६५ वर्षे बूढाको रोल गर्दा - Naya Patrika
eNaya Patrika
  • ePaper

६५ वर्षे बूढाको रोल गर्दा

०६२ सालमा डबली थिएटरबाट नाट्ययात्रा सुरु भयो । डबलीमा चार वर्ष बिताउने क्रममा सडक नाटक धेरै गरियो । गुरुकुल र नाचघरमा अरूले नाटक गरेको देखेर मलाई पनि प्रोसिनियम थिएटरमा काम गर्न मन लाग्यो ।

त्यसपछि एक्टर्स स्टुडियोमा सातौँ ब्याजमा ज्वाइन भएँ । त्यहाँ अनुप बरालसँग तीनमहिने तालिम लिएँ । त्यसपछि मैले ‘मलामी’ नाटक अभियन गर्ने भएँ । जुन, प्रोसिनियम थिएटरमा मेरो पहिलो नाटक थियो । यसमा मैले ६५ वर्षका बूढाको भूमिका गर्नुपर्ने थियो । त्यसका लागि बूढाहरू कसरी हिँड्छन् ।

उनीहरूको बडी ल्यांग्वेज र भावलाई आफ्नो शरीरमा कसरी उतार्ने भन्ने विषय चुनौती थियो । क्लासमा सिकेको कुरा रिहर्सलमा आएर इनपुट गर्नुप-यो । अब्जर्भेसनका लागि म भक्तपुर गएँ । पहिले त्यहीँ बसेकाले कहाँ–कहाँ बूढा मानिसहरू बस्नुहुन्छ भन्ने थाहा थियो ।

भक्तपुरको पाँचतले नजिकै गएर बूढाहरूलाई दिनभरि हेर्थेँ । बेलुकी फर्किन्थेँ । त्यसपछि दिनभरका घटनाक्रम र उहाँहरूको बडी ल्यांग्वेजहरू झलझली सम्झन्थेँ । मनबाट दिमाग हुँदै शरीरसम्म आउनुपर्ने कुरा कतै चुकेकोजस्तो लागिरहेको थियो ।

मैले मेरा हजुरबुबासँगका यादहरू सम्झने प्रयास गरेँ । उहाँ स्वर्गीय भइसक्नुभएको थियो । तर, उहाँसँगका यादहरू मेरो मनसपटलमा जीवित थिए । त्यसैले हजुरबुबालाई सम्झिँदै, अब्जर्भेसनका क्रममा भेटेका ज्येष्ठ नागरिकलाई सम्झिँदै, उहाँहरूको भावलाई आफ्नो अभिनयमा उतारेँ ।

पहिलो सोबाटै तारिफ भयो । डायलग डेलिभरीमा अड्किएला कि भन्ने डर लागेको थियो । तर, सबैबाट प्रशंसा पाएँ ।

तपाईको प्रतिक्रिया