थिबाउटको सपना पूरा - Naya Patrika
eNaya Patrika
  • ePaper

थिबाउटको सपना पूरा

बेल्जियमका गोलरक्षक थिबाउट कोउटोरिसले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरेलगत्तै आफ्नो सपना पूरा भएको बताएका छन् । नयाँ सिजनको खेलाडी किनबेचको अन्तिम समयमा चेल्सीबाट म्याड्रिडमा गएका गोलरक्षक थिबाउटले स्पेनिस महारथी क्लबबाट खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएका हुन् ।

३ करोड ५० लाख पाउन्ड
रियल गोलरक्षक पोजिसन बलियो बनाउन रसिया विश्वकपको गोल्डेन ग्लोब्स विजेता थिबाउटमाथि केन्द्रित भएको थियो । थिबाउटको प्रेरणादायी प्रदर्शनकै कारण बेल्जियम इतिहासमा पहिलोपटक विश्वकपमा तेस्रो भएको थियो । विश्वकपपछि थिबाउटले चेल्सीसँगको सम्बन्ध लामो नहुने जनाएका थिए । रियलले थिबाउट भित्र्याउनका लागि अन्तिम समयसम्म प्रयास ग-यो । थिबाउट स्वयंले रियल जाने इच्छा देखाएपछि चेल्सीले उनलाई ३ करोड ५० लाख पाउन्डमा रिलिज गरेको हो । थिबाउटले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।

दोस्रोपटक स्पेनिस क्लबमा
सन् २०११ मा थिबाउट बेल्जियमकै जेन्कोबाट चेल्सीमा आबद्ध भएका थिए । त्यसको एक वर्षपछि उनी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा लोनमा अनुबन्धित भए । म्याड्रिडमा दुई सिजन बिताएपछि उनी २०१४ मा पुनः चेल्सीमा आए । लगातार तीन सिजनमा चेल्सीका लागि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका थिबाउटले कतिपय अवस्थामा विश्वकै धनी क्लबसँग आबद्ध हुने इच्छा व्यक्त गरेका थिए । बिहीबार राति सानैदेखि देखेको सपना पूरा भएको प्रसंग उनले उठाएका छन् । ‘रियल म्याड्रिडबाट खेल्ने मेरो सानैदेखिको सपना थियो, जुन आज पूरा भएको छ,’ थिबाउटले भने, ‘चेल्सीमा बिताएका हरेक पल याद आइरहनेछ ।’

केपा आएपछि थिबाउट बाहिर
चेल्सीले स्पेनिस क्लब एट्लेटिको विल्बाओबाट गोलरक्षक केपा एरिजाबालागलाई विश्वकीर्तिमानी रकममा अनुबन्ध गरेपछि नम्बर एक गोलरक्षक थिबाउट बाहिरिएका हुन् । चेल्सीले नयाँ सिजनमा सबैभन्दा बढी रकम खर्चंदै केपालाई भित्र्याएको हो । चेल्सीले केपालाई ल्याउन गोलरक्षकका लागि अहिलेसम्मको विश्वकीर्तिमानी रकमका रूपमा ७ करोड १० लाख पाउन्ड खर्चियो ।

परेजद्वारा सार्वजनिक
रियल म्याड्रिडका अध्यक्ष परेजले एक कार्यक्रमबीच नयाँ गोलरक्षक थिबाउटलाई जर्सी प्रदान गरी समथर्कबीच सार्वजनिक गरेका छन् । सान्टिएगो बर्नावेउको विशेष हलमा अध्यक्ष परेजले सपरिवार थिबाउटलाई जर्सी प्रदान गरेका हुन् । थिबाउटले जर्सी चुम्दै युवा अवस्थामै ठूलो सफलता पाएको जनाएका छन् । ‘मलाई थाहा छ, यो मेरो निर्णय चेल्सीका धेरै समर्थकलाई मनपरेको छैन होला, तर म नयाँ चुनौतीको सामना गर्न मनपराउने व्यक्ति हुँ, यसैकारण मैले यो निर्णय गरेको हुँ,’ थिबाउटले भने ।

हजार्डलाई रियल आउन सल्लाह
खेलाडी किनबेचको अन्तिम समयसम्म रियलले चेल्सीका इर्डन हजार्ड किन्न सक्ने अनुमान थियो । तर, चेल्सीले हजार्डको मूल्य २० करोड पाउन्ड राखेपछि त्यो विश्वकीर्तिमानी स्थानान्तरण सम्भव भएन । तर, अन्तिम दिन थिबाउट रियलमा पुगेपछि उनले हजार्डलाई पनि सान्टिएगो बर्नावेउ आउन सल्लाह दिएका छन् ।

‘अहिलेको अवस्थामा हजार्डजस्तो उत्कृष्ट खेलाडी रियलबाहेक अन्य क्लबमा फिट हुन सक्दैन,’ उनले भने । सिजन सुरु हुनुअघि नै अप्रत्याशित रूपमा एक नम्बर स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टसमा गएपछि रियललाई भरपर्दा स्ट्राइकरको खाँचो छ । रियलले रोनाल्डोको विकल्पका रूपमा हजार्डलाई हेरेको थियो ।

तपाईको प्रतिक्रिया