग्यो ।’ अहिले पनि आयषालाई होचा खेलाडी मैदानमा उत्रँदा उनीहरूले कसरी खेल्छन् जस्तो लाग्छ । तर, सान्त्वना भने दिन्छिन् ।

आत्मविश्वासले हराएँ पाकिस्तानलाई
जीवनमा अर्को नबिर्सिने खेलका रूपमा आयषा २००६ को सागको फाइनललाई लिन्छिन् । आयषाले कोलम्बो सागमा लगभग स्वर्ण जितिसकेकी थिइन्, तर रेफ्रीका कारण उनी रजतमै सीमित भइन् । ‘रेफ्रीको कारणले हातमा आएको स्वर्ण भारतीय खेलाडीले पाए,’ आयषा भन्छिन् । यस नतिजाले उनलाई ठूलो चोट पुग्यो । आयषा भन्छिन्, ‘त्यसको रिकभर २०१० मा भएको ११औँ सागमा स्वर्ण जित्दै पूरा गरेँ ।’ ढाकामा पहिलो खेलमा पाकिस्तानका खेलाडीले अग्रता लिइसकेका थिए । ‘४–० ले पछि थिएँ, तर दोस्रो र तेस्रो चरणमा पुग्दा मैले खेल ९–६ ले जितेँ, एकदम धैर्यपूर्वक खेल्दै पुनरागमन गर्न सफल भएँ,’ सागकै पहिलो स्वर्ण जित्दाको क्षण सम्झँदै उनले भनिन्, ‘मैले फाइनलमा भारतकै खेलाडीलाई हराएर स्वर्ण जित्दै २००६ को बदला पूरा गरेँ ।’

तपाईको प्रतिक्रिया