अभिनयमा आधा शताब्दीको अनुभव - Naya Patrika
eNaya Patrika
  • ePaper

अभिनयमा आधा शताब्दीको अनुभव

जवानीमा सात दिन हिँडेर दोलखाबाट काठमाडौं आउने–जाने गरेका मदनदास श्रेष्ठ सातौँ दशकमा पनि उस्तै फूर्तिला छन् । जीवनको उत्तराद्र्धमा काँधमा सामाजिक जिम्मेवारी बोकेर हिँडेका छन् । थकित होइन, ऊर्जाशील छन् । बूढो होइन, अनुभवी र परिपक्व बनेका छन् ।

दोलखाको खरीढुंगानजिकका लाँकुरीडाँडा र डाङडुङे डाँडामा फिल्म सिटी बनाउने अभियानमा केन्द्रित छन् । ‘फिल्म सिटी समग्र चलचित्र उद्योगकै आवश्यकता हो । यस भेगका जनताको सपना हो,’ निर्माण समितिका संयोजक श्रेष्ठ भन्छन्, ‘गौरीशंकर र जुगल हिमालको दृश्यावलोकन गर्न सकिने यस सुन्दर क्षेत्र स्वदेशी तथा विदेशी फिल्मको सुटिङका लागि उपयुक्त गन्तव्य हुनेछ ।’

१५ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा सडक र खानेपानीको सुविधा पुगिसकेको छ । श्रेष्ठका अनुसार बिजुलीको पोल गाड्ने कार्य भइसकेको छ । ‘डिपिआरको काम सिध्याएर मास्टर प्लानको काम भइरहेको छ । सरकारले प्रारम्भिक लगानी गरिसकेका कारण उत्साहित भएका स्थानीयलाई निराश बनाउनुहुँदैन । अब यस कार्यका लागि सरकारले नै पहल लिनुपर्छ,’ श्रेष्ठले भने ।

सात दिन हिँडेर काठमाडौं

खरीढुंगाबाट केही पर रहेको चरिकोट बजार, त्यहाँबाट तलको दोलखा बजार । दोलखा भीमसेनको मन्दिर रहेको स्थलनजिकै छ, मदनदासको पुख्र्यौली घर । यहीँ जन्मिएका श्रेष्ठ सानैदेखि अभिनयमा आकर्षित भए । ‘त्यतिवेला रेडियो कमैका घरमा हुन्थ्यो । टेलिभिजन त आएकै थिएन । मनोरञ्जनका साधन भनेकै जात्रा र चाडपर्व हुन्थे,’ श्रेष्ठले भने, ‘स्थानीय चाडपर्व र जात्रामा अरूले गरेको अभिनय देखेर आकर्षित हुन्थेँ । बिस्तारै म आफैँ पनि धार्मिक नाटकहरूमा सहभागी हुन थालेँ ।’

बुबा नारायणदास श्रेष्ठ अर्थ मन्त्रालयस्थित टक्सार विभागमा कार्यरत थिए । त्यसैले मदनदास काठमाडौं आउजाउ गरिरहन्थे । ‘त्यतिवेला घरबाट काठमाडौं आउन सात दिनसम्म हिँड्नुपथ्र्यो । भरियालाई चामल, पिठोलगायतका खाद्यान्न बोकाएर चरिकोट, खरीढुंगा, दोलालघाट, पाँचखाल, रविओपी हुँदै आइन्थ्यो । बनेपा आएपछि अब नेपाल आइयो भन्ने हुन्थ्यो,’ श्रेष्ठले सम्झिए ।

काठमाडौं आएका वेला नेपाल कलाकेन्द्रमा आबद्ध भएपछि रंगकर्मीहरूसँगको संगत बाक्लियो । यहीक्रममा उनले काठमाडौंमा मञ्चन भएको ‘गहना’ नाटक खेले । श्यामदास वैष्णवले दर्शकदीर्घाबाट यो नाटक हेरिरहेका थिए । नाटक सकिएलगत्तै मदनदासलाई रेडियोमा आउन आग्रह गरे । ‘तपाईंको अभिनय राम्रो छ । स्वर पनि ओजनदार भएकाले रेडियोमा काम सुरु गर्नुस् ।’

तत्कालीन समय रेडियो नेपालमा नाटक निर्देशक रहेका वैष्णवले प्रस्ताव ल्याएपछि मदनदास रेडियो नाटकमा लागे । ०२२ सालमा कृष्ण जन्माष्टमीका अवसरमा प्रसारण भएको नाटकमा मदनदासले स्वर भरे । यो नाटकमा उनले ‘कंश’को भूमिका निर्वाह गरेका थिए । त्यसपछि हरिप्रसाद रिमालको निर्देशनमा बनेका धेरै नाटकमा श्रेष्ठले अभिनय गरे ।

बाबु नारायणदास, आमा र दाइहरूलाई उनले रोजेको पेसा चित्त बुझेको थिएन । ‘गायन र अभिनय क्षेत्रको प्रतिष्ठा थिएन । गाइने र नौटंकी भन्थे,’ श्रेष्ठले सम्झिए, ‘बुबा–आमाले छोरा निजामती सेवामा लगोस् भनेर धेरै गर्नुभयो । नाटक खेलेर ढिला घर आउँदा ढोका बन्द गरिदिनुहुन्थ्यो । कहिले खाना नै हुँदैनथ्यो । तर, मेरो लगाब त उल्टै बढ्यो, कहिल्यै घटेन ।’

०२६ सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि काठमाडौं आएका श्रेष्ठ नियमित रूपमा यतै बसे । बाबुले छोराको नाटक खेल्ने आदत छुटाउनका लागि सरकारी जागिरसमेत लगाइदिए । तर, केही गर्दा पनि सफल नभएपछि परिवारले उनले चाहेको गर्न स्वतन्त्र छाडिदियो ।

प्रतिमिनेटको ज्याला ३ रुपैयाँ

‘त्यतिवेला अभिनयमा पैसा थिएन । धेरै नाटकमा कलाकारलाई खाजासम्मको व्यवस्था हुन्थ्यो । कहिलेकाहीँ भोकभोकै पनि गरिन्थ्यो,’ श्रेष्ठले भने, ‘रेडियो नेपालले भने पैसा दिन्थ्यो । त्यो पनि प्रतिमिनेट ३ रुपैयाँ, कुन पात्रले कति बोल्यो भन्ने हिसाब जोडेर पैसा आउँथ्यो, महिनामा धेरै आए ४५ रुपैयाँ ।’

रेडियो नेपालले पैसा दिन्थ्यो । त्यो पनि प्रतिमिनेट ३ रुपैयाँ, कुन पात्रले कति बोल्यो भन्ने हिसाब जोडेर पैसा आउँथ्यो, महिनामा धेरै आए ४५ रुपैयाँ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटकमा पनि मदनदास छाएका हुन्थे । त्यहीँ काम गर्दा नृत्य विभागमा कार्यरत रेणु श्रेष्ठसँग भेट भयो र ०२८ सालमा विवाह पनि भयो । दुवैजना कलाकारितामा लागेकाले घर चलाउन आर्थिक अभाव झेले पनि अभिनयबाट टाढा हुने कल्पना मदनदासले गरेनन् ।

‘पैसा नभए पनि यतिवेला कलाकारले इज्जत पाउन थालिसकेका थिए । त्यस्तो इज्जत बरु अहिले छैन । ठूला समारोहमा राजा–महाराजादेखि विशिष्ट अतिथिहरूका सामु ‘ब्याले’ (संगीतको तालमा भाव देखाउने) प्रस्तुत गर्दा ठूलो गर्व लाग्थ्यो,’ कुराकानीका क्रममा मदनदासँगै रहेकी रेणुले भनिन् ।

बिस्तारै अवस्था सुदृढ हुँदै गयो । रेडियोमा मदनदासको आवाज सुनेर प्रभावित भएकाहरूले विभिन्न कार्यक्रममा बोलाउन थाले । ०३० सालपछि मञ्चन भएका धेरै नाटकमा उनी छाए । पत्थरको कथा, समानान्तर, अमरसिंह, कंकाल, ट्रसमा झुन्डिएको जिन्दगीलगायतका मदनदासले अभिनय गरेका दर्जनौँ नाटक चले । ‘त्यसमध्ये पनि मलाई ध्रुवचन्द्र गौतमद्वारा लिखित प्रयोगवादी नाटक समानान्तर विशेष लाग्छ, किनकि यसमा मेरो सोलो अभिनय थियो,’ श्रेष्ठले भने ।

टेलिफिल्म र चलचित्र

४० को दशकमा नेपाल टेलिभिजनको स्थापना भएपछि अन्य रंगकमीहरूझैँ श्रेष्ठको व्यस्तता पनि बढ्यो । यस अवधिमा उनी रंगमञ्च र रेडियोसँगै टेलिफिल्म र फिल्ममा पनि देखिए । चक्रब्यूह, निमित्त नायक, आरोहण–अवतरण, ममता, पत्थरको कथा, फ्युज गएको जिन्दगीलगायत नेपाल टेलिभिजनको सुरुवाती समयमा प्रसारित धेरै टेलिफिल्म तथा सिरियलमा मदनदास देखिए ।

रुद्रराज पाण्डेकोे निर्देशनमा बनेको ‘अमरपुत्र’ नामक मूर्तिकलासम्बन्धी टेलिफिल्ममा उनले निर्वाह गरेको शिल्पकारको पात्र निकै चर्चित भयो । ‘मानिसको हस्तिहाडको मूर्ति बनाउने शिल्पकारको कथामा म मुख्य भूमिकामा थिएँ । यसलाई धेरै दर्शकले मन पराउनुभयो,’ श्रेष्ठले भने ।

यो क्रम ‘आमा’ हुँदै मदनबहादुर–हरिबहादुरसम्म आइपुग्यो । ‘के घर के डेरा’, ‘२५ वसन्त’लगायतका फिल्म हुँदै पछिल्लोपटक उनी बिपी कोइरालाको ‘तीन घुम्ती’ उपन्यासमा आधारित फिल्ममा पनि देखिए । ‘बिस्तारै प्रविधिमा परिवर्तन आयो । नाटक सिकाउनका लागि प्रशिक्षण केन्द्रहरू खुले ।

अहिले कलाकारिता व्यावसाहिक दिशामा अघि बढेको छ,’ प्रविधिको विकासपछि देखिएको सकारात्मक परिवर्तनबारे श्रेष्ठले भने, ‘कलाकारले समाजमा पैसा र इज्जत पाउन थालेपछि यस क्षेत्रमा आकर्षण बढेको हो । पहिले–पहिले सित्तैमा नाटक हेर्नुस् भनेर आह्वान गर्दै हिँड्नुपथ्र्यो । अहिले मानिसहरू टिकट काटेर नाटक हेर्न जान्छन् ।’

रेडियो, टेलिभिजन र सिनेमा हलसम्म आफ्नो उपस्थिति दर्शाएका श्रेष्ठ सबै सफलताको श्रेय रंगमञ्चलाई दिन्छन् । ‘यहाँसम्म आइपुगेको नाटककै कारणले हो । माध्यम जेसुकै भए पनि देखाउने आफूभित्रकै अभिनय हो,’ ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘अभिनयबाट पाएको ख्यातिलाई समाजसेवामा लगाउने मेरो ध्येय हो ।’

खड्केको क्षण

नाट्यसम्राट् बालकृष्ण सम नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति छँदा श्रेष्ठ त्यहीँ कार्यरत थिए । ‘त्यस समय मैले धेरै नाटक गरेँ । तर, उहाँको निर्देशनमा काम गर्न पाइएन । उहाँजस्तो व्यक्तित्वसँग संगत गर्न पाउनु मेरा लागि ठूलो विषय थियो । तर, उहाँकै निर्देशनमा काम गर्न पाएको भए अझै गर्व हुन्थ्योजस्तो लाग्छ,’ श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु